+
+
Shares

प्रेस स्वतन्त्रता सेनानी यादवमाथि आक्रमण, दोषीलाई कारबाही गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ६ गते १२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महदेवा गाउँपालिकाको बाटोसम्बन्धी समाचार लेखेको निहुँमा पत्रकार देवराम यादवमाथि उपाध्यक्षका पति सुरेन्द्र यादवको समूहले आक्रमण गरेको छ।
  • पत्रकार महासंघ सप्तरीले घटनाको विरोध गर्दै दोषीलाई अविलम्ब कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न माग गरेको छ।
  • आक्रमणमा घाइते भएका पत्रकार यादवको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ।

६ असार, सप्तरी ।  नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य, प्रेस स्वतन्त्रता सेनानी, गोरखापत्र दैनिकका संवाददाता तथा प्रेस काउन्सिल नेपालका पूर्वसदस्य पत्रकार देवराम यादवमाथि आक्रमण भएको छ ।

महदेवा गाउँपालिकाको बाटोसम्बन्धी समाचार लेखेकै विषयलाई लिएर सो गाउँपालिकाकी उपाध्यक्ष अर्चना यादवका पति सुरेन्द्र यादवसहितको समूहले पत्रकार यादवमाथि आक्रमण गरेको पत्रकार महासंघ, सप्तरी शाखाले जनाएको छ ।

पत्रकार यादवका अनुसार हुलाकी राजमार्गअन्तर्गत खाँडो पुलमा कुरा गरेर बसिरहेको अवस्थामा सुरेन्द्रसहितको समूहले एक्कासी हेलमेट प्रहार गरी कुटपिट गरेको हो।

घटनाप्रति विरोध जनाउँदै  पत्रकार महासंघले जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारमाथि कुटपिट हुनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा नागरिकको सुरक्षा, बाँच्न पाउने अधिकार र व्यक्तिगत स्वतन्त्रतामाथि धावा बोल्ने यस्ता आपराधिक कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने जनाइएको छ।

यस्तै सम्बन्धित पक्षले आक्रमणमा संलग्न व्यक्तिहरूलाई अविलम्ब कानुनी दायरामा ल्याई कडा कारबाही गर्न स्थानीय प्रशासन र नेपाल सरकारसँग नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सचिव डम्बर राईले माग गरेका छन्।

साथै कुटपिटबाट घाइते पत्रकार यादवको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको उचित व्यवस्था मिलाउन समेत सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

कुटपिटबाट घाइते भएका पत्रकार यादवको राजबिराजस्थित क्षिन्मस्ता हस्पिटलमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?