+
+
Shares

के आरोपमा सुमार्गीमाथि अनुसन्धान चलिरहेको हो ?

विभागले अनुसन्धान अधिकृतहरूको टोली नै गठन गरेर करिब एक दशक पुरानो कारोबारमाथि छानबिन थालेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते १४:१०

१२ असार, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेय सुमार्गीको शंकास्पद कारोबारमाथि अनुसन्धान अघि बढाएको छ ।

विभागले अनुसन्धान अधिकृतहरूको टोली नै गठन गरेर करिब एक दशक पुरानो कारोबारमाथि छानबिन थालेको हो । त्यसक्रममा उनको पासपोर्ट समेत रोक्का गरिसकेको छ ।

‘उहाँको बारेमा अनुसन्धान गर्ने सिलसिलामा अनुसन्धान अधिकारीहरूले पासपोर्ट रोक्काको लागि अध्यागमन विभागमा पत्राचार गरेका हुन्’ विभागसम्वद्ध स्रोतले भन्यो, ‘अनुसन्धान चलिरहेका बेला कतै विदेश जान नपाउन भन्ने उद्देश्यले पासपोर्ट रोक्का गरिएको हो ।’

के-के छन् आरोप ?

व्यवसायी सुमार्गीले २०६४ पछिका झण्डै एक दशकमा नेपालमा विभिन्न व्यवसायहरू विस्तार गरी तिनमा वैदेशिक लगानी भित्र्याउने योजना बनाएका थिए । ती योजना अनुसार उनले करमा सहुलियत भएका र सेल कम्पनी स्थापनाका लागि उदार मानिने मुलुकहरूबाट लगानी भित्र्याउने योजना बनाएको विभिन्न कागजातहरूबाट भेटिन्छ ।

उदाहरणको लागि, सुमार्गीको लगानी भएको स्याटेलाईट टेलिकम प्रालिले जनवरी, २०१० मा साइप्रसस्थित एयरवेल सर्भिसेज लिमिटेडबाट ८५ मिलियन अमेरिकी डलर ल्याउने भनेको थियो ।

त्यतिबेलाको विनिमय दर(एक अमेरिकी डलर ७५ रुपैयाँ)का दरले हुने हिसाब गर्दा त्यो रकम ६ अर्ब ३७ करोड रुपैयाँ हो ।

सुमार्गीले स्थापना गरेको मुक्तिश्री सिमेन्टका लागि पनि त्यसैगरी ‘वैदेशिक लगानी’ भित्रियो । सुमार्गीले ब्रिटिश भर्जिन आइल्याण्डस्थित विदेशी लगानीकर्ता कम्पनी जोधार इन्भेष्टमेन्ट लिमिटेडबाट ४५ मिलियन अमेरिकी डलर ल्याउने योजना बनाए । उनले करिब ३५ मिलियन डलर त नेपाल ल्याएका पनि थिए ।

नेपाल र नेपालीसँग टाढाको पनि साइनो नभएको सानो टापु मुलुकबाट बारम्बार रकम भित्रिन थालेपछि नेपाल राष्ट्र बैंकले त्यो लगानीमाथि निगरानी थालेको थियो ।

शंकास्पद कारोबारबारे रिपोर्टिङ भएपछि तत्कालीन गभर्नर डा. युवराज खतिवडाले ‘गम्भीरताका साथ अनुसन्धान गर्नु’ भनी निर्देशन दिएका थिए ।

ब्रिटिश भर्जिन आइल्याण्ड कर छुट र सेल कम्पनीहरूका लागि प्रसिद्ध ठाँउ हो, जहाँबाट नेपालमा बारम्बार लगानी भित्रिएको थियो । २०६६/६७ साल सेरोफेरोमा बारम्बार रकम भित्र्याउने प्रयास भएको थियो ।

चलखेल र मिलेमतोका कारण, उद्योग विभाग र राष्ट्र बैंकबाट समेत रकम भित्र्याउने अनुमति दिइएको थियो ।

उजुरी र त्यसपछिका पत्राचारबाट प्रारम्भिक अनुसन्धान हुँदा व्यवसायी सुमार्गीका कैफियतहरू भेटिन थाले । उनले सम्पत्तिका स्रोत खोजिने मामिलामा उदार भएका ठाँउबाट आफूले पैसा पठाएको र नेपालमा आफ्ना विभिन्न कम्पनीहरूमा लगानी भनेर रकम भित्र्याउन खोजेको भेटियो ।

विभिन्न इन्भेष्टमेन्ट कम्पनीहरूको नाम दिइएपनि रकम पठाउने व्यक्ति समेत ‘अजयराज सुमार्गी पराजुली’ भनी उल्लेख गरेको भेटियो ।

त्यतिबेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेका आन्तरिक पत्राचारहरूमा थियो, ‘एकै व्यक्तिले निजसँग सम्बन्धित कम्पनीले प्राप्त गर्ने विदेशबाट ऋण लगानी भनिएको रकम पठाइएको हुँदा उक्त कारोबार शंकास्पद देखिएको छ ।’

मुक्तिश्री सिमेन्ट होस् या स्मार्ट टेलिकम सुमार्गीले एउटै शैलीमा रकम भित्र्याएको भेटिएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यतिबेला वैदेशिक लगानीको आवरणमा शंकास्पद र गैरकानूनी रकम नेपाल भित्र्याउन खोजेको हुनसक्ने आशंका गरेको थियो ।

‘रकम पठाउने व्यक्तिको नाम अजयराज सुमार्गी पराजुली भन्‍ने देखिएको तथा रकम प्राप्त गर्नेको नाम मुक्तिश्री सिमेन्ट उद्योग प्रा.लि. भन्‍ने देखिएको हुँदा एकै व्यक्तिले निजसँग सम्बन्धित कम्पनीले प्राप्त गर्ने गरी विदेशबाट ऋण लगानी भनी पठाएको रकमको कारोबार शंकास्पद देखिएको’ विभागले प्रारम्भिक अनुसन्धानपछि सर्वोच्च अदालतमा गरेको पत्राचारमा भनेको थियो, ‘यस मामिलामा सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गतको कारबाही चलाउनुपर्ने देखिएको ।’

करिब एक दशक अघिदेखि नै सुमार्गीको शंकास्पद सम्पत्तिमाथि अनुसन्धान अघि बढेपनि राजनीतिक संरक्षणले भएको हस्तक्षेपका कारण अनुसन्धान अघि बढेन । राष्ट्र बैंकले शंकास्पद रकम रोक्ने प्रयास गरेपनि पटकपटकको अन्तरिम आदेशबाट रकम फुकुवा भएर सुमार्गी आवद्ध कम्पनीहरूले कारोबार गरेका थिए । एउटा कारोबारमा त सर्वोच्च अदालतले भुक्तानी भइसकेको रकम खोजेर फिर्ता गर्नु भनेर समेत आदेश दिएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको एक अध्ययन अनुसार, सुमार्गीले २०७० सालपछिका केही वर्षमा करिव १२ अर्ब रुपैयाँ नेपाल भित्र्याइसकेका थिए भने करिब करिब त्यति नै रकम भित्र्याउने तयारीमा थिए ।

तर राष्ट्रबैंकले बारम्बार हस्तक्षेप गरेर अनुसन्धान अघि बढाएपछि उनको प्रयास अवरुद्ध भएको थियो । तत्कालीन विनिमय दर अनुसारको करिब २२ अर्बमध्ये उनले एक तिहाईभन्दा बढी रकम विभिन्न खातामा ट्रान्सफर गरिसकेका थिए । एक डलर बराबर ७५ रुपैयाँ हुँदाको उक्त रकम अहिलेको विनिमय दर अनुसार हिसाब गर्ने हो भने उक्त रकम दोब्बर अर्थात ४४ अर्ब रुपैयाँ बराबर हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अध्ययन अनुसार उक्त रकम ब्रिटिस भर्जिन आइल्याण्ड, साइप्रस, लगायत ‘ट्याक्स हेभन’ मुलुकबाट नेपाल भित्र्याएका थिए । अध्ययन अनुसार, उनी मात्रै होइन, उनका परिवारका सदस्य र नातेदारका नाममा समेत रकम आएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान सम्बद्ध स्रोतले लामो समयदेखि अवरुद्ध सुमार्गीको कारोबारबारे अहिले अनुसन्धान अघि बढिरहेको बतायो ।

‘राजनीतिक हस्तक्षेपको कारणले वर्षौंदेखि अनुसन्धान अघि बढ्न सकेको थिएन’ स्रोतले भन्यो, ‘अहिले भने धमाधम काम भइरहेको छ । अब टुंगोमा पुग्छ होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?