१० असार, विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि साढे २ अर्ब रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।
बुधबार नगरसभा मार्फत उपप्रमुख संगीताकुमारी चौधरीले आगामी वर्षका लागि २ अर्ब ५२ करोड २८ लाख ७० हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । धरान उपमहानगरपालिकाले भने यो पटकपनि समयमा नै बजेट ल्याउन सकेन् ।
इटहरी उपमहानगरपालिकाले पुँजीगत तर्फ १ अर्ब २९ करोड ४६ लाख र चालुतर्फ ९४ करोड ८३ लाख ७० हजार बजेट विनियोजन गरेको छ । विषयगत क्षेत्रतर्फ २६ करोड ७५ लाख र वित्तीय व्यवस्थापन तर्फ १ करोड २४ लाख विनियोजन गरेको छ ।
उपमहानगरपालिकाले बजेटको स्रोत मध्ये संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड र आन्तरिक आम्दानीलाई मुख्य आधार बनाएको छ ।
उपमहानगरपालिकाले आन्तरिक राजस्व तर्फ ५६ करोड ३० लाख ४० हजार आम्दानी हुने अनुमान गरेको छ । संघीय समानिकरण अनुदान २८ करोड ७३ लाख, संघीय सशर्त अनुदान ९८ करोड ८८ लाख, राजस्व बाँडफाटबाट २२ करोड व्योहोरिने अनुमान छ ।
धरान उपमहानगरपालिकाले भने संवैधानिक सीमा असार १० गते भित्र बजेट ल्याउन सकेन् । कार्यवहाक प्रमुख अइन्द्रबिक्रम बेघाले बजेट निर्माणका लागि छलफल चलिरहेको छ ।
छलफल टुङ्गोमा पुगेपछि बजेट सार्वजनिक गर्ने उनले बताए । धरान योजना बाडफाडको विषयमा कार्यपालिका भित्र विवाद छ । ‘बजेट आएको छैन, छलफल चलिरहेको छ,’ उनले भने, ‘१–२ दिन लाग्छ जस्तो छ ।’
यसअघि दुई वर्ष समयमा नै बजेट ल्याउन नसक्दा धरान उपमहानगरपालिका दुई पटक बजेट होलिडेमा गएको थियो ।
प्रतिक्रिया 4