+
+
Shares

सिल प्याक पानीको बोतलभित्र भेटियो छेपारो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको लहानस्थित एक होटलमा बिक्रीका लागि राखिएको ऋषि जल नामक पानीको बोतलभित्र छेपारो भेटिएको छ।
  • उपभोक्ता संरक्षण ऐनअनुसार इलाका प्रशासन कार्यालय लहानले केवी एण्ड सन्स नेपाल कम्पनीलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ।
  • प्रशासनले बजारमा पठाइएका खराब ब्याचका ती पानीका बोतल तत्काल फिर्ता लिन र गुणस्तरमा ध्यान दिन सञ्चालकलाई निर्देशन दिएको छ।

१६ असार, काठमाडौं । सिरहाको लहानस्थित एक होटलमा बिक्रीका लागि राखिएको सिल प्याक पानीको बोतलभित्र छेपारो (छिपकिली) भेटिएको छ ।

पानीमा छेपारो भेटिएपछि ‘ऋषि जल’ नामक प्रशोधित पानी उत्पादन गर्ने केवी एण्ड सन्स नेपाल कम्पनीलाई इलाका प्रशासन कार्यालय लहानले २ लाख रुपैयाँ जरिबाना तिराएको छ ।

इलाका प्रशासन कार्यालयका अनुसार गत असार १० गते लहान नगरपालिका– ३ स्थित ‘न्यू भान्जा होटल’ मा उक्त कम्पनीले वितरण गरेको पानीको बोतलभित्र छेपारो देखिएको थियो ।

सोही विषयमा उपभोक्ताबाट फोनमार्फत जनगुनासो आएपछि कार्यालयको निरीक्षण टोलीले तत्काल अनुगमन गरेको थियो । अनुगमनका क्रममा कम्पनीले अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको र मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको पाइएको थियो । प्रशासनले कम्पनीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरेको हो ।

उक्त कम्पनीको पानीबारे अन्य गुनासा समेत प्राप्त भइरहेको भन्दै प्रशासनले कम्पनी सञ्चालकलाई कार्यालयमै बोलाएर सचेत गराएको छ । प्रशासनले बजारमा पठाइएका ती खराब ब्याचका ‘ऋषि जल’ नामक पानीका सम्पूर्ण बोतल तत्काल बजारबाट फिर्ता लिन सञ्चालकलाई निर्देशन दिएको छ ।

आगामी दिनमा यस्ता गल्ती दोहोरिएमा कानुन बमोजिम थप कडा कारबाही हुने चेतावनी समेत दिइएको छ । मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको पिउने पानीमै यस्तो चरम लापरवाही भेटिएपछि प्रशासनले आम उपभोक्तालाई सचेत रहन अपिल गरेको छ ।

कुनै पनि उपभोग्य वस्तु खरिद तथा उपभोग गर्दा सचेतता अपनाउन र वस्तुमा कुनै त्रुटि वा खराबी देखिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?