१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘आइ’ अन्तर्गत आज दुई रोमाञ्चक र रणनीतिक खेलहरू हुँदैछन् ।
आज हुने पहिलो ठूलो खेलमा दुई युरोपेली महाशक्तिहरू फ्रान्स र नर्वे समूह विजेता बन्नका लागि आमनेसामने हुँदैछन् ।
प्रशिक्षक डिडिएर डेसच्याम्पको फ्रान्स र प्रिमियर लिगका सुपरस्टारहरूले भरिएको नर्वे दुवैले यसअघि शानदार प्रदर्शन गर्दै आफूलाई उपाधि दाबेदार प्रमाणित गरिसकेका छन् ।
अर्कोतर्फ, सोही समूहको दोस्रो खेलमा अफ्रिकी लायन्स सेनेगल र एसियाली सिंह इराक नकआउट चरणको टिकट काट्नका लागि ‘जसरी पनि जित्नै पर्ने’ दबाबका साथ मैदान उत्रँदैछन् ।
सेनेगलको तुलनामा इराकको भने छनोट सम्भावना कम छ । यद्यपी दुवै टोली बाहिरिसकेका छैनन् र खेलको विजेताले अघिल्लो चरणको झिनो सम्भावना कायमै राख्न सक्छ ।
फ्रान्स र नर्वेसँगको कठिन चुनौतीपछि सेनेगल र इराकका लागि यो खेल फाइनल सरह बनेको छ ।
फ्रान्स भर्सेस् नर्वे
फ्रान्स र नर्वेबीच अन्तर्राष्ट्रिय फुटबलमा लामो इतिहास छ । यी दुई टोली हालसम्म १५ पटक आमनेसामने भएका छन्, जसमा फ्रान्सले ८ खेल जितेको छ भने नर्वेले ४ खेलमा जित निकालेको छ र ३ खेल बराबरीमा सकिएका छन् ।
विश्वकपको मुख्य मञ्चमा भने यी दुई टोलीको यो विरलै हुने भिडन्त हो । नर्वेको हालको टोली इतिहासकै सबैभन्दा बलियो आक्रामक टोली मानिएकाले फ्रान्सको विश्वस्तरीय डिफेन्सका लागि यो ठूलो परीक्षा हुनेछ ।
प्लेयर्स टु वाच
किलियन एमबाप्पे (फ्रान्स – स्ट्राइकर) : फ्रान्सका कप्तान तथा मुख्य गोल मेसिन एमबाप्पेको गति र ‘फिनिसिङ’ क्षमता नर्वेको डिफेन्सका लागि खेलभरि नै सबैभन्दा ठूलो खतरा हुनेछ ।
माइकल ओलिसे (फ्रान्स – मिडफिल्डर) : बायर्न म्युनिखका यी विष्फोटक स्टार हाल फ्रान्सको आक्रमणमा सिर्जनशीलता भर्ने र एमबाप्पेका लागि पास निकाल्ने मुख्य खेलाडी हुन् ।
एर्लिङ हालान्ड (नर्वे – स्ट्राइकर) : म्यानचेस्टर सिटीका गोल मेसिन हालान्ड नर्वेको आक्रमणका मुख्य इन्जिन हुन्, जसले फ्रान्सको शारीरिक रूपमा कडा डिफेन्सलाई भत्काउने क्षमता राख्छन् ।
मार्टिन ओडेगार्ड (नर्वे – मिडफिल्डर) : नर्वेका कप्तान तथा प्लेमेकर ओडेगार्डले मैदानको मध्यभागबाट खेलको लय नियन्त्रण गर्दै हल्याण्डका लागि सटिक ‘थ्रु-पास’हरू निकाल्नेछन् ।
हालान्ड भर्सेस् एमबाप्पे
नर्वे र फ्रान्स एकआपसमा खेल्दै गर्दा यो खेल विश्व फुटबलका दुई उत्कृष्ट स्ट्राइकरबीचको भिडन्त पनि हुनेछ । एर्लिङ हालान्ड र किलियन एमबाप्पेबीचको रोचक भिडन्तका रूपमा पनि यस खेललाई हेरिएको छ ।
जारी विश्वकपमा दुवै खेलाडी गोल्डेन बुटको दौडमा पनि सँगै छन् । दुवै खेलाडीले २ खेलमा ४ गोल गरेका छन् । पहिलो विश्वकप खेलिरहेका हालान्ड सुखद डेब्यूमा रमाइरहेका छन् भने विश्व च्याम्पियन भइसकेका एमबाप्पे दबदबा कायमै राख्न चाहनेछन् ।
सेनेगल भर्सेस् इराक
सेनेगल र इराकबीच फुटबल इतिहासमा यसअघि कहिल्यै पनि कुनै आधिकारिक वा मैत्रीपूर्ण खेल भएको छैन । विश्वकपको यो ऐतिहासिक पहिलो भेटमा दुवै टोली नयाँ इतिहास रच्ने तयारीमा छन् ।
सेनेगलसँग विश्वकपमा एसियाली टोलीहरू विरुद्ध खेलेको राम्रो अनुभव छ भने इराकका लागि शारीरिक रूपमा बलियो र तीब्र गतिको अफ्रिकी खेल शैली विरुद्ध मैदान उत्रनु एउटा नयाँ रणनीतिक चुनौती हुनेछ ।
प्लेयर्स टु वाच
साडियो माने (सेनेगल – फरवार्ड) : सेनेगलका लेजेन्डरी स्टार माने राष्ट्रिय टोलीका मुख्य ढुकढुकी हुन्, जसको अनुभव र आक्रामक नेतृत्व यो दबाबपूर्ण खेलमा निर्णायक हुनेछ ।
कालिडो कुलिबाली (सेनेगल – डिफेन्डर) : कप्तान कुलिबालीले सेनेगलको रक्षापङ्क्तिलाई चट्टान जस्तै मजबुत राख्दै इराकका अग्ला कदका फरवार्डहरूलाई बक्सभित्र नियन्त्रणमा राख्नेछन् ।
आयमेन हुसेन (इराक – स्ट्राइकर) : इराकका प्रमुख गोलकर्ता हुसेन आफ्नो उत्कृष्ट शारीरिक उचाइ र ‘एरियल एबिलिटी’का लागि चिनिन्छन्, जो सेट-पिसहरूमा हेडमार्फत गोल निकाल्न माहिर छन् ।
अलि जसिम (इराक – विङ्गर) : इटालीको कोमोमा आबद्ध युवा स्टार जसिम इराकको आक्रमणका मुख्य प्लेमेकर हुन्, जसको गतिले सेनेगलको डिफेन्सलाई दबाबमा राख्नेछ ।
प्रतिक्रिया 4