+
+
Shares
रास्वपा महाधिवेशन :

बालेनका विश्वासपात्रहरूलाई मनोनयनको भर, डेढ दर्जन नेता चुनावी मैदानबाहिर

प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा रास्वपामा जोडिएका करिब डेढ दर्जन नेताहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छैनन्। उनीहरू चुनाव लड्नुको साटो सभापति रवि लामिछानेको तजबिजमा मनोनयन मार्फत केन्द्रीय समिति र पदाधिकारीमा पुग्ने रणनीतिमा देखिएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १० गते १३:५४

१० असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय समिति चयनका लागि चितवनमा चुनावी सरगर्मी उत्कर्षमा छ। ९९ जना केन्द्रीय सदस्यका लागि ३५५ जना उम्मेदवारहरू प्रतिनिधिहरूसँग मत माग्न व्यस्त रहँदा पार्टीभित्रको एउटा ठूलो समूह भने चुनावी प्रतिस्पर्धाबाट बाहिरै बसेको छ।

प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा रास्वपामा जोडिएका करिब डेढ दर्जन नेताहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छैनन्। उनीहरू चुनाव लड्नुको साटो सभापति रवि लामिछानेको तजबिजमा मनोनयन मार्फत केन्द्रीय समिति र पदाधिकारीमा पुग्ने रणनीतिमा देखिएका छन्।

सभापतिमा रवि लामिछाने सर्वसम्मत निर्वाचित भइसकेका छन् भने बाँकी केन्द्रीय सदस्यहरूका लागि आज मतदान हुँदै छ। तर, प्रधानमन्त्री शाह भने महाधिवेशन नसकिँदै काठमाडौँ फर्किसकेका छन्।

विधानको व्यवस्था र सभापति लामिछानेसँगको आन्तरिक सहमतिअनुसार उनी वरिष्ठ नेतामा मनोनीत हुने पक्कापक्की भएपछि उनी काठमाडौँ फर्किएको महाधिवेशनस्थलमा रहेका एक नेताले जानकारी दिए।

प्रधानमन्त्री शाहकै बाटो पछ्याउँदै उनको समूहबाट आएका अन्य अधिकांश नेताले पनि उम्मेदवारी दिएनन्। बालेन समूहबाट यसअघि २६ जना नेता केन्द्रीय सदस्यमा मनोनीत भएका थिए। तीमध्ये शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल लगायत सीमित नेताले मात्र यसपटक उम्मेदवारी दर्ता गराएका छन्।

बालेन समूहबाटै रास्वपामा जोडिएका गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार मन्त्री सुनिल लम्साल, अरू नेताहरू भूपदेव शाह, लक्ष्मण थारू, रमेश पौडेल, सन्तोष गिरी, सरिता ज्ञवाली, जेम्स कार्की, लक्ष्मी बर्देवा, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, मधुसुधन ढकाल, ओजश्वी थापा, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद रहेका छन्।

पर्यटनमन्त्री गनेस पौडेलले भने केन्द्रीय सदस्यमा उम्मेदवारी नदिने र कसैको प्रस्तावक पनि नबन्ने बताइसकेका छन् ।

सभापति लामिछानेले महाधिवेशनकै क्रममा पुराना र विभिन्न पार्टी/अभियानबाट समायोजन भएर आएका नयाँ नेताहरूबीचको प्रतिस्पर्धालाई सन्तुलित बनाउने स्पष्ट पारिसकेका छन्।

विवेकशील साझा, थरुहट आन्दोलनलगायतबाट आएका नेताहरूलाई मनोनयनमार्फत समेटेर न्याय गर्ने उनको तयारी छ।

पदाधिकारीमा क-कसको दाबी ?

विधानअनुसार पदाधिकारी बन्नका लागि केन्द्रीय सदस्य हुनु अनिवार्य छ। तर, सभापतिले सुरुमा केन्द्रीय समितिमा मनोनीत गरेर तिनैमध्येबाट पदाधिकारीमा समेत मनोनीत गर्न सक्ने व्यवस्था रास्वपाको विधानमा छ। यही व्यवस्थाको फाइदा उठाउँदै बालेन समूहका सुनिल लम्सालले उपसभापति र भूपदेव शाहले महामन्त्री पदमा दाबी प्रस्तुत गरेका छन्।

यसपटक रास्वपाले विधान संशोधनमार्फत पदाधिकारी सङ्ख्या १२ बाट बढाएर १९ पुर्‍याएको छ। जसमा सभापति १, वरिष्ठ नेता १, उपसभापति ३ (१ महिला र १ मनोनीतसहित), महामन्त्री २ (१ मनोनीतसहित), सहमहामन्त्री ५ (१ महिला र २ मनोनीतसहित), प्रवक्ता १, सहप्रवक्ता ३ (१ महिलासहित), कोषाध्यक्ष १ र सहकोषाध्यक्ष २ (१ महिलासहित) रहने व्यवस्था छ।

९९ जना निर्वाचित केन्द्रीय सदस्यमध्येबाट दोस्रो चरणको निर्वाचनमार्फत २ उपसभापति, १ महामन्त्री र ३ सहमहामन्त्री चयन गरिनेछ। बाँकी पदाधिकारी सभापतिले मनोनीत गर्नेछन्।

निर्वाचनमार्फत आउने महिला उपसभापतिमा कानुनमन्त्री सोबिता गौतम, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र कोषाध्यक्ष लिमा अधिकारीलाई सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ। त्यस्तै, खुला महामन्त्री पदमा निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीसहित विपिन आचार्य, शिशिर खनाल, मनिष झा, गणेश पराजुली र यज्ञमणि न्यौपानेको दाबेदारी छ।

उपसभापति वा महामन्त्रीमध्ये एक पदमा डा. तोसिमा कार्कीले पनि प्रतिस्पर्धा गर्ने चर्चा छ। यदि उनले महिला उपसभापतिमा उम्मेदवारी नदिए महामन्त्रीको बलियो दाबेदारका रूपमा उनलाई हेरिएको छ। रास्वपाको १५१ सदस्यीय केन्द्रीय समिति बैठकमा सात प्रदेशको सभापति पदेन सदस्य रहँदा यो संख्या १५८ पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?