+
+
Shares

प्रतिनिधि टुंगो लगाउन नसक्दा सुरु नै भएन रास्वपाको बन्द सत्र

८ घण्टादेखि प्रतिनिधिहरू चौरमा

बन्द सत्र समयमा सुरु हुन नसक्दा उम्मेदवार मनोनयन प्रक्रियासमेत प्रभावित हुने भएको छ

लिलु डुम्रे दिनेश गौतम लिलु डुम्रे, दिनेश गौतम
२०८३ असार ८ गते १६:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिहरूको सूची विवाद र प्राविधिक त्रुटिका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको बन्द सत्र निर्धारित समयभन्दा ८ घण्टा ढिलो भएको छ ।
  • मधेश प्रदेशका ९६ प्रतिनिधि छुटेको विवाद र प्रतिनिधिहरूको विवरणमा रहेका त्रुटि सच्याउन समय लागेकाले बन्द सत्र प्रभावित भएको हो ।
  • बन्द सत्र ढिलो हुँदा सोमबारका लागि तय गरिएको उम्मेदवार मनोनयन दर्ता प्रक्रिया स्थगित भई महाधिवेशनको कार्यतालिका प्रभावित बनेको छ ।

८ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनको उद्घाटन सत्र जसरी सफलतापूर्वक सम्पन्न गर्‍यो, त्यहीअनुरूप बन्द सत्र सक्ने छनक देखाएको छैन ।

सोमबार बिहान ८:३० बजे सुरु गर्ने कार्यतालिका रहेको बन्द सत्र तोकिएको समयमा सुरु हुन सकेन । बन्द सत्र सुरु गर्ने भनिएको अवधि ८ घन्टा बितिसकेको छ ।

सत्रको सुरुवात ८:३० बजे सभापतिले प्रारम्भ गर्ने गरी कार्यतालिका बनाइएको थियो । त्यसपछि क्रमशः अनुशासन समितिको प्रतिवेदन, पार्टीको प्रतिवेदन, संगठनात्मक प्रतिवेदन, विधान अनुमोदन, अर्थ राजनीति प्रस्तावना, सभापतिको राजनीतिक प्रतिवेदन, अन्तरिम व्यवस्थापन समिति गठन गरी दिउँसो १:२५ बजे बन्द सत्र सक्ने कार्यतालिका बनेको थियो ।

बेक्रफास्टपछि बन्द सत्र सुरु गर्ने तालिका बनाएको रास्वपाले बिहानको खाना र दिउँसोको खाजा खाने बेला भइसक्दा पनि सुरु गर्न सकेन ।

बिहान १० बजेसम्म बन्द सत्र सुरु हुन नसकेको विषयमा महामन्त्री कविन्द्र बुर्लाकोटीसँग जिज्ञासा राख्दा उठ्न ढिलो भएको र ब्रेकफास्टका कारण ढिलो हुन पुगेको बताएका थिए । तर ब्रेकफास्टका कारणले मात्रै बन्द सत्र ढिलाइ नभएको प्रतिनिधिहरूले बताएका छन् ।

बन्द सत्र सुरु नहुनुमा प्रमुख कारण प्रतिनिधिहरूको टुंगो लगाउन नसक्नु हो । निर्वाचन आयोगले अघिल्लो सातासम्म ३ हजार हारहारी प्रतिनिधि हुने जानकारी गराएको थियो । कोषाध्यक्ष लिमा अधिकारीले गत शनिबार भरतपुरमै बसेको केन्द्रीय समिति बैठकमा ३९९० प्रतिनिधिले शुल्क बुझाएको जानकारी गराएकी थिइन् ।

त्यस दिन पाँच घण्टाभन्दा बढी समय बसेको केन्द्रीय समितिले पनि प्रतिनिधिको यकिन टुंगो लगाउन सकेन । समयोजनबाट दुई महामन्त्रीको सल्लाहमा प्रतिनिधि थप्न सक्ने जानकारी गराइएको थियो । पत्रकार सम्मेलनका क्रममा प्रवक्ता मनिष झाले त्यसबेला ४२ सय प्रतिनिधि हुन सक्ने जानकारी गराएका थिए ।

विवाद भएपछि मधेशबाट प्रतिनिधि बन्नेहरूको सूची सोमबार बिहान मात्रै सार्वजनिक गरिएको थियो । यद्यपि, त्यसमा पनि विवाद नै छ । ९६ प्रतिनिधि छुटाएर मधेशको प्रतिनिधि टुंगो लगाएको भन्दै विरोध भएपछि विवाद मिलाउन लागिएको छ ।

अर्कोतर्फ, महाधिवेशन प्रतिनिधिहरूको नाम, थर, ठेगाना लगायतका त्रुटिले प्रतिनिधि कायम हुन सकेका छैनन् । प्रतिनिधिहरूको त्रुटि सच्याउनका लागि बिहान १० बजेसम्मको समय उपलब्ध गराइए पनि दिउँसो ३ बजेसम्म निर्वाचन आयोगको कार्यालयमा कार्यकर्ताहरू आवेदनसहित पुगिरहेका थिए ।

निर्वाचन आयोगका प्रमुख भुवन केसीले त्रुटि सच्याउन आएका निवेदनको यकिन नभएको जानकारी गराए । केसीले ४ हजार हारहारी प्रतिनिधि हुन सक्ने अनलाइनखबरसँग बिहान ११ बजे बताएका थिए । तर दिउँसो पत्रकार सम्मेलन गर्दा प्रवक्ता झाले ४ हजार ५०० हाराहारी प्रतिनिधि हुने जानकारी गराएका थिए ।

निर्धारित समयमा बन्द सत्र सुरु हुन नसकेपछि नेता-कार्यकर्ताहरू बन्द सत्रस्थल वरपर छरिएर बसेका छन् । कोही चिसो वातावरण खोज्दै यताउता गरिरहेका छन् । उखरमाउलो गर्मी छल्न डीडीसीको बिक्री केन्द्रमा झुम्मिरहेका छन् । बन्द सत्र सुरु हुन नसकेपछि छिटो प्रक्रिया सुरु गर्न नेतृत्वलाई प्रतिनिधिहरूले आग्रह गरिरहेका छ ।

दिउँसो ३ बजेसम्म बन्द सत्र सुरु हुन नसक्दा समग्र महाधिवेशनका लागि तय गरिएको कार्यतालिका प्रभावित बनेको छ । आइतबार उद्घाटन गरेर मंगलबार नयाँ नेतृत्व चयन गरेर महाधिवेशन सक्ने कार्यतालिका बनाइएको थियो ।

बन्द सत्र समयमा सुरु हुन नसक्दा महाधिवेशनको अवधि लम्बिने भएको छ । पार्टी प्रवक्ता मनिष झाले महाधिवेशनको समयावधि लम्बिन सक्नेमा शनिबार भएको केन्द्रीय समिति बैठकमा छलफल भएकोसमेत बताए । प्रतिनिधिहरूको संख्यालाई विवादरहित बनाउने उद्देश्यले बन्द सत्र सुरु हुन ढिलाइ भइरहेको प्रवक्ता झाले जानकारी दिए ।

बन्द सत्र समयमा सुरु हुन नसक्दा उम्मेदवार मनोनयन प्रक्रियासमेत प्रभावित हुने भएको छ । सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ताको लागि समय छुट्याइए पनि कार्यान्वयन हुन सकेन ।

बन्द सत्र समयमा सुरु हुन नसक्दा उम्मेदवार दर्ता प्रक्रियादेखि नेतृत्व चयनसम्मका आगामी कार्यतालिका सबै प्रभावित भएका छन् । महाधिवेशनको अवधि एक दिन लम्बिनेमा नेता-कार्यकर्ता ढुक्क देखिएका छन् ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?