News Summary
Generated by OK AI. Editorially reviewed.- लेखिकाले आफ्ना बाबुलाई आधुनिक स्वार्थी संसारमा आफ्नो अस्तित्व जोगाउन कठोर बन्न सिकाएको अनुभव मार्मिक रूपमा प्रस्तुत गरेकी छन्।
- अत्यधिक करुणाका कारण बाबुको सोझोपनलाई समाजले शोषण र अपमानको माध्यम बनाएको उनले उल्लेख गरेकी छन्।
- लेखिकाले बाबुलाई प्रेम कुनै प्रतीक्षालय नभई सम्मान र स्पष्टताको विषय भएको पाठ सिकाएर आफ्नो सिमाना कोर्न प्रेरित गरेकी छन्।
संसारमा मानिसहरू म तिमीलाई प्रेम गर्छु’ भन्नका लागि शब्दको सहारा लिन्छन्, तर मेरा बाबुका लागि प्रेम कुनै भाषा थिएन, त्यो त केवल उपलब्धता थियो।
उनी यसरी बाँचे कि कसैले उनलाई आधा रातमा बोलाओस् वा कसैलाई आफ्नो स्वार्थ सिद्ध गर्नु पर्ने होस्, बाबु सधैं त्यहाँ खडा भइदिन्थे।
उनको प्रेमको व्याकरण नै यही थियो आफूलाई पूर्ण रूपमा रित्त्याएर अर्काको भाँडो भरिदिनु। जब समाजका ती चलाख शिकारीहरू उनलाई प्रयोग र शोषण गर्नका लागि आफ्नो बाटो नै मोडेर आउँथे, बाबु उनीहरूका लागि आफ्नो इज्जत, आफ्नो सामाजिक कद र आफ्नो सर्वस्वको ढोका खुल्ला राखिदिन्थे।
उनले कहिल्यै कसैको नियतमाथि शंका गरेनन्। उनको सनकी आदर्श थियो कि यदि कोही तिम्रो ढोकामा आएको छ भने, आफ्नो गोजी र मुटु दुवै खाली गरेर भए पनि उसलाई बचाउनुपर्छ।
तर उनले बुझेनन् कि जुन मानिसहरू उनको उदारताको छहारीमा बस्न आउँथे, तिनीहरू नै बाहिर निस्केर उनको नाममा हिलो छ्याप्थे, उनको प्रतिष्ठालाई बजारमा कौडीको भाउमा बेचिदिन्थे।
म उनको यो देवत्वकरणको विलाप हेरेर हुर्किएँ। सुरुमा मैले उनले देखाएको करुणाकै बाटोलाई अकाट्य सत्य मानेर पछ्याएँ, किनकि म आफ्ना बाबुलाई अगाध प्रेम गर्थें। तर जब मैले देख्न थालें कि उनको यो असीमित उपलब्धता ले हाम्रो परिवारलाई बिस्तारै विनाशको खाडलतर्फ धकेल्दै छ, मेरो भित्री आत्मसम्मान बिद्रोह गरेर उठ्यो।
बाबु सोच्थे कि प्रेम दिएपछि प्रेम नै फिर्ता आउँछ। तर यो क्रूर धरातलमा उनको त्यो पवित्र सोच पूर्ण रूपमा असफल भइसकेको थियो। मानिसहरू उनलाई कमजोर सम्झन्थे, उनको सद्भावलाई उनको लाचारी ठान्थेँ।
अनि जब समाजले उनीमाथि मनगढन्ते, रचनात्मक र भयानक अफवाहहरू फैलाउन थाल्यो यस्ता अफवाहहरू जुन यति विशिष्ट हुन्थे कि त्यसको प्रतिवाद गर्दा उल्टै आफैं दोषी देखिने खतरा हुन्थ्यो तब बाबु भने ती षड्यन्त्रहरूलाई हेरेर मुस्कुराउँथे र भन्थे, कस्तो प्रभावशाली कथा बुनेछन् मेरो बारेमा
तर म साहसी थिएँ, म स्पष्टवादी थिएँ र जब म ती दुईमुखे मानिसहरूको मुख बन्द गराउन सक्दिनथें, म पराजित महसुस गर्थें, म उनलाई हाम्रो पुस्ताको एउटा अचम्मको सत्य पनि सुनाउँथेँ।
त्यसपछि नै हो, मैले आफ्नो कोमलताको कफन बाँधेर आफ्नै बाबुका लागि सबैभन्दा क्रूर र रूखो बन्ने निर्णय लिएको। उनी जतिबेला पनि मलाई केही भन्थे, म सीधा उनको मुटुमै बिझाउने गरी तीखो जवाफ दिन्थें।
म उनलाई भित्रैदेखि हल्लाउन चाहन्थें। म उनलाई यो महसुस गराउन चाहन्थें कि यदि उनी सधैं यसरी नै सबैका लागि उपलब्ध भइरहने हो भने, उनले सबैभन्दा बढी प्रेम गर्ने उनकी आफ्नै छोरीले समेत उनको मुटु यसरी नै टुक्रा-टुक्रा पारिदिन सक्छे।
यो संसार त अझ कति भयानक होला! मैले उनलाई एउटा पुरुष बन्न, कठोर बन्न र आफ्नो सिमाना कोर्न सिकाउनका लागि आफ्नै बाबू छोरीको सम्बन्धको मधुरतालाई आहुति दिएँ।
मैले उनलाई भने कि यो संसारमा अर्बौं सम्पत्ति भएका मानिसहरूले पनि आफ्नो साधन र भावना यसरी सडकमा छर्दैनन्, तर तपाईं आफ्ना सीमित स्रोतहरू हुँदाहुँदै पनि सिंगो ब्रह्माण्डको बोझ एक्लै बोक्न खोज्दै हुनुहुन्छ, जसले गर्दा तपाईंको आफ्नो अस्तित्व हिलोमा भासिँदै छ।
मैले बाबुलाई हाम्रो पुस्ताको त्यो भयानक र आधुनिक सत्यको ऐना देखाएँ, जसलाई उनले कहिल्यै बुझ्नै सक्दैनथे। यो त्यो पुस्ता हो, बाबु, जहाँ दुईजना मानिसहरू एकअर्काको ध्यान आकर्षित गर्नका लागि नै एकअर्कालाई बेवास्ता गर्ने क्रूर खेल खेलिरहेका हुन्छन् ।
आजको संसारमा भावना देखाउनु भनेको पराजित हुनु हो। यहाँ मानिसहरू कसैको सन्देश देख्दा पनि रणनीतिक रूपमा तीन दिनसम्म जवाफ नदिई बस्छन्, ताकि आफू कति महँगो र अनुपलब्ध छु भन्ने भ्रम छर्न सकियोस्।
आजको पुस्ता ‘रणनीतिक मौनता’ मा बाँचिरहेको छ। दुवैजना आफ्नो फोन हेर्छन्, दुवैलाई एकअर्काको उत्तिकै पर्वाह छ, तर कोही पनि पहिलो सन्देश पठाउन चाहँदैन, किनकि पहिलो कदम चाल्नु भनेको आफ्नो अहङ्कारको युद्धमा हार्नु हो।
यो मानिसहरूले एकअर्कालाई मन नपराएर होइन, बरु मन पराउँदा पराउँदै पनि उदासीन देखिने बहानाको नाटकमा प्रतिबद्ध भएकाले हो। मानिसहरू प्रेमलाई एउटा प्रतीक्षालय बनाइदिन्छन्, जहाँ अर्को व्यक्ति कतिन्जेल तड्पिन्छ भनेर मूल्याङ्कन गरिन्छ।
“तर तपाईं, बाबु?” मैले उनीमाथि चिच्याउँदै भनें, “तपाईं यो रणनीतिक संसारको नियमभन्दा धेरै टाढा हुनुहुन्छ। तपाईंमा न त त्यो धैर्यता छ, न त त्यो रणनीतिक मौनता बस्ने कुटिलता।
तपाईं कसैको दुःख देख्ने बित्तिकै, कसैको सन्देश पाउने बित्तिकै आफ्नो सम्पूर्ण काम छोडेर उपलब्ध भइदिनुहुन्छ। तपाईं दोहोर्याएर म्यासेज पठाउन हिचकिचाउनुहुन्न, तपाईं आफ्ना भावनाहरू लुकाउन जान्नुहुन्न।
तपाईंको यही ‘अत्यधिक’ हुने र छिट्टै पग्लिने बानीलाई यो आधुनिक संसारले आफ्नो स्वार्थ अनुकूल प्रयोग गरिरहेको छ र तपाईंलाई पैताला मुनि कुल्चिरहेको छ।
तपाईंको सबैभन्दा ठूलो अभिशाप नै यही हो कि तपाईं कसैलाई घृणा गर्नै सक्नुहुन्न, किनकि तपाईंको अत्यधिक सहानुभूतिले सधैं शत्रुको पनि मानसिक पृष्ठभूमि र बाल्यकालको खोजी गरेर उसलाई निर्दोष साबित गरिदिन्छ!
मलाई एउटा सफा, स्पष्ट खलनायक चाहिन्छ बाबु, जसलाई म मनैदेखि घृणा गर्न सकूँ, तर तपाईंको करुणाले मलाई त्यो अधिकार पनि दिँदैन।”
मैले बाबुको हात समातेर अन्तिम पटक सत्यको त्यो महातीखो कश दिएँ: “तपाईं कसैको जीवनको एउटा विकल्प मात्र बन्नका लागि यति धेरै प्रेमले भरिनुभएको होइन।
तपाईं यति विचारशील, यति दृढ र पूर्ण रूपमा समर्पित हुन सक्ने मानिस भएर पनि कसैको अनिश्चितताको प्रतीक्षालयमा बस्न सक्नुहुन्न। यदि यो संसार तपाईंको मूल्य बुझ्न अलमल्लमा छ भने, त्यो उनीहरूको अयोग्यता हो, तपाईंको चुनौती होइन।
तपाईंले कसैलाई आफ्नो महत्त्व प्रमाणित गर्नका लागि अझ बढी धैर्य, अझ बढी समझदार वा अझ बढी सहज बनिदिनु पर्दैन ताकि उसले तपाईंलाई स्वीकार गर्ने फुर्सद पाओस्।
प्रेम कुनै प्रतीक्षालय होइन जहाँ तपाईं आफ्नो पालो कुरेर बसिरहनुहोस्। यदि तपाईंसँग दिने गहिराइ, निरन्तरता र साँचो स्नेह छ भने, त्यसको बदलामा तपाईंले स्पष्टता र पूर्ण सम्मान पाउनुपर्छ।
कसैको विकल्प बनेर बाँचिरहनुले मानिसलाई भित्रभित्रै रित्तो बनाउँदै लैजान्छ। तपाईं आफैंलाई शंका गर्न थाल्नुहुन्छ, तपाईं उनीहरूलाई खुसी पार्नका लागि आफ्नो अस्तित्वलाई नै खुम्च्याउन थाल्नुहुन्छ।
तर सही मानिस वा सही समाजले तपाईंलाई स्वीकार गर्ने कि नगर्ने भनेर मूल्याङ्कन गर्न समय लिँदैन, उनीहरूले तपाईंको मूल्यलाई तुरुन्तै महसुस गर्छन् र त्यसै अनुसार व्यवहार गर्छन्।
त्यसैले, यदि तपाईं प्रेमले यति धेरै भरिनुभएको छ भने, यसलाई ती मानिसहरूका अगाडि टुक्रा-टुक्रा गरेर नफाल्नुहोस् जो आफैं अनिश्चित छन्।
या त तपाईंलाई पूर्ण सम्मानका साथ स्वीकार गरिनुपर्छ, अन्यथा हामी आफ्नो बाटो लाग्नुपर्छ, कहिलेकाहीं प्रेम, करुणा र दया को जवाफ तपाईको अपेक्षइत ठाउँ बाट फर्किएर आउदैन।”
मेरो रूखो र कठोर प्रहारले बाबुको त्यो शालीन र कोमल मुटुमा गहिरो रगत बगाइरहेको थियो, तर मलाई थाहा थियो उनलाई यो निष्ठुर र रणनीतिक संसारमा जीवित राख्नका लागि मैले उनको अगाडि एउटी क्रूर छोरी बन्नु नै नियतिको सबैभन्दा ठूलो र अन्तिम न्याय थियो।
पुस्ताको यो खाडलमा, उनले मलाई करुणा सिकाएका थिए, तर मैले उनलाई अस्तित्व रक्षाका लागि कठोर बन्ने त्यो परम ज्ञान दिएँ, जसले गर्दा आज हाम्रो विनाशको यात्रा रोकिएको छ र बाबुले पहिलो पटक आफ्नो सिमाना कोर्न सिकेका छन्।
(लेखक पाठक अधिवक्ता हुन् ।)
प्रतिक्रिया 4