+
+
Shares

झलनाथतर्फ लक्षित गर्दै प्रचण्ड- प्रतिक्रियावादीलाई फाइदा पुग्नेगरी कचिंगल पैदा नगरौं

‘अघि माधव जीले थोरै संकेत पनि गर्नुभयो । कतिपय मानिसहरू पार्टीप्रति, आन्दोलनप्रति, नेतृत्वप्रति अनावश्यक कचिंगल पैदा गर्ने कोशिसमा छन्’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १६:०९

५ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रियावादीलाई फाइदा पुग्नेगरी निराशाको खेती नगर्न पार्टीका नेताहरूलाई सुझाव दिएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा डिजिटल माध्यमबाट पार्टी सदस्यता नवीकरण तथा वितरण अभियानको सुरुवात गर्दै संयोजक प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाललाई लक्षित गर्दै यस्तो बताएका हुन् ।

‘अघि माधव जीले थोरै संकेत पनि गर्नुभयो । कतिपय मानिसहरू पार्टीप्रति, आन्दोलनप्रति, नेतृत्वप्रति अनावश्यक कचिंगल पैदा गर्ने कोशिसमा छन्,’ प्रचण्डले भने, ‘एउटा कुरा याद राखौं हामी सबैले, प्रतिक्रियावादीहरूले अहिले पनि स्थापित पार्टीहरू लोकतन्त्र र गणतन्त्रको निम्ती, संघीयता र समावेशिताका निम्ती लडेका पार्टीहरूलाई कमजोर पार्ने षडयन्त्र अहिले पनि अगाडि बढिराखेको छ ।’

ती पार्टीलाई अझै विभाजित गर्नेदेखि अन्तरकलह सिर्जना गर्ने प्रयास भइरहेको उनले बताए । ‘झमेला र भ्रम पैदा गर्ने षडयन्त्रमा प्रतिक्रियावादी छन् । जानेर वा नजानेर हाम्रा कतिपय साथीहरूले पनि निराशा बाँड्ने….’, उनले भने ।

‘फेरि हामी जनतालाई लिएर अगाडि जान्छौं भन्ने आत्मविश्वास’ आफूमा भएको उनले दाबी गरे । उनले अगाडि भने, ‘हामी कम्युनिस्टहरू यस्ता उतारचढाव विगतमा धेरै भोग्दैआएका, तीसँग लड्दै र जित्दैआएका जात हौं हामी, भन्ने कुरा बिर्सेर साम्राज्यवादी र प्रतिक्रियावादीले फैलाएको हल्लाअनुसार के–के हुन् के–के कुरा भनेर भ्रम छर्ने पनि कतिपय मान्छेले गरेका छन् ।’

उनले ‘ती साथी’ भन्दै ‘प्रतिक्रियावादीलाई फाइदा पुग्नेगरी निराशाको खेती नगरौं’ भन्दै अपिल गरे ।

‘फ्रस्टेसन बाँड्ने काम नगरौं, अब नयाँ विश्वासका साथ महाधिवेशनसम्म जाँदा विचार र संगठनलाई अझ सुदृढ बनाउन सकिन्छ,’ उनले भने ।

केहीदिनअघि नेता खनालले प्रचण्डलाई खुला पत्र लेख्दै आफ्नो असन्तुष्टि पोखेका थिए । त्यसको सांकेतिक रूपमा प्रतिक्रिया दिँदै प्रचण्डले यस्तो भनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?