+
+
Shares

स्वीटजरल्याण्डको वार्तास्थलमा पुगे अमेरिकी र इरानी अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १४:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरू स्विट्जरल्यान्डमा वार्तामा बसेका छन् ।
  • वार्तामा अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्स र इरानी टोलीको नेतृत्व सभामुख मोहम्मद गलिबाफले गरेका छन् ।
  • लेबनानमा इजरायली आक्रमणपछि इरानले समुद्री जलमार्ग स्ट्रेट अफ होर्मुज पुनः बन्द गर्ने घोषणा गरेको छ ।

७ असार, काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार र पाकिस्तानका अधिकारीहरु पनि वार्तास्थलमा पुगेका छन् ।

बर्गनस्टकस्थित लुसर्न नजिकैको आल्प्स पहाडमा अवस्थित एक लक्जरी रिसोर्टमा हुने वार्तामा अमेरिकाको नेतृत्व उपराष्ट्रपति जेडी भान्स र इरानको नेतृत्व सभामुख मोहम्मद गलिबाफले गरेका छन् ।

मध्यस्थकर्ताको तर्फबाट पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ लगायतका वार्तास्थलमा पुगिसकेको अलजजिराले जनाएको छ । यो वार्तालाई विश्वभर चासोका साथ हेरिएको छ ।

स्विटजरल्याण्ड प्रस्थान गर्नुअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ताबाट आणविक मुद्दा र लेबनान युद्धविरामसम्बन्धी विषयमा प्रगति हुने अपेक्षा व्यक्त गरेका थिए । उनले इजरायल र लेबनान दुवैको सुरक्षा सुनिश्चित गर्नु नै वार्ताको मुख्य उद्देश्य रहेको उल्लेख गरेका थिए ।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले आफ्नो देशले सम्झौताअनुसार अन्य पक्षले पनि प्रतिबद्धता पूरा गर्नुपर्ने माग गर्ने बताएका छन् ।

अमेरिका र इरानबीच युद्ध अन्त्यको प्रयासमा पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेल्दै आएको थियो । यसअघि अप्रिलमा पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरानबीचको वार्ताको एक चरण सम्पन्न भएको थियो ।

यसै साताको सुरुमा अमेरिकी र इरानी राष्ट्रपतिबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो ।

उक्त सम्झौतामा लेबनानसमेतका सबै मोर्चामा तत्काल युद्धविराम लागू गर्ने, विश्वको करिब २० प्रतिशत तेल तथा तरल प्राकृतिक ग्यास (एलएनजी) ओसारपसार हुने स्ट्रेट अफ होर्मुज पुन: सञ्चालन गर्ने, आगामी ६० दिनभित्र अन्तिम सम्झौताका लागि थप वार्ता गर्ने लगायतका विषय समावेश छन् । तर दुवै देशबीच अविश्वास र असमझदारी कायम छन् ।

अमेरिका–इरानबीच भएको १४ बुँदे समझदारीको पहिलो बुँदा कार्यान्वयन नभएको आरोप लगाएको छ । उक्त बुँदामा लेबनानसहित सबै क्षेत्रमा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने उल्लेख छ ।

हेजबुल्लाह र इजरायलबीच नयाँ युद्धविराम घोषणा भएको २४ घण्टा नबित्दै दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएपछि इरानले स्ट्रेट अफ होर्मुज पुन: बन्दको घोषणा गरेको बीबीसीले जनाएको छ ।

तर अमेरिकी सेनाले भने जलमार्ग खुल्ला रहेको र जहाजहरूको आवतजावत सामान्य रूपमा जारी रहेको जनाएको छ । सेन्टकमका अनुसार शनिबार मात्रै ५५ वटा व्यापारिक जहाजले उक्त जलमार्ग प्रयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?