+
+
Shares

वर्षा नहुँदाको पिरलो : कतै रोपाइँ भएन, कतै रोपेकै खेतमा चिरैचिरा

सामान्यतया: असारको मध्यसम्म यहाँ आधाभन्दा बढी क्षेत्रमा रोपाइँ सम्पन्न भइसक्थ्यो । तर, यसवर्ष सरदर भन्दा कम रोपाइँ भएको छ । रोपेकै खेतमा पनि सिँचाइका लागि पर्याप्त पानी नहुँदा चिरैचिरा देखिन थालेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १८:०१

१५ असार, महेन्द्रनगर । धान उत्पादनका लागि उर्वर भूमि मानिने कञ्चनपुरमा यसवर्ष समयमै वर्षा नहुँदा रोपाइँ प्रभावित भएको छ ।

सामान्यतया: असारको मध्यसम्म यहाँ आधाभन्दा बढी क्षेत्रमा रोपाइँ सम्पन्न भइसक्थ्यो । तर, यसवर्ष सरदर भन्दा कम रोपाइँ भएको छ ।रोपेकै खेतमा पनि सिँचाइका लागि पर्याप्त पानी नहुँदा चिरैचिरा देखिन थालेका छन् ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार असार १५ सम्म जिल्लामा करिब ४५ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको छ ।

गतवर्ष सोही अवधिमा ५५ प्रतिशत बढी क्षेत्रमा रोपाइँ सकिएको थियो । ज्ञान केन्द्रका प्रमुख हरिप्रसाद पनेरुका अनुसार जिल्लामा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । त्यसमध्ये ३९ हजार ९८५ हेक्टर अर्थात् करिब ६७ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ  । बाँकी जमिनमा आकाशे पानीका भरमा रोपाइँ हुन्छ ।

पनेरुका अनुसार पछिल्लो समय चुरे फेदी क्षेत्रमा भूमिगत पानीको सतह घट्दै जाँदा डीप बोरिङ सुक्ने समस्या बढेको छ । सोही कारण सिँचाइ पुगेको जमिनमा पर्याप्त पानी पुग्न नसक्दा समस्या भएको हो ।

No description available.

‘उत्तरी क्षेत्रमा अधिकांश किसान डीप बोरिङमार्फत सिँचाइ गर्छन् । अहिले पानीको सतह घटेकाले बोरिङमा पर्याप्त पानी नआउँदा सुख्खा जमिनमा रोपाइँ गर्न समस्या भइरहेको छ,’ प्रमुख पनेरुले भने ।

ज्ञान केन्द्रका अनुसार वेदकोट, कृष्णपुर, लालझाडी, बेलौरी, पुनर्वास र बेलडाँडीलगायतका अधिकांश क्षेत्रमा अझै रोपाइँ हुन बाँकी छ ।

बेलौरी–९ का किसान शंकर भारतीले वर्षा नहुँदा धानको बेर्ना तयार भए पनि रोप्न नसकेको बताए । ‘गत वर्ष असारको पहिलो सातादेखि नै रोपाइँ थालेका थियौँ। यसपटक वर्षा नहुँदा खेत सुख्खा छ । सिँचाइ सुविधा नभएकाले आकाशे पानीकै भर पर्नुपरेको छ’, उनले भने ।

यस्तै, बेलौरी नगरपालिका–५  किसान राकेश चन्दले पनि धानको ब्याड तयार भए पनि खडेरीका कारण सुक्न थालेको भन्दै चिन्ता व्यक्त गरे ।

‘वर्षा नहुँदा रोपाइँ सुरु गर्न सकेका छैनौँ । ब्याड नै सुक्न थालेको छ । यस्तै अवस्था रहे धान उत्पादनमा ठूलो असर पर्नेछ’, उनले भने ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?