News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरेर एकताबद्ध भई अघि बढ्नुपर्ने बताए ।
- चितवनको भरतपुरमा आयोजित पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा सभापति लामिछानेले रास्वपा एकताबद्ध भएमा कसैले चुनौती दिन नसक्ने दाबी गरे ।
- उनले ऐतिहासिक महाधिवेशनले पार्टीभित्रका आपसी असमझदारी र वैमनस्यता अन्त्य गर्ने विश्वास व्यक्त गरे ।
७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले विगतका राजनीतिक दलका अनुभवबाट सिकेर पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
चितवनको भरतपुरमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टी एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा नआउने दाबी गरेका हुन् ।
पार्टीभित्र त्याग र बलिदानको विषयमा असमान बुझाइ हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह पनि उनको थियो ।
‘यतिबेला हामीले गुट उपगुटतिर नलागेर विगतका राजनीतिक दलका अनुभवहरूलाई हेरेर अगाडि बढ्ने हो भने रास्वपालाई लडाउने शक्ति अबको युगमा कोही पनि आउन सक्दैन,’ लामिछानेले भने ।
सभापति लामिछानेले कतिपय अवस्थामा अरूले गरेको त्याग र बलिदानलाई सहज रूपमा स्वीकार गर्ने तर आफूले त्याग गर्नुपर्दा कठिन महशुस गर्ने देखिन थालेको पनि बताए ।
‘कहिलेकाहीँ के हुँदो रहेछ भने त्याग र बलिदान भनेको अरूले गर्यो भने खुशी मान्ने आफूले गर्यो भने दु:ख मान्ने कुरा हुने रहेछ । यसबाट सचेत रहनको लागि म अनुरोध गर्न चाहन्छु,’ सभापति लामिछानेले भने, ‘यो ऐतिहासिक महाधिवेशनले हामीबीचमा पनि केही वैमनश्यता रहेछन् भने त्यसलाई अन्त्य गर्ने बिन्दु बनोस् भन्ने म चाहना राख्न चाहन्छु ।’
प्रतिक्रिया 4