+
+
Shares

पृथ्वीको दुर्लभ पाहुना : १९४ वर्ष उमेरको यो जीव

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते ११:१९

के कुनै जीव १९४ वर्षसम्म बाँच्न सक्छ ? सुन्दैमा अचम्म लाग्न सक्छ, पत्याउनै गाह्रो पर्छ । तर संसारमा एउटा यस्तो कछुवा छ जसले करिब दुई शताब्दी देखिसकेको छ ।

यस कछुवाको नाम जोनाथन हो । जोनाथको उमेर १९४ वर्ष पुगिसकेको छ । गिनिज वर्ल्ड रेकर्ड्सले हालै यसलाई आफ्नो सबैभन्दा प्रतिष्ठित सम्मानमध्ये एक गिनिज वर्ल्ड रेकर्डस् आइकनको उपाधि प्रदान गरेको छ।

जोनाथन कछुवा सेशेल्स जायन्ट टोर्टोइज प्रजातिको कछुवा हो । यो दक्षिणी आन्ध्र महासागरमा रहेको सेन्ट हेलेना द्वीपमा बस्छ । गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार सन् १८८२ मा यसलाई सेसेल्सबाट सेन्ट हेलेना ल्याइएको थियो । त्यसबेला यसको उमेर कम्तीमा ५० वर्षको थियो । सोही आधारमा वैज्ञानिकहरूले यो कछुवाको जन्म सन् १८३२ मा भएको आँकलन गरेका छन् ।

दुई शताब्दीको साक्षी

जोनाथन यस संसारमा आउँदा संसारमा न त सवारी साधनहरू सर्वसाधारणका लागि उपलब्ध थिए न त हवाईजहाजको व्यापक प्रयोग भएको थियो। त्यसबेला इन्टरनेटको अस्तित्व नै थिएन । यो कछुवाले औद्योगिक क्रान्ति, दुईवटा विश्वयुद्ध, मानवको चन्द्रमामा अवतरण र आधुनिक प्रविधिको विकाससम्मका अनेक ऐतिहासिक परिवर्तनहरूको समय गुजारेको छ ।

त्यसै कारणले जोनाथनलाई केवल एउटा कछुवा मात्र नभई इतिहासको जीवित साक्षीका रूपमा पनि हेरिन्छ।

१९४ वर्षसम्म बाँच्नु आफैँमा चमत्कार हो । त्यसैले बुढ्यौलीको प्रभाव जोनाथनमा पनि परेको छ । यसको दृष्टिशक्ति लगभग हराइसकेको छ र सुँघ्ने क्षमता पनि निकै कमजोर भएको छ । तर यसको हेरचाह गर्नेहरूका अनुसार यसले अझै नियमित रूपमा खाना खान्छ, घाम ताप्छ र आफ्ना साथी कछुवाहरूसँग सामान्य व्यवहार गर्छ।

विशेषज्ञहरूका अनुसार विशालकाय कछुवाहरूको सुस्त जीवनशैली, कम ऊर्जा खर्च गर्ने शरीर, बलियो प्रतिरक्षा प्रणाली तथा सुस्त मेटाबोलिज्म नै तिनीहरूको दीर्घायुको मुख्य कारण मानिन्छ।

सोही कारणले सेसेल्स र गालापागोस टापुजस्ता द्वीपका विशालकाय कछुवाहरू प्रायः १०० वर्षभन्दा बढी बाँच्छन् । यद्यपि १९४ वर्षसम्म जीवित रहनु भने अत्यन्तै दुर्लभ घटना मानिन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?