News Summary
Generated by OK AI. Editorially reviewed.- युट्युबले क्रिएटरहरूलाई मोनिटाइजेशन र च्यानलको अवस्था सजिलै बुझ्न मद्दत गर्ने उद्देश्यले युट्युब स्टुडियोमा नयाँ फिचरहरू सार्वजनिक गरेको छ ।
- युट्युब स्टुडियोको कन्टेन्ट ट्याबमा नोटिसेज कोलम थपिएको छ, जसले भिडियोको प्रतिबन्ध र कमाइको अवस्थालाई रातो, पहेँलो र खैरो सङ्केतबाट स्पष्ट पार्नेछ ।
- नयाँ अकाउन्ट स्टाटस पेजमार्फत क्रिएटरहरूले कपीराइट र कम्युनिटी गाइडलाइन स्ट्राइकको विवरण एकै ठाउँमा हेर्न सक्नेछन्, जुन हाल मोबाइल एपमा मात्र उपलब्ध छ ।
युट्युबले क्रिएटरहरूलाई आफ्नो अकाउन्टको अवस्था र विशेषगरी मोनिटाइजेशन स्टाटसलाई सजिलैसँग बुझ्न सहयोग गर्ने उद्देश्यले नयाँ अपडेटहरू सार्वजनिक गरेको छ ।
यसका लागि कम्पनीले युट्युब स्टुडियोको डिस्प्लेमा महत्त्वपूर्ण परिवर्तनहरू गरेको छ । यस अन्तर्गत, भिडियोका समस्याहरूको एकीकृत सूची, अनुमानित कमाइको नयाँ डिस्प्ले र रिपोर्ट मनिटरिङमा सुधार जस्ता सुविधाहरू थपिएका हुन् ।
पहिलो परिवर्तन अन्तर्गत युट्युबले युट्युब स्टुडियोभित्र रहेको ’कन्टेन्ट ट्याब’ लाई नयाँ स्वरूपमा रिडिजाइन गरेको छ । यो ट्याबमा अब भिडियोसँग सम्बन्धित सबै अलर्ट वा चेतावनीहरूलाई एउटै ठाउँमा देखाउनका लागि छुट्टै ‘नोटिसेज’ कोलम थपिएको छ । युट्युबको यो नोटिसेज कोलमले हाल उपलब्ध रहेका मोनेटाइजेसन र रेस्ट्रिक्सन कोलमहरूलाई विस्थापित गर्नेछ ।

यस सूचीमा भिडियोको अवस्था बुझाउनका लागि स्पष्ट सङ्केतहरू राखिएका छन् । यसमा रातो रङले भिडियो बन्द भएको वा कमाइ गर्न अयोग्य रहेको पूर्ण प्रतिबन्धलाई जनाउँछ । पहेँलो रङले सीमित विज्ञापन कमाइ वा उमेर प्रतिबन्ध जस्ता आंशिक प्रतिबन्धलाई सङ्केत गर्छ । खैरो रङले भने एउटा जानकारीमूलक सूचनालाई जनाउँछ जसले तुरुन्तै कुनै प्रतिबन्ध ल्याउँदैन ।

क्रिएटरहरूले प्रत्येक सूचनाको माथि माउसको क्रसर राखेर (होभर गरेर) समस्याको मुख्य कारण र त्यसलाई समाधान गर्ने सीधा उपाय समेत हेर्न सक्नेछन् । यसले गर्दा गल्तीहरू बुझ्न र सच्याउन धेरै सजिलो हुनेछ । यसबाट क्रिएटरहरूले आफ्ना भिडियोहरूबाट अधिकतम कमाइ गर्न सक्ने सुनिश्चित हुनेछ ।
युट्युबले अनुमानित कमाइ (इस्टिमेटेड रेभेन्यु) का लागि पनि एउटा नयाँ कोलम थपेको छ । यसले प्रत्येक भिडियोको कमाइलाई एउटा सरल ओभरभ्युमा देखाउनेछ । अन्तिममा, युट्युबले एउटा नयाँ ‘अकाउन्ट स्टाटस’ पेज पनि थपेको छ ।

यस पेजले च्यानलका मुख्य समस्याहरू जस्तै मोनेटाइजेसनका समस्या, कपीराइटका समस्या र कम्युनिटी गाइडलाइन स्ट्राइकहरूको पूर्ण विवरण एकै ठाउँमा उपलब्ध गराउनेछ । यी अपडेटहरूले क्रिएटरहरूलाई च्यानलको वृद्धि रोक्न सक्ने सम्भावित समस्याहरू बुझ्न धेरै सजिलो बनाउनेछन् ।
यसले गर्दा गल्तीहरू पहिचान गर्न र तिनलाई सुधार्न लाग्ने धेरै समय बचत हुनेछ । युट्युबका अनुसार यो नयाँ अकाउन्ट स्टाटस पेज अहिले एन्ड्रोइड र आईओएस दुवैका लागि युट्युब स्टुडियो मोबाइल एपमा उपलब्ध भइसकेको छ ।
तर यो सुविधा अहिलै डेस्कटप भर्सनमा भने उपलब्ध भइसकेको छैन ।
प्रतिक्रिया 4