कटहरको चोप र अनारको बोक्राको सम्मिश्रणबाट कडा खालको गिजाको रोग (पेरियोडोन्टाइटिस) का कारण दुख्ने र खिइने समस्या समाधान गर्न नयाँ बाटो खुलेको छ। ब्राजिलका वैज्ञानिकहरूले कटहरको चोप, अनारको बोक्राको रस र कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने औषधि सिमभास्टाटिन मिलाएर एउटा विशेष बायोमेटेरियलको विकास गरेका छन्।
ब्राजिलको साओ पाउलोस्थित पोन्टिफिकल क्याथोलिक युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको यो अध्ययन वैज्ञानिक जर्नल ‘पोलिमर बुलेटिन’ मा प्रकाशित भएको छ। कडा खालको गिजाको रोगले दाँतलाई थामेर राख्ने हड्डी र तन्तुहरूलाई बिस्तारै नष्ट गर्छ, जसले गर्दा दाँत हल्लिने र झर्ने समस्या हुन्छ।
अहिले बजारमा उपलब्ध उपचारहरूले सङ्क्रमण र सुन्निएको कम गरे पनि नष्ट भइसकेका तन्तु वा हड्डीलाई पुनर्जीवित गर्न सक्दैनन्।
यही सीमिततालाई हटाउन वैज्ञानिकहरूले कटहरको चोप प्रयोग गरेका हुन्। कटहरको चोपमा प्राकृतिक रूपमै टाँसिने बलियो क्षमता (म्युकोएड्हेसिभ प्रोपर्टी ) हुने भएकाले यसले औषधि र प्राकृतिक तत्त्वहरूलाई लामो समयसम्म गिजामै अड्याएर राख्न मद्दत गर्छ। यसले गर्दा एन्टिबायोटिक औषधिको धेरै प्रयोग गरिरहनु पर्दैन। यस प्रविधिमा प्रयोग गरिएका तीनवटै तत्त्वको फरक–फरक र महत्त्वपूर्ण भूमिका रहेको छ।
कटहरको चोपले औषधिलाई गिजाको सङ्क्रमित भागमा लामो समयसम्म टाँसेर राख्ने आधारको काम गर्छ भने अनारको बोक्राको रसमा भएको एन्टिमाइक्रोबियल गुणले गिजाका हानिकारक कीटाणु र सङ्क्रमणसँग लड्छ। त्यस्तै सिमभास्टाटिन औषधिले सुन्निएको कम गर्नुका साथै नयाँ हड्डी पलाउन (ओस्टियोइन्डक्सन ) मद्दत गर्छ।
यो औषधिलाई चक्कीका रूपमा सिधै खाँदा यसको धेरैजसो भाग कलेजोले नै सोस्ने हुनाले गिजासम्म पुर्याउन ठुलो मात्रामा खानुपर्ने हुन्थ्यो, जसले मांसपेशी कमजोर बनाउने जस्ता साइड इफेक्ट निम्त्याउन सक्थ्यो। तर यो नयाँ जेलमार्फत सिधै गिजामा लगाउँदा थोरै मात्राले पनि सुरक्षित रूपमा काम गर्छ।
मानव स्टेम सेलमा गरिएको प्रारम्भिक प्रयोगशाला परीक्षणमा यो जेल प्रयोग गरेको १४ देखि २१ दिनभित्रै नयाँ हड्डी बन्ने प्रक्रियामा निकै सकारात्मक सुधार देखिएको छ।
अनुसन्धान टोलीकी संयोजक प्राध्यापक एलियाना अपारेसिडा डे रेजेन्डे ड्युकका अनुसार अहिलेसम्म चिकित्सा विज्ञानमा खासै ध्यान नदिइएको कटहरको चोपबाट बनेको यो जेल भविष्यमा दाँत र गिजाको उपचारका लागि एउटा क्रान्तिकारी कदम हुन सक्छ।
प्रतिक्रिया 4