News Summary
Generated by OK AI. Editorially reviewed.- बाराको जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा ५२९ मत प्राप्त गरी गजेन्द्र गुप्ता निर्वाचित भएका छन् ।
- उनले अर्का उम्मेदवार मनोजकुमार गुप्तालाई ३३० मतको फराकिलो अन्तरले पराजित गर्दै आफ्नो प्यानलसहित जित हासिल गरेका हुन् ।
- नवनिर्वाचित अध्यक्ष गुप्ताले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका साना तथा मझौला व्यवसायीका समस्यालाई आफ्नो मुख्य एजेन्डा बनाउने प्रतिबद्धता जनाए ।
८ असार, बारा । बाराको जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा गजेन्द्र गुप्ता निर्वाचित भएका छन् । संघको तेस्रो अधिवेशन अन्तर्गत आइतबार भएको मतदानमा युवा व्यवसायी गुप्ताको प्यानलै विजयी भएको हो ।
सोमबार सार्वजनिक मत परिणाममा अर्का उम्मेदवार मनोजकुमार गुप्तालाई ३३० मतको फराकिलो अन्तरले पराजित गर्दै गजेन्द्रले जितपुरसिमराको नेतृत्व हत्याए । गजेन्द्रले अध्यक्ष पदमा ५२९ मत प्राप्त गर्दा अर्का उम्मेदवार मनोजकुमारले १९९ मत ल्याए ।
संघको निवर्तमान कार्यसमितिमा गजेन्द्र वाणिज्य उपाध्यक्ष र मनोजकुमार वरिष्ठ उपाध्यक्ष थिए ।
संघको वरिष्ठ उपाध्यक्षमा शिवजी साह सोनार, महासचिवमा प्रकाश गिरी, वाणिज्य उपाध्यक्षमा रामबाबु कलवार, कोषाध्यक्षमा रिना रौनियार र वाणिज्य सचिवमा रिता कँडेल निर्वाचित भएका छन् ।
वाणिज्य तर्फको सदस्यहरूमा अमरेन्द्र यादव, नवरतन कलवार, बलराम पौडेल, बिभा गुप्ता, मनोहर गुप्ता, विजय गुप्ता र मुकुन्द रिजाल निर्वाचित भएका छन् ।
उद्योग, वस्तुगत र एसोसिएट तर्फ सर्वसम्मत पदाधिकारी र सदस्य चयन भएको नव-निर्वाचित अध्यक्ष गजेन्द्र गुप्ताले जानकारी दिए ।
उद्योग उपाध्यक्षमा विजयकुमार साह, उद्योग सचिवमा मुकेशप्रसाद साह, उद्योग सदस्यमा ठहलबहादुर विश्वकर्मा, राकेशकुमार गुप्ता र राजेस साह निर्विरोध निर्वाचित भएका छन् ।
एसोसिएट सदस्यमा हिमांशु गोल्छा र वस्तुगत तर्फ सूर्यप्रकाश त्रिपाठी निर्विरोध निर्वाचित भएका छन् ।
विजयी घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष गुप्ताले वीरगञ्ज-पथलैया औद्योगिक करिडोरका साना तथा मझौला उद्योगले झेल्नुपरेको समस्या र साना व्यवसायीको पीडालाई आफ्नो मुख्य एजेन्डा बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया 4