News Summary
Generated by OK AI. Editorially reviewed.- तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित चोःत्लुङ पार्कमा अनौठो कीटभक्षी वनस्पति 'सन्ड्यु' अर्थात् ड्रोसेरा लुनाटा फेला परेको छ।
- विगतमा 'ड्रोसेरा पेल्टाटा' भनिएको नेपालको रैथाने कीटभक्षी वनस्पतिको वास्तविक वैज्ञानिक नाम 'ड्रोसेरा लुनाटा' भएको अनुसन्धानले पुष्टि गरेको छ।
- चोःत्लुङ पार्कमा यस दुर्लभ वनस्पतिको वासस्थान संरक्षण गर्न सके यस क्षेत्रको वैज्ञानिक, शैक्षिक तथा पर्यटकीय महत्त्व अझ बढ्नेछ।
के तपाईंले कहिल्यै आफ्नै आँखाअगाडि कुनै वनस्पतिले कीरा खाएको देख्नुभएको छ ? सुन्दा अनौठो लाग्न सक्छ, तर प्रकृतिमा यस्ता वनस्पति पनि छन्, जसले आफ्नो वृद्धि र हुर्कन–बाँच्नका लागि साना कीरा तथा झिङ्गा समातेर खान्छन्। गाउँघरका खुला पाखा, घाँसे मैदान, सिमसार वा खेतबारीमा यस्ता रोचक जीव–वनस्पति सम्बन्धका दृश्यहरू हामीले थाहा नपाई देखिरहेका हुनसक्छौं।
यसको मुख्य कारण वनस्पतिलाई चाहिने एक महत्त्वपूर्ण पोषक तत्त्व हो- नाइट्रोजन। नाइट्रोजन वनस्पतिको वृद्धि, हरियो पात बन्ने प्रक्रिया र प्रोटिन निर्माणका लागि अत्यावश्यक हुन्छ। तर कतिपय ठाउँको माटोमा नाइट्रोजनको मात्रा धेरै कम हुन्छ। यस्तो माटोमा सामान्य वनस्पति राम्रोसँग बढ्न सक्दैनन्।
यही चुनौतीलाई समाधान गर्न केही वनस्पतिले लाखौं–करोडौं वर्षको विकासक्रममा अनौठो रणनीति अपनाएका छन्- कीरा समातेर खाने। किनभने कीराको शरीरमा नाइट्रोजन प्रशस्त मात्रामा हुन्छ। त्यसैले यी वनस्पतिले कीरालाई आफ्नो अतिरिक्त पोषक स्रोतको रूपमा प्रयोग गर्छन्।
यस्ता वनस्पतिले विभिन्न तरिकाले कीरालाई आकर्षित गर्छन् र आफ्नो जालमा फसाउँछन्। त्यसपछि विशेष पाचक रसको सहायताले कीराको शरीरलाई विघटन गरी त्यसबाट प्राप्त नाइट्रोजन तथा अन्य पोषक तत्त्व सोस्छन्। यसरी नाइट्रोजनको कमी भएको वातावरणमा पनि तिनीहरूले आफ्नो वृद्धि र अस्तित्व कायम राख्न सफल हुन्छन्।
हामीमध्ये धेरैले यस्ता कीटभक्षी (इन्सेक्टिभोरस) वनस्पति विदेशी वृत्तचित्र वा युट्युबका भिडियोहरूमा मात्र देखेका हुन सक्छौं। तर यस्ता वनस्पति नेपालमै पनि पाइन्छन्। उदाहरणका लागि, पानीभित्र बस्ने ब्लाडरवर्ट्स र घामका किरणमा चम्किने चिप्ला रौं भएका सन्ड्यु जस्ता वनस्पतिले साना कीरालाई समातेर पोषण प्राप्त गर्छन्। यसले प्रकृतिको संसार हाम्रो कल्पनाभन्दा कति जटिल, रहस्यमय र आश्चर्यजनक छ भन्ने कुरा स्मरण गराउँछ।
चोःत्लुङ पार्कमा कीटभक्षी वनस्पति

तेह्रथुमस्थित लालीगुराँस नगरपालिकामा रहेको चोःत्लुङ पार्कमा २०७५ साल जेठ महिनामा वनस्पतिहरूको अवलोकन गर्ने क्रममा एउटा अनौठो दृश्य देखियो। मसँग वाइल्डलाइफ फोटोग्राफर यात्रा थुलुङ पनि थिए। उनले बडो आश्चर्य मान्दै निकै तस्बिर खिचे। पहिलो दिन हामीले एकाध वटा बिरुवा मात्रै देख्यौं। त्यो कीटभक्षी वनस्पति थियो।
त्यो वनस्पति पार्कको पूर्व–दक्षिणतर्फ मोडिएको भूभागमा बिहानदेखि साँझसम्म घाम लाग्ने खुला पाखामा थियो। अर्को दिन मित्र अन्तै लाग्नुभएको थियो। मैले त्यो पाखामा थुप्रै यसका बिरुवाहरू फेला पारें।
यसको बनावट हरियो–पहेंलो मिश्रित रङको थियो। मुख्य डाँठबाट साना पातहरू निस्किएका थिए, तर ती पातहरू साधारण वनस्पतिका पात जस्ता नभई सानो कचौरा वा अर्धचन्द्राकार संरचनामा थिए।
त्यो कचौरा जस्तो संरचनाको वरिपरि साना ‘टेन्टाकल्स’ जस्ता संरचनाहरू थिए। ती टेन्टाकल्सको टुप्पामा बैजनी रङको साना–साना बिन्दु जस्ता पदार्थ देखिन्थे, जसबाट चिप्लो रस निस्केको थियो। यो रस पानीका थोपा जस्तै चम्किलो देखिन्थ्यो, जसले साना कीरा र झिङ्गालाई आकर्षित गर्ने गरेको यसै बुझिन्थ्यो।
यसै कारणले यस वनस्पतिलाई ‘सन्ड्यु’ भनिन्छ। सन्ड्यु शब्दको अर्थ नै बिहानको शीत जस्तो देखिने चिप्लो रस हो। यस वनस्पतिको उचाइ करिब १५–२० सेन्टिमिटर जतिको थियो।
यसको पात र टेन्टाकल्सहरूलाई नजिकबाट हेर्दा साना कीरा टाँसिएको स्पष्ट देखिन्थ्यो। केही कीराहरू आधा पचिसकेका अवस्थामा थिए भने केही अझै ताजा रूपमा टाँसिएका थिए। यसबाट ती वनस्पतिले कीरालाई समातेर त्यसबाट पोषण प्राप्त गर्छन् भन्ने स्पष्ट हुन्थ्यो।
यस सन्ड्यु वनस्पतिको वैज्ञानिक वंश नाम ड्रोसेरा हो, र यो कीटभक्षी वनस्पतिको समूहमा पर्दछ। यसले आफ्नो पातका टेन्टाकल्सहरू प्रयोग गरेर कीरालाई समात्छ, पछि विशेष पाचक रसको सहायताले त्यसलाई विघटन गरी आवश्यक पोषक तत्त्व सोस्छ।
यसरी ढल्किएको भूभागमा, पर्याप्त घाम लाग्ने स्थानमा भेटिएको यो वनस्पति प्रकृतिको एक अद्भुत उदाहरण हो; जसको असामान्य देखिने पातभित्र असाधारण जैविक रणनीति लुकेको हुन्छ भन्ने कुरा प्रमाणित गर्छ।
चार्ल्स डार्विन र कीटभक्षी वनस्पति

कीटभक्षी वनस्पतिको चर्चा गर्दा चार्ल्स डार्विनलाई सम्झनैपर्छ। धेरैजसो मानिसले उनलाई जीव विकासवादका सिद्धान्तकारका रूपमा मात्र चिन्छन्। तर डार्विनले आफ्नो जीवनको महत्त्वपूर्ण समय कीटभक्षी वनस्पतिको अध्ययनमा पनि समर्पित गरेका थिए।
उन्नाइसौं शताब्दीसम्म ‘वनस्पतिले माटो, पानी र सूर्यको प्रकाशबाट मात्र पोषण प्राप्त गर्छन्’ भन्ने धारणा व्यापक थियो। तर डार्विनले केही वनस्पतिले कीरा समात्ने, तिनलाई पचाउने र त्यसबाट पोषक तत्त्व प्राप्त गर्ने तथ्य वैज्ञानिक रूपमा प्रमाणित गरे।
डार्विनले सन् १८६० को दशकमा सन्ड्यु अर्थात् ड्रोसेरा वनस्पतिमा अनुसन्धान शुरु गरेका थिए। यस्ता वनस्पतिको पातमा रहेका चिप्ला ग्रन्थियुक्त टेन्टाकल्सहरूमा कीरा टाँसिन्छन्।
डार्विनले कीरा फसेपछि पात कसरी विस्तारै मोडिन्छ र कीरालाई घेरेर पाचन प्रक्रिया शुरु गर्छ भन्ने कुरा सूक्ष्म रूपमा अध्ययन गरेका थिए। उनले यी अध्ययनहरू बेलायतको डाउन गाउँस्थित आफ्नै निवास डाउन हाउसमा गरेका थिए।

सन्ड्युका अतिरिक्त उनले ‘भेनस फ्लाइट्र्याप’, जसको वैज्ञानिक नाम डायोनिया हो, त्यसमा डेढ दशकसम्म अध्ययन गरे। उनले ती वनस्पतिलाई अध्ययन कक्ष, हरितगृह र बगैंचामा राखेर विभिन्न प्रयोग सञ्चालन गरेका थिए।
डार्विनले वनस्पतिका पातमा मासुका साना टुक्रा, अण्डाको सेतो भाग, विभिन्न रासायनिक पदार्थ तथा अन्य सूक्ष्म वस्तुहरू राखेर तिनले कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने परीक्षण गरे। उनका प्रयोगहरूले ‘कीटभक्षी वनस्पतिले विशेषगरी नाइट्रोजनयुक्त पदार्थप्रति संवेदनशील प्रतिक्रिया देखाउने र पाचनका लागि विशेष एन्जाइम उत्पादन गर्ने’ तथ्य उजागर गरे।
आफ्ना वर्षौंको अनुसन्धानपछि डार्विनले सन् १८७५ मा ‘इन्सेक्टिभोरस प्लान्ट्स’ नामक पुस्तक प्रकाशित गरे। यस पुस्तकमा कीटभक्षी वनस्पतिले कीरा कसरी समात्छन्, पचाउँछन् र त्यसबाट पोषण प्राप्त गर्छन् भन्ने विषयलाई प्रयोगात्मक प्रमाण सहित प्रस्तुत गरिएको छ।
डार्विनले ‘यस्ता वनस्पति प्रायः पोषक तत्त्व (विशेषगरी नाइट्रोजन) कम भएका दलदली तथा अम्लीय माटोमा पाइने भएकाले तिनले अतिरिक्त नाइट्रोजन प्राप्त गर्न कीरा खाने विशेषता विकास गरेको’ निष्कर्ष पनि निकालेका थिए।
उनको यस अनुसन्धानले वनस्पति विज्ञानमा नयाँ दृष्टिकोण ल्यायो। त्यसअघि वनस्पतिलाई निष्क्रिय जीव मान्ने प्रवृत्ति थियो। डार्विनले भने ‘वनस्पतिले आफ्नो वातावरणका सङ्केत पहिचान गर्न, त्यस अनुसार प्रतिक्रिया दिन र जटिल जैविक प्रक्रिया सञ्चालन गर्न सक्छन्’ भन्ने देखाएर वनस्पतिप्रतिको वैज्ञानिक बुझाइलाई नयाँ उचाइमा पुर्याए।
ग्रहण प्रक्रिया

कुनै झिङ्गा ‘सन्ड्यु’ को पातमा चम्किरहेका शीतका थोपा जस्ता पदार्थ देखेर आकर्षित हुन्छ। पातको टुप्पामा रहेको कचौरा जस्तो भागमा बस्ने प्रयास गर्दा त्यो चिप्लो पदार्थमा टाँसिन्छ। शुरुमा एउटा खुट्टा मात्र टाँसिए जस्तो देखिए पनि छुट्न खोज्दा अर्को खुट्टा र पखेटा पनि टाँसिन पुग्छन्। केही समयमै कीरा वनस्पतिको नियन्त्रणमा पर्छ र उम्कन असमर्थ हुन्छ।
यस्तो दृश्य बिहानको समयमा सजिलै देख्न सकिन्छ। घाम लाग्न थालेपछि झिङ्गा र साना कीरा आहार खोज्दै वनस्पतितर्फ आउँछन्। सन्ड्युका टेन्टाकल्सको टुप्पामा रहेको चम्किलो पदार्थले तिनीहरूलाई आकर्षित गर्छ। कीरा जति धेरै छट्पटाउँछ, त्यति नै बढी टेन्टाकल्सहरू त्यसतर्फ मोडिन्छन् र सिकारलाई अझ बलियोसँग समात्छन्।
कीटभक्षी वनस्पतिले सिकार कसरी ग्रहण गर्छ भन्ने विषयमा चार्ल्स डार्विनले नै १५० वर्षअघि अनुसन्धान गरेर पुस्तक लेखेको सन्दर्भ माथि चर्चा गरियो। उसताका अन्य विभिन्न प्रयोगहरू गर्न सक्ने अवस्था विकास भइसकेको थिएन। केही दशकयता, आधुनिक प्रविधिको प्रयोग गरेर वैज्ञानिकहरूले यो प्रक्रियालाई अझ विस्तृत रूपमा अध्ययन गरेका छन्। अनुसन्धानले देखाएको छ कि कीरा फस्दा वनस्पतिभित्र विद्युतीय तथा रासायनिक सङ्केतहरू सक्रिय हुन्छन्, जसले पाचन प्रक्रियालाई शुरु गराउँछन्।
कीरा टाँसिएपछि वनस्पतिमा जैविक प्रतिक्रियाहरूको शृङ्खला शुरु हुन्छ। त्यस क्रममा जास्मोनिक एसिड नामक हर्मोन सक्रिय हुन्छ र पाचन ग्रन्थिहरूले विभिन्न एन्जाइम उत्पादन गर्न थाल्छन्। पानीका थोपा मात्र पर्दा यस्तो प्रतिक्रिया हुँदैन, तर कीराको छट्पटाहटले वनस्पतिलाई वास्तविक सिकार परेको सङ्केत दिन्छ।
सन्ड्युको चिप्लो पदार्थमा मुख्यतः पोलिस्याक्राइड र ग्लाइकोप्रोटिन हुन्छन्। यिनले कीरालाई मजबुत रूपमा टाँस्न मदत गर्नुका साथै पाचन प्रक्रियालाई पनि सहयोग पुर्याउँछन्। त्यसपछि प्रोटिएज, काइटिनेज र फस्फेटेज जस्ता एन्जाइमहरू सक्रिय भई कीराको शरीरलाई बिस्तारै विघटन गर्छन्। प्रोटिएज, काइटिनेज र फस्फेटेज भनेका क्रमशः प्रोटिन, काइटिन र फस्फेट घुलाउने एन्जाइमहरू हुन्।
चोःत्लुङ पार्कमा गरिएको अवलोकनका क्रममा मैले केही झिङ्गा टेन्टाकल्समा छटपटाइरहेका देखें। कतिपय स्थानमा झिङ्गाको आधा शरीर मात्र बाँकी थियो भने कतै टाउको वा पखेटा मात्र देखिन्थ्यो। दुई दिनपछि त्यही स्थानमा पुग्दा तिनीहरू हराइसकेका थिए। यसले ‘सन्ड्युले सिकारको अधिकांश भाग पचाएर आवश्यक पोषक तत्त्व ग्रहण गरिसकेको’ सङ्केत दिन्थ्यो।
ड्रोसेरा वनस्पति

सन्ड्यु संसारका सबैभन्दा रोचक कीटभक्षी वनस्पति समूहमध्ये एक हो। वैज्ञानिक अध्ययन अनुसार यस्ता वनस्पतिहरू करिब ६–८ करोड वर्षअघि विकसित भएका मानिन्छन्। त्यतिबेला पृथ्वीका धेरै भागमा पोषक तत्त्व कम भएका दलदले, अम्लीय र आर्द्र भूभागहरू फैलिएका थिए। नाइट्रोजन र फस्फोरसको अभाव भएको त्यस्तो वातावरणमा बाँच्न केही वनस्पतिले कीरा समातेर पोषण प्राप्त गर्ने विशेष अनुकूलन विकास गरे। सन्ड्यु त्यही दीर्घ विकासक्रमको सफल अनुकूलन हो।
आज सन्ड्यु विश्वका धेरै महादेशमा फैलिएको छ। यसको वितरण अस्ट्रेलिया, अफ्रिका, दक्षिण अमेरिका तथा एशियाका विभिन्न भागमा रहेको छ। सबैभन्दा धेरै प्रजाति अस्ट्रेलियामा पाइन्छन्।
महादेशहरू अलग हुनुअघि यसका पुर्खाहरू व्यापक रूपमा फैलिएका थिए र पछि विभिन्न क्षेत्रमा नयाँ प्रजातिहरू विकसित भए। यही कारण सन्ड्युलाई करोडौं वर्षदेखि वातावरणीय परिवर्तन सहँदै आएको सफल वनस्पति समूह मानिन्छ।
नेपालमा विरलै मात्रामा सन्ड्यु पहाडी र हिमाली क्षेत्रमा पाइन्छन्। घाँसे मैदान, सिमसार, खुला पाखा र आर्द्र भूभाग यिनका प्रमुख वासस्थान हुन्। आकारमा साना र झार जस्ता देखिने भएकाले यिनीहरू लामो समयसम्म धेरैको चासोमा परेनन्। पछिल्ला दशकहरूमा भएका वनस्पति सर्वेक्षण र अनुसन्धानले भने नेपालमा सन्ड्युको उपस्थिति र वितरणबारे जानकारी थपिन थालेको छ।
नेपालमा सन्ड्यु फैलनुको सम्भावित कारणमध्ये प्राकृतिक फैलावट प्रमुख मानिन्छ। यसका अत्यन्त सूक्ष्म बीउ हावा, पानी वा चराचुरुङ्गी मार्फत टाढासम्म फैलिन सक्छन्। अर्को सम्भावना हिमालय क्षेत्रको जैविक निरन्तरता हो, जसले भारत, चीन र दक्षिणपूर्वी एशियाका वनस्पतिलाई नेपालसम्म फैलिन मदत गरेको छ। हिमाली क्षेत्रका आर्द्र र दलदले सूक्ष्म वातावरणले यस्ता वनस्पतिलाई बसोबासका लागि अनुकूल अवस्था प्रदान गरेका छन्।
सन्ड्युको जीवनचक्र पनि निकै रोचक छ। अधिकांश प्रजातिमा माटोमुनि सानो कन्द वा भूमिगत संरचना हुन्छ, जसले प्रतिकूल मौसममा वनस्पतिलाई जोगाउँछ। अनुकूल मौसम आएपछि त्यही कन्दबाट नयाँ डाँठ र पातहरू उम्रिन्छन्। पछि लामो पुष्पदण्ड निस्केर साना फूलहरू फुल्छन् र तिनबाट असङ्ख्य सूक्ष्म बीउ उत्पादन हुन्छन्। ती बीउहरू फैलिएर नयाँ स्थानमा उम्रन्छन् र सन्ड्युको जीवनचक्र पुनः शुरु हुन्छ।
सन्ड्युको सबैभन्दा महत्त्वपूर्ण विशेषता यसको कीटभक्षी स्वभाव हो। यसले प्रकाश संश्लेषणबाट आफ्नो आधारभूत आहार उत्पादन गर्छ, तर माटोमा नाइट्रोजन र फस्फोरसको कमी हुँदा साना कीरा समातेर अतिरिक्त पोषण प्राप्त गर्छ।
पातमा रहेका चिप्ला ग्रन्थियुक्त टेन्टाकल्सहरूले कीरालाई समात्छन्, पाचन एन्जाइम स्राव गर्छन् र आवश्यक पोषक तत्त्व सोस्छन्। यही विशेषताले सन्ड्युलाई पोषक तत्त्व कम भएका वातावरणमा पनि सफलतापूर्वक बाँच्न सक्षम बनाएको छ।
यसरी सन्ड्यु प्रकृतिको अद्भुत जैविक अनुकूलनको उदाहरण हो। करोडौं वर्षको विकासक्रममा यसले कठिन वातावरणसँग आफूलाई अनुकूल बनाउँदै आएको छ। सामान्य देखिने यो सानो वनस्पतिले जीवनको सङ्घर्ष, अनुकूलन र विकासको असाधारण कथा बोकेको छ। कीरा समात्ने यसको क्षमता केवल रोचक व्यवहार मात्र नभई प्रकृतिको दीर्घकालीन विकास प्रक्रियाको उत्कृष्ट नमूना पनि हो।
नाममा गडबडी
मैले विश्वविद्यालय अध्ययन गर्दा नेपालमा पाइने सन्ड्युको वैज्ञानिक नाम ‘ड्रोसेरा पेल्टाटा’ थियो। तेह्रथुममा यसका तस्बिर प्रशस्त खिचेपछि यसबारे अध्ययन गर्न चाख जाग्यो। यसको नेपाल अध्ययन त गर्नैपर्यो।
सन् १८०२ मा नेपाल भ्रमण गर्ने वनस्पतिविज्ञ फ्रान्सिस बुकानन ह्यामिल्टनले यो वनस्पति नेपालमा पहिलो पटक सङ्कलन गरेको पाएँ। उनले यसको नामकरण ‘ड्रोसेरा लुनाटा’ गरेका थिए। यसको फूल चन्द्रमा आकारको हुने भएकाले ‘लुनाटा’ नाम राखेका थिए।
सन् १८२५ मा प्रकाशित ‘प्रोड्रोमस फ्लोरी नेपालेन्सिस’ मा नेपालका वनस्पतिहरूको सूची तयार गर्दा ह्यामिल्टनबाट सङ्कलन गरिएको सन्ड्यु पनि समेटिएको थियो। उक्त पुस्तकका लेखक डेभिड डनले फ्रान्सिस बुकानन ह्यामिल्टन, एडवर्ड गार्डनर र नाथानियल वालिचद्वारा सङ्कलित नमूनाका आधारमा विवरण तयार गरेका थिए। तर, उक्त पुस्तकमा काठमाडौंबाट ड्रोसेरा पेल्टाटा र ड्रोसेरा बुर्मान्नी सङ्कलन गरिएको लेखिएको छ (पृ. २१२)।
अध्ययन गर्दा थाहा लाग्यो कि ड्रोसेरा पेल्टाटा त मुख्यगरी अस्ट्रेलिया तथा दक्षिणपूर्वी एशियामा मात्र पाइँदो रहेछ। त्यसपछि नेपालमा पाइने सन्ड्युको नाम सन् १८२५ देखि गलत लेखिंदै आएको हुनसक्ने अनुमान गरें। भारतमा पनि यो प्रजाति पाइँदो रहेछ। यो हिमालय क्षेत्रमा फैलिएको रहेछ।
तेह्रथुममा खिचेको प्रजाति कुन हो भनेर निर्क्योल गर्न समय निकै लाग्यो। अन्ततः यो ‘ड्रोसेरा लुनाटा’ नै हो भन्ने निष्कर्षमा पुगें। यसबारे अखबारमा एक लेखमा यसको प्रसङ्ग चर्चा गरें।
यो सन्दर्भमा अनुसन्धानकर्ता प्रवीण भण्डारीले थप अध्ययन अघि बढाए। उनले ड्रोसेरा प्रजातिहरूको अन्तर्राष्ट्रिय तुलनात्मक अध्ययन गर्दै निष्कर्ष निकाले कि- नेपालमा पाइने यो वनस्पति वास्तवमा ‘ड्रोसेरा लुनाटा’ नै हो।

यही निष्कर्षलाई आधार मानेर सन् २०२२ मा कृष्णकुमार श्रेष्ठ, प्रवीण भण्डारी र सन्देश भट्टराईले लेखेको ‘प्लान्ट्स अफ नेपाल’ शीर्षक पुस्तकमा ड्रोसेरा लुनाटा समावेश गरे (पृष्ठ ५२१)। यसअघि सन् २०२१ को प्रकाशित ‘ह्यान्डबुक अफ फ्लावरिङ प्लान्ट्स अफ नेपाल’ – भोल्युम ३) मा भने यसलाई ड्रोसेरा पेल्टाटा नै लेखिएको छ।
उता, रोयल बोटानिकल गार्डेन्स, क्यु लन्डनको विद्युतीय सञ्जाल (डेटाबेस) ‘प्लान्ट्स अफ द वर्ल्ड अनलाइन’ मा भने नेपालमा ‘ड्रोसेरा लुनाटा’ पाइन्छ भनेर लेखेको छ।
अन्त्यमा, यो अद्भुत र दुर्लभ मांसाहारी वनस्पति नेपालका विभिन्न पहाडी जिल्लाहरूमा पाइए तापनि यसबारे आम मानिसको ध्यान अझै जान सकेको छैन। यो वनस्पतिको जैविक रहस्य र यसको महत्त्व ओझेलमा परिरहेको अवस्थामा तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित चोःत्लुङ पार्क व्यवस्थापनले यसको प्राकृतिक वासस्थानलाई बेलैमा पहिचान गरी संरक्षण गर्न सकेमा यस क्षेत्रको वैज्ञानिक, शैक्षिक तथा पर्यटकीय महत्त्व अझ बढेर जानेछ।
यसका लागि ठूलो पूर्वाधार होइन, केवल सानो चेतना र व्यवस्थापकीय इच्छाशक्तिको खाँचो छ। यो वनस्पति उम्रिने नाजुक क्षेत्रलाई सुरक्षित रूपमा छुट्याएर, यसका बोटहरूलाई मानिसको गोडाले नकुल्चिन र असर नपुग्ने गरी काठ वा ढुङ्गाको छुट्टै पर्यावरणमैत्री पदमार्गको व्यवस्था गरिनुपर्छ।
साथै, पार्कभित्र यस वनस्पतिका आकर्षक म्याक्रो तस्बिरहरू र यसले कीरा समात्ने अचम्मको प्रक्रिया समेटिएका सङ्क्षिप्त जानकारीमूलक बोर्डहरू राख्न सके यहाँ आउने आगन्तुक, विद्यार्थी र अनुसन्धानकर्ताहरूका लागि यो पार्क खुला प्रयोगशाला बन्न सक्छ।
मैले सन् २००५ मा कीटभक्षी वनस्पतिले झिङ्गा समाइरहेको यस्तै जीवन्त दृश्य रोयल बोटानिकल गार्डेन एडिनबर्ग, स्कटल्यान्डमा पहिलो पटक देखेको थिएँ। त्यो दृश्य सोही गार्डेनका प्रसिद्ध वनस्पतिविज्ञ एन्टोनी मिलरले नेपालबाट गएको वनस्पति अध्येता टोलीलाई गौरवका साथ देखाएका थिए।
त्यतिबेलासम्म टेलिभिजनका वृत्तचित्रहरूमा मात्र देखेको यस्तो अनौठो प्राकृतिक दृश्य आफ्नै आँखाअगाडि प्रत्यक्ष देख्न पाउँदा एउटा छुट्टै र अविस्मरणीय अनुभूति भएको थियो; लाग्थ्यो- प्रकृतिको कुनै ठूलो रहस्यको साक्षी बन्न पाइएको छ।
यद्यपि, हामीले त्यहाँ ड्रोसेरा नभई डायोनिया वंशको मांसाहारी वनस्पतिले झिङ्गा समाएको देखेका थियौं। चोःत्लुङ पार्कमा आउने आगामी आगन्तुकहरूले पनि आफ्नै गाउँघरमा त्यस्तै दुर्लभ र रोमाञ्चक अनुभूतिको प्रत्यक्ष साक्षात्कार गर्न सक्नेछन्।
चोःत्लुङ पार्क व्यवस्थापनले आफ्नो क्षेत्रमा यस्तै व्यवस्था गर्न सके पार्कको वैज्ञानिक तथा पर्यटकीय ओज अझ बढेर जानेछ। यसका निम्ति स्थानीय पालिकाले आफ्ना कर्मचारीहरूलाई प्रशिक्षित गरी यहाँ आउने पर्यटकहरूलाई ड्रोसेरा लुनाटाले कीरा ग्रहण गर्ने अनौठो प्रक्रिया प्रत्यक्ष देखाउँदै यसको जैविक–वैज्ञानिक प्रक्रिया बुझाउन सक्नेछन्। हाम्रै पाखापखेरामा लुकेर बसेको प्रकृतिको यो अनुपम उपहारलाई विश्वसामु चिनाउने र पर्यावरण पर्यटनको नयाँ गन्तव्य बनाउने यो एउटा सुनौलो अवसर हो ।
प्रतिक्रिया 4