+
+
Shares

रास्वपा महाधिवेशनका झाँकी

रास्वपाले चितवनलाई आफ्नो आधार क्षेत्रको इपिसेन्टर मानेको छ । चितवनसँग रास्वपाको भावना र कथा मिसिएको छ ।

दिनेश गौतम सुवास पण्डित दिनेश गौतम, सुवास पण्डित
२०८३ असार ७ गते २२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार चितवनको गेस्ट हाउस चौरमा आफ्नो पहिलो महाधिवेशनको उद्घाटन गरेको छ ।
  • महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले घण्टी बजाएर गर्नुभयो ।
  • प्रमुख राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको महाधिवेशनले १५१ सदस्यीय नयाँ केन्द्रीय समिति र १९ पदाधिकारी चयन गर्नेछ ।

७ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटनस्थल चितवनको गेस्ट हाउस चौर आइतबार नेता कार्यकर्ता र शुभेच्छुकले भरिएका थिए ।

मञ्च सजिसजाउ थियो । मूल ब्यानरमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहको फोटो थियो । चौरमा पञ्चेबाजा घन्किएको थियो ।

थारु समुदायको डम्फू नाचमा झुमेका थिए शुभेच्छुकहरू । घाम र पानीको परवाह थिएन । छाता ओडेरै चितवनवासी नेताको भाषण सुन्न चौरमा उपस्थित थिए । उखरमाउलो गर्मीले कतिपय सहभागी आलसतालस भएका थिए ।

युवादेखि जेष्ठ नागरिकसम्मको लहर थियो उद्घाटनस्थलमा ।

मञ्च अगाडि पट्टि ज्येष्ठ नागरिकलाई राखिएको थियो । त्यही लहरमा थिए मकवानपुर हेटौंडाका ८२ वर्षीय कृष्णप्रसाद दाहाल ।

काठमाडौं बस्ने उनी रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहको भाषण सुन्न आएका थिए । वैशाखीको सहारामा हिँड्ने उनी काठमाडौदेखि चितवन आजै बिहान आइपुगेका थिए ।

‘काठमाडौबाट आजै आएको हुँ । कार्यक्रम सकिएपछि हेटौंडा फर्किने हो । रवि र बालेनलाई शुभकामना दिन आएको हुँ,’ उनले सुनाए ।

जब चौरमा हुटिङ सुरु हुन्थ्यो तब उनी कुर्सीबाट उठेर रेलिङमा आड लगाएर उभिन्थे । र, उनी पनि ताली बजाउन उत्साहित हुन्थे । तर, नेताहरू ढिला गरि आइपुग्दा कतिपय छटपटाहटमा थिए । ‘६ बजेसम्म त भ्याइन्छ होला । त्यो बेलासम्म त हेटौंडाको गाडी भेट्छु,’ फर्किनु पर्ने चिन्ता पनि उनलाई उत्तिकै थियो । साथै नेताको भाषणका लाइनमा उनको ताली बज्थ्यो ।

उनी मात्र होइन चौरमा उपस्थित सबैको भावभंगी उस्तै थियो । महाधिवेशनका प्रतिनिधि कोही हिजो आइपुगेका थिए, कोहि आज बिहान ।

कति प्रतिनिधि विदेशबाट आएका थिए । जेनजी आन्दोलनका घाइतेलाई पनि रास्वपाको महाधिवेशन लागेको थियो । वैशाखी टेकेर घाइतेहरू उद्घाटनस्थलमा आएका थिए ।

चौरमा भेला भएकाहरू विमर्श गरिरहेका थिए । अबको नेतृत्व कस्तो बन्ला ? पदाधिकारीमा को-को आउँछन् ? सर्वसम्मत कि लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने ? शुभेच्छुकहरूको चासो नेतृत्वमा थियो ।

महाविधेशनस्थलमा बनाइएको घामपानी छेक्ने छानोसहितको जर्मन ह्याङ्गर थियो । त्यसका दायाबायाँ अरु टेन्ट लगाइएका थिए ।

ह्याङ्गर भित्र १० हजार जति सहभागी सहभागी भएको अनुमान सुरक्षा निकायको अनुमान छ । सभास्थल वरपर अनाश्यक भिडभाड नहोस् भनेर भरतपुरको चौविसकोठीबाट अस्पताल रोड, दूरसञ्चार रोड, मालपोत तथा भरतपुर अस्पताल गेटबाट भित्र सवारीसाधनहरूको प्रवेशलाई निषेध गरिएको थियो ।

महाविधेशन उद्घाटन सत्रको सुरक्षाका लागि करिब १ हजार सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो । मकवानपुर, पूर्वी नवलपरासी, धादिङ, तनुहँ लगायतका जिल्लाबाट समेत प्रहरीहरू ल्याएर परिचालन गरिएको थियो ।

२०७८ सालमा नारायणी नदी किनारमा एमालेको नवौं महाधिवेशन हुँदा नारायणगढ बजार क्षेत्र र यातायात आवगमन पुरै अस्तव्यस्त भएकोले यसपटक ट्राफिक व्यवस्थापनमा सहजताका लागि पूर्व तयारी गरिएको थियो । ठूला सवारी साधनहरु महाविधेशनमा नल्याएका कारणले सहजता भएको थियो ।

ढिला उद्घाटन

रास्वपाले आइतबार दिउँसो २ बजेका लागि औपचारिक कार्यक्रमको समय निर्धारण गरिएको थियो । तर, डेढ घन्टा ढिलागरी उद्घाटन स्थलमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाह आइपुगे । एकैसाथ मञ्चमा प्रवेश गरेका थिए, रवि बालेन । उनीहरू आइपुग्नु अघि नै प्रमुख दलका नेताहरू शुभकामना दिन कार्यक्रमस्थलमा आइपुगेका थिए । उनीहरू मञ्चमा प्रवेश गर्दा हुटिङ् गरेर शुभेच्छुकले स्वागत गरे ।

सभापति लामिछाने र वरिष्ठ नेता बालेन आइपुगेपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले कार्यक्रमलाई औपचारिक रुपमा अगाडि बढाए । घण्टी बझाएर कार्यक्रमको उद्घाटन गरियो । त्यही बेला पानी पर्न थाल्यो । ‘पानीलाई शुभ साइतको रुपमा लिएका छौँ,’ महामन्त्री बुर्लाकोटी भनिरहेका थिए ।

रास्वपाको इपिसेन्टर चितवन

रास्वपाले चितवनको गेस्ट हाउस चौरमा नै उद्घाटन गर्नुको कारण छ । ७ वर्षअघि तत्कालीन समयमा टेलिभिजन प्रस्तोता थिए सभापति लामिछाने । सहकर्मी शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछाने पक्राउ परेका थिए । र, जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको थियो । जिप्रका अगाडि छ गेस्ट हाउस चौर । त्यसैले रास्वपाले यहि भूमिलाई उद्घाटन स्थल बनायो ।

‘चितवनको यहि ठाउँ अगाडि ११ दिन सभापतिलाई हिरासतमा राखियो त्यही दिनदेखि राजनीतिको बीउ रोपेको हो,’ स्वागत मन्तव्यमा भरतपुर महानगर सभापति सीता ज्ञवालीले सुनाइन्, ‘चितवनले अन्याय गर्दैन । अन्याय पनि सहन्न ।’

रास्वपाले चितवनलाई आफ्नो आधार क्षेत्रको इपिसेन्टर मानेको छ । चितवनसँग रास्वपाको भावना र कथा मिसिएको छ । ‘यो भूमिबाट लामिछानेले बिगुल फुकेका छन्,’ चितवन सभापति मिनि माधव खनालले भने ।

सभापति लामिछानेले चितवनलाई निलो क्रान्तिको राजधानीको संज्ञा दिए । ‘निलो क्रान्तिको राजधानी चितवनले म बाट हामी बनाउने साहस दिएको छ,’ सभापति लामिछानेले भने ।

उद्घाटनमा रवि र बालेनको राजनीति यात्राको वृत्तचित्र पनि देखाइयो । रविको टेलिभिजन प्रस्तोतादेखि अहिलेसम्मको र बालेनको काठमाडौं महानगरको मेयर हुँदादेखि प्रधानमन्त्री हुँदम्मको वृत्तचित्रमा देखाइयो ।

प्रमुख दलका नेताको सहभागीता

प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति गगन थापा, एमाले नेता प्रदीप ज्ञवाली, नेकपा नेता वर्षमान पुन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत अध्यक्ष सिके राउतको उपस्थिति थियो ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसमेत शुभकामना सन्देश दिन आएका थिए । सबै पार्टीलाई उद्घाटनमा बोलाएका सभापति लामिछाने वैमनश्यता त्याग्न अनुरोध गरे ।

सबै मिलेर देश बनाउने अभियामा लाग्नुपर्ने सन्देश रविले दिए । कांग्रेस सभापति थापाले पनि आफूहरूको दुश्मन कोही नरहेको उद्घोष गरे । ४ वर्षमा लोभलाग्दो मत ल्याएकोमा थापाले प्रशंसा समेत गरे । ‘ मुक्तकण्ठले प्रशंसा गर्छु । हामी तपाईंहरूको दुस्मन होइन’, उनले भने ।

शुभकामना दिन आएका नेताहरूले रास्वपालाई जिम्मेवारी पूर्वक अघि बढ्न सुझाए ।

‘क्रान्तिको महोत्सव हो । नेपाली जनता हासेको हेर्न चाहन्छन। जनतालाई हृदयमा राखेर काम गर्न शुभकामना व्यक्त गर्न चाहन्छु,’ जनमत अध्यक्ष सीके राउतले भने ।

अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गरेर विकृति विसंगति हटाउने जिम्मेवारी पूरा गर्न सुझाव दिए।

जनताले दिएको मतलाई इतिहासको अवसरमा बदल्न नेताहरूले सुझाव दिए । ‘इतिहासले एउटा अवसर दिएको छ । यस्तो अवस कहिले आउँदैन । जिम्मेवारी पूरा गर्नुहोस् । जनतालाई निराशामा नबदलियोस,’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने ।

नेकपा नेता वर्षमान पुनले देश हाक्ने पार्टी रास्वपाले सहि नीति र नेतृत्व चयन गर्न सुझाव दिए । सभापतिमा रवि र वरिष्ठ नेतामा बालेन नै दोहोरिने संकेत पाएको भन्दै उनले बधाई दिए ।

एमाले नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा रास्वपाले आफूलाई कहाँ उभ्याउने स्पष्ट हुन सुझाव दिए । लोकतन्त्रको सुदृढीकरण गर्न रास्वपालाई उनले आग्रह गरे । उनी बोल्दै गर्दा रास्वपा समर्थितले होहल्ला गरेका थिए ।

पूर्व प्रधानमन्त्री भट्टराईले पनि प्रसंशा गरे । ‘चार वर्षमा जनताको मन जितेर ऐतिहासिक सफलता रास्वपाले प्राप्त गर्‍यो । यसलाई नयाँ क्रान्तिको कडिमा लिनुपर्छ । सत्य र न्ययको पक्षमा उभिनु पर्छ,” भट्टराईले भने, “नया पुस्ताले सुशासन र र समृद्धिको काम गरोस् ।’

रवि र बालेनको ठूलो भनेर खेल्न सक्ने भएकाले सचेत हुन भट्टराईले सुझाव दिए । अन्तिममा सम्बोधन गरेका बालेन र रविले सबैले दिएका सुझावको आधारमा अगाडि बढ्ने प्रतिबद्धता जनाए । “प्रतिसोध साध्ने होइन । विकास गर्ने पार्टी हो,’ बालेनले भने ।

प्राप्त उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता लामिछानेले जनाए । ‘शक्तिशाली दम्ब र प्रतिशोधको लाइसेन्स होइन । देश सुरक्षित छ । संघीय गणतन्त्र समावेशी अघिल्लो पुस्ताले दिएको उपाहर हो,’ सभापति लामिछानेले भने ।

महाधिवेशनमा नेता कार्यकर्तालाई गुट उपगुटमा नलाग्न रवि बालेनले आग्रह गरे । गुट र उपगुटको बीउ रोप्नु हुदैन,’ रवि बालेनले भने । घण्टी बजाएर सुरु भएको उद्घाटन घण्टी बजाएर साझ ६ बजे सकियो ।

अब नेतृत्व चयन

पहिलो महाधिवेशन नगर्दै पहिलो शक्ति बनेर उदाएको रास्वपाले अब नयाँ नेतृत्व चयन गर्ने छ । देशभर संगठन विस्तार समेत भएको छैन । ४ हजर ३ सय वडा समिति बनेको छ । ७५३ पालिकामधे ६५८ मा समिति बनेको छ । जसमा ६०९ वटा पालिकामा अधिवेशन सम्पन्न गरेको छ ।

७ प्रदेश र ७७ जिल्लामा विस्तार भएको छ । उद्घाटन सत्र सकिएकाले अब नयाँ नेतृत्व चयन गर्ने छ । ४ हजार १ सय जति प्रतिनिधि महाधिवेशनमा सहभागी छन् । महाधिवेशनले १५१ सदस्यीय केन्द्रीय समिति बनाउने छ । जसमा सात प्रदेशका सभापति पदेन सदस्य हुँदा १५८ जनाको केन्द्रीय समिति हुनेछ। पदाधिकारी १९ जनाको हुने छ ।

सभापति, वरिष्ठ नेता, उपसभापति–३, महामन्त्री–२, सहमहामन्त्री–५ जनाको व्यवस्था गरिएको छ । उपसभापति १ र सहमहामन्त्री १ जना अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरिएको छ । पदाधिकारीमा कोषाध्यक्ष १, सहकोषाध्यक्ष २, प्रवक्ता १ र सहप्रवक्ता ३ जना हुनेगरी विधानको व्यवस्था गरिएको छ । कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता मनोनीत हुनेछन् ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?