+

मेस्सीको बुट : विश्वकपमा गोल मात्र होइन, एडिडासको पनि हुन्छ चर्चा

२०८३ असार  ११ गते १२:५० २०८३ असार ११ गते १२:५०

विश्वकपको मैदानमा लाखौं आँखाहरू गोलतर्फ केन्द्रित भइरहेका हुन्छन् । तर केही नजर भने खेलाडीहरूको खुट्टामा रहेको बुटमा पनि अडिएका हुन्छन् । त्यसैले, विश्वकपमा खेल, ट्रफी र गोलको चर्चासँगै बुटले पनि सामाजिक सञ्जाल तताइरहेको हुन्छ ।

र, जब बुटको कुरा आउँछ, अर्जेन्टिनाका क्याप्टेन लियोनल मेस्सी र उनले लगाउने एडिडासका जुत्ता स्वतः चर्चाको केन्द्रमा पुग्छन् । किनकि, उनी एडिडासका ब्रान्ड एम्बासडर मात्र होइनन्, ब्रान्डको धड्कनझैँ बनेका छन् ।

सन् २००६ मा पहिलो पटक विश्वकप खेल्दा सुरु भएको यो सम्बन्ध दुई दशकपछि पनि उत्तिकै मजबुत छ ।

त्यसैले, विश्वकपका दौरान दर्शकहरू गोलको प्रतीक्षामा मात्र हुँदैनन् । फुटबल प्रेमीहरूको अर्को जिज्ञासा पनि उत्तिकै रोचक हुन्छ, आज मेस्सीले कस्तो बुट लगाएका छन् ? त्यसको रङ कस्तो छ ? डिजाइनमा के नयाँ छ ? मूल्य कति पर्छ ?

विश्वकपका हरेक संस्करणमा मेस्सीको बुटबारेको चर्चा सामाजिक सञ्जालमा ट्रेन्डिङ बन्छ । उनका समर्थकहरू बुटको रङ, डिजाइन, प्रविधि, मूल्य र त्यससँग जोडिएका कथामा रुमल्लिन्छन् । कतिपय विशेष संस्करणका बुटहरू त मेस्सीको फुटबल यात्राका महत्वपूर्ण क्षणहरू सम्झाउने गरी डिजाइन गरिएका हुन्छन् ।

उदाहरणका लागि, उनले लगाएका केही विशेष एडिडास बुटहरू सन् २००६ मा खेलेको पहिलो विश्वकपको सम्झनामा तयार गरिएका थिए । यसले मेस्सी र एडिडासबीचको सम्बन्ध केवल व्यापारिक साझेदारी नभई भावनात्मक यात्रासमेत भएको संकेत गर्छ ।

सायद यही कारणले विश्वकपमा मेस्सीले गरेको गोल जत्तिकै, उनले लगाएको बुटले पनि चर्चा पाउँछ ।

यसपटक एडिडासको एल उल्टिमो टान्गो’ बुटमा मेस्सी

२३ जुन २०२६ । विश्वकपको मैदानमा ३९ वर्षीय लियोनेल मेस्सीले सेतो आधारमा आकाश नीलो र सुनौलो झल्कने एडिडास एफ५० ‘एल उल्टिमो टान्गो’ बुट लगाएर दुई गोल गरे ।

‘एल उल्टिमो टान्गो’ भनेको स्प्यानिस भाषा हो । अंग्रेजीमा ‘द लास्ट डान्स’ भनेर चिनिन्छ, अर्थात अन्तिम नाच ।

यो जुत्ता उनको अन्तिम विश्वकपका लागि डिजाइन गरिएको हो । त्यसैले, अन्तिम नाच भनिएको हुनसक्छ ।

यो जुत्ताले मेसीको २० वर्ष लामो विश्वकप यात्रालाई सम्झाउँछ ।

२००६ को जर्मनी विश्वकपमा मेसीले पहिलो पटक विश्वकप खेलेका थिए । त्यतिबेला उनले एफ५०.६ ट्युनिट जुत्ता लगाएका थिए । अहिलेको ‘एल उल्टिमो टाङ्गो’ ले त्यही जुत्ताको डिजाइनलाई आधुनिक प्रविधिसँग जोडेको छ ।

जुत्ताको मुख्य रङ सेतो छ, जसमा अर्जेन्टिनाको झण्डाको आकाशी नीलो र सुनौलो एक्सेन्ट दिइएको छ । यसमा घुमाउरो थ्री स्ट्राइप्स डिजाइन छ, जसले पुरानो याद दिलाउँछ तर नयाँ लुक दिन्छ । जुत्ताको तल्लो भागमा स्प्यानिस भाषामा ‘एल उल्टिमो टाङ्गो’ लेखिएको छ । अर्थात्,  मेसीको छोराहरूको नाम र जन्मदिन पनि प्रिन्ट गरिएको छ । यसले व्यक्तिगत स्पर्श थप्छ ।

सहज र तेज

यो जुत्ता तीव्र गतिको लागि सहज हुने हिसाबले बनाइएको हो । यसको माथिको भाग हाइब्रिडटच प्लस मटेरियलबाट बनेको छ जुन हल्का, नरम र बलियो हुन्छ ।

यसले बललाई राम्रो टच दिन्छ र खेलाडीलाई छिटो दौड्न मद्दत गर्छ ।  जुत्तामा हुक एन्ड लुप लेस कभर प्रणाली छ जसले लेसलाई राम्रोसँग सुरक्षित राख्छ । सोलप्लेटमा एलएक्स स्पीड सिस्टम प्लस प्रयोग गरिएको छ जसमा ब्लेडेड स्टडहरू छन् ।

यसले घाँसे मैदानमा उत्कृष्ट ग्रिप र एजिलिटी प्रदान गर्छ । एडिडासले यो जुत्तालाई मेसीको लागि विशेष रूपमा कस्टमाइज गरेको हो ।  जर्मनीको कारखानामा केही संस्करणहरू हातले बनाइन्छन् ।

यो डिजाइन पुरानो र नयाँ प्रविधिको सुन्दर मिश्रण हो ।

मेसीले यो जुत्तामा खेल्दा उनी अझ छिटो र सटीक देखिन्छन । हालैको खेलमा उनले अस्ट्रिया विरुद्ध २ गोल गर्दै विश्वकपको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोडेका थिए । यो जुत्ता मात्र खेलका लागि होइन, उनको लिगेसीको प्रतीक पनि हो । फुटबल प्रेमीहरू यस जुत्ताको डिजाइन र प्रविधिले मोहित भएका छन् ।

कति पर्छ मूल्य ?

जहाँसम्म यसको मूल्यको कुरा छ, यसको अमेरिकी डलर २८० जति छ जुन नेपाली रूपैयाँमा करिब ३८,००० देखि ४०,००० सम्म पर्न सक्छ । यसको प्रो र लिग भर्सन अलि सस्तोमा पाइन्छ । एडिडासको आधिकारिक वेबसाइट वा फुटबल स्टोरहरूबाट किन्न सकिन्छ ।

मेसीले यो जुत्ताले देखाउँछ,  उनी कसरी आफ्नो इतिहासलाई सम्मान गर्दै नयाँ प्रविधिसँग अघि बढिरहेका छन् ।

मेसीले आज मात्र होइन, दशकौं देखि सो ब्राण्डका जुत्ता लगाइरहेका छन् ।

कसरी उनी एडिडाससँग जोडिए त ?

उनको शरीर सानो थियो, तर बलमाथिको नियन्त्रण र खेल पढ्ने क्षमता असामान्य । बार्सिलोनाको ला मासियामा प्रवेश गरेपछि उनले विश्व फुटबलको ध्यान आफूतर्फ तान्न थाले ।

मैदानमा उनको प्रभाव बढ्दै जाँदा खेल सामग्री उद्योगका दुई ठूला शक्तिनाइकी र एडिडासको नजर पनि उनैमाथि प¥यो ।

किशोर अवस्थादेखि नै नाइकीको प्रायोजनमा रहेका मेसी प्रारम्भिक व्यावसायिक खेल जीवनमा नाइकीकै बुट लगाएर मैदानमा उत्रिन्थे ।

तर उनी विश्व फुटबलको उदाउँदो सुपरस्टार बन्दै गएपछि उनको नामलाई लिएर नाइकी र एडिडासबीच तीव्र प्रतिस्पर्धा सुरु भयो ।

सन् २००६ मा कानुनी र व्यावसायिक प्रक्रियापछि एडिडासले मेस्सीलाई आफ्नो टोलीमा भित्राउन सफल भयो । त्यो निर्णयले केवल एउटा खेलाडीको प्रायोजक परिवर्तन गरेन, फुटबल इतिहासको सबैभन्दा प्रभावशाली साझेदारीमध्ये एकको सुरुवात गरायो ।

एडिडासमा पुगेपछि मेस्सीको खुट्टामा एफ५० शृङ्खलाका बुट देखिन थाले । यो बुट विशेष थियो, अत्यन्त हल्का, उन्नत ग्रिप, बलसँग प्रत्यक्ष टच र मेस्सीको सानो खुट्टा अनुसार कस्टम फिट ।

२००६ विश्वकपमा बुट खस्दा मेस्सीले उठाएर भीडलाई देखाए, त्यो क्षण एफ५० को अमर गसिप बन्यो ।

ती बुट उनको खेल शैलीलाई ध्यानमा राखेर विकसित गरिएका थिए, हल्का, तीव्र र बलमाथि उत्कृष्ट नियन्त्रण दिने ।

विस्तारै मेस्सी र एडिडास एकअर्काको पर्यायझैँ बन्न पुगे ।

एडिडास कसरी बन्यो, ब्राण्ड ?

१९२० को दशक ।  जर्मनीको हर्जोगेनाउराच सहरमा एडोल्फ ‘आदी’ डास्लर नामका एक युवा खेलाडीहरूका लागि राम्रो जुत्ता बनाउने सपनामा डुबेका थिए ।

पहिलो विश्वयुद्धपछि जर्मनी आर्थिक संकटबाट गुज्रिरहेको थियो । त्यस्तो कठिन समयमा पनि आदीको ध्यान व्यापारभन्दा बढी खेलाडीको प्रदर्शन सुधार्न सक्ने जुत्ता बनाउनमा थियो ।

आफ्नै घरको लुगा धुने कोठालाई कार्यशाला बनाएर उनले क्यानभास, रबर र धातुका स्पाइक प्रयोग गर्दै नयाँ–नयाँ डिजाइनमा प्रयोग गर्न थाले ।

उनको विश्वास थियो, खेलाडीको प्रतिभालाई सही जुत्ताले अझ चम्काउन सक्छ ।

सन् १९२४ मा उनले आफ्ना दाजु रुडोल्फ डास्लरसँग मिलेर ‘डास्लर ब्रदर्स शू फ्याक्ट्री’ स्थापना गरे ।

एक जना उत्पादनमा दक्ष थिए भने अर्का बिक्री र बजार विस्तारमा लागे । दाजुभाइको यो साझेदारीले चाँडै सफलता पाउन थाल्यो । उनीहरूको जुत्ता जर्मनीका खेलाडीमाझ लोकप्रिय बन्दै गयो ।

तर वास्तविक मोड सन् १९३६ को बर्लिन ओलम्पिकमा आयो, जब अमेरिकी धावक जेस्सी ओवेन्सले डास्लरको जुत्ता लगाएर चार स्वर्ण पदक जिते ।

नाजी जर्मनीको बीचमा एक अश्वेत अमेरिकी खेलाडीको त्यो ऐतिहासिक सफलतासँगै डास्लर जुत्ताको नाम विश्वभर फैलियो ।

तर सफलताको त्यो यात्रा लामो समय सहज रहेन । दोस्रो विश्वयुद्धले जर्मनी मात्र होइन, डास्लर परिवारको व्यापारलाई पनि ध्वस्त पा¥यो । युद्धपछि दाजुभाइबीच सम्बन्ध बिग्रियो र अन्ततः उनीहरू अलग भए । यो फुटबल र खेल सामग्री उद्योगकै सबैभन्दा चर्चित विभाजनमध्ये एक मानिन्छ । रुडोल्फले पछि प्यूमा स्थापना गरे भने आदीले आफ्नै बाटो रोजे ।

सन् १९४९ मा आदी डास्लरले नयाँ कम्पनी दर्ता गरे, एडिडास । ‘आदी’ र ‘डास्लर’ शब्दको संयोजनबाट बनेको यो नाम पछि विश्वव्यापी ब्रान्डमा परिणत भयो ।

त्यही वर्ष उनले जुत्तामा तीनवटा समानान्तर स्ट्राइप थपे, जुन पछि एडिडासको स्थायी पहिचान बन्यो । आज ती तीन स्ट्राइप्स खेल संसारकै सबैभन्दा चिनिने प्रतीकमध्ये एक हुन् ।

सन् १९५४ को विश्वकप एडिडासका लागि अर्को ऐतिहासिक क्षण बन्यो। ।

फाइनलमा पश्चिम जर्मनीले बलियो हंगेरीलाई हराउँदा टोलीका खेलाडीले एडिडासका स्क्रु गरेर फेर्न मिल्ने स्टड भएका जुत्ता लगाएका थिए ।

वर्षाले भिजेको मैदानमा ती जुत्ताले राम्रो पकड दिएको मानिन्छ । ‘मिरेकल अफ बर्न’ भनेर चिनिने त्यो जितले एडिडासलाई विश्व फुटबलको केन्द्रमा पु¥यायो ।

त्यसपछि एडिडासले केवल खेल सामग्री मात्र बनाएन, उसले खेल संस्कृतिलाई नै आकार दिन थाल्यो ।

साम्बा, सुपरस्टार, स्टान स्मिथ, गाजेलजस्ता मोडेलहरू खेल मैदानबाट बाहिर निस्केर सडक र फेसन संस्कृतिको हिस्सा बने । एडिडास अब जुत्ता कम्पनी मात्र रहेन, जीवनशैलीको प्रतीक बनिसकेको थियो ।

फुटबलका महान् खेलाडीहरूसँग साझेदारी

समयसँगै कम्पनीले फुटबलका महान् खेलाडीहरूसँग साझेदारी गर्न थाल्यो । एडिडासले मेस्सीलाई मात्र प्रायोजन गरेन, उनीसँगै बढ्यो । र, यही क्रममा एउटा नाम एडिडासको इतिहाससँग गहिरोसँग जोडियो, लियोनियल मेस्सी ।

मेस्सीको जादुई बायाँ खुट्टा र एडिडासको प्रविधिबीचको सम्बन्धले ब्रान्डलाई नयाँ उचाइमा पु¥यायो । मेस्सीका लागि विशेष रूपमा डिजाइन गरिएका बुटहरूले केवल गोल गर्न मद्दत गरेनन्, ती विश्व फुटबलका प्रतीक बने ।

आज एडिडास विश्वका १०० भन्दा बढी देशमा उपस्थित छ । अरबौं डलरको कारोबार गर्ने यो कम्पनीले खेल, फेसन र संस्कृतिलाई एउटै सूत्रमा बाँधेको छ ।

तर यसको जग भने अझै त्यही पुरानो विचारमा अडिएको छ, जुन आदी डास्लरले एक शताब्दीअघि देखेका थिए, राम्रो जुत्ताले खेलाडीको प्रदर्शन बदल्न सक्छ ।

किन सफल भयो यो साझेदारी ?

एडिडास र मेस्सीबीचको साझेदारी सफल हुनुका पछाडि केवल उनको खेल कौशल मात्र होइन, उनको विनम्र स्वभाव, निरन्तर मेहनत र खेलप्रतिको समर्पण पनि प्रमुख मानिन्छ । विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक मानिने मेस्सीले धेरै वर्षदेखि आफ्नो प्रदर्शनमार्फत विश्वभरका समर्थकहरूको विश्वास जितेका छन् ।

एडिडासले मेस्सीका लागि विशेष रूपमा डिजाइन गरिएका जुत्ता तयार गर्छ, जसको विकास प्रक्रियामा उनका सुझाव र अनुभवलाई पनि महत्त्वका साथ समावेश गरिन्छ। यही पारस्परिक विश्वास र सहकार्यले यो साझेदारीलाई खेलकुद इतिहासकै सबैभन्दा सफल ब्रान्ड–खेलाडी सम्बन्धमध्ये एक बनाएको छ ।

लियोनल मेसी
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय