+
+
Shares

जन्मसिद्ध नागरिकता अन्त्य गर्ने ट्रम्पको प्रयास सर्वोच्च अदालतद्वारा अस्वीकार 

अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमार्फत अमेरिकामा जन्मसिद्ध नागरिकता ‘ब्राइट राइट सिटिजनसिप’ अन्त्य गर्ने प्रयास अस्वीकार गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते २२:०८

१६ असार, काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमार्फत अमेरिकामा जन्मसिद्ध नागरिकता ‘ब्राइट राइट सिटिजनसिप’ अन्त्य गर्ने प्रयास अस्वीकार गरेको छ ।

अदालतले एक शताब्दीभन्दा लामो कानुनी परम्परा र संवैधानिक अभ्यासलाई पुन: पुष्टि गर्दै अमेरिकी भूमिमा जन्मिएका शिशुहरू स्वत: अमेरिकी नागरिक हुने व्यवस्था कायम राखेको हो ।

ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिन जारी गरेको आदेशलाई कायम राख्न अदालतसँग आग्रह गरेका थिए ।

साथै, यस मुद्दाको मौखिक बहसमा उपस्थित हुने उनी पदमा रहेका पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए ।

प्रधानन्यायाधीश जोन रोबर्टसले फैसला लेख्दै भने, ‘नागरिकता भनेको अधिकारहरू प्राप्त गर्ने अधिकार हो– हाम्रो राजनीतिक समुदायमा स्वतन्त्र रूपमा सहभागी हुने अधिकार । चौधौं संशोधनका निर्माताहरूले यो प्रतिज्ञा यस भूमिमा स्वतन्त्र रूपमा जन्मिने प्रत्येक व्यक्तिसम्म विस्तार गरेका थिए । आज हामी त्यही प्रतिज्ञालाई कायम राख्छौँ ।’

निर्णयप्रति न्यायाधीशहरू केलेरेन्स थोमस, नेल गोर्सच र स्यामुअल अल्टिटोले  असहमति जनाएका छन् । थोमस र गोर्सचले संविधान वा संघीय कानुनले अमेरिकामा स्थायी बसोबास नगर्ने व्यक्तिका सन्तानलाई स्वत: नागरिकता सुनिश्चित नगरेको तर्क गरेका छन् ।

अवैध रूपमा बसेका आप्रवासी, पर्यटक वा विदेशी विद्यार्थीका सन्तान चौधौं संशोधनअन्तर्गत अमेरिकी नागरिक बन्न योग्य नहुने ट्रम्प प्रशासनको तर्क थियो ।

उक्त संशोधन अमेरिकी सिभिल वारपछि पूर्वदास र तिनका सन्तानको कानुनी हैसियत सुनिश्चित गर्न १८६८ मा लागु गरिएको थियो ।

यस नीतिको विरोध गर्ने आप्रवासी अधिकारकर्मी र नागरिक स्वतन्त्रता पक्षधर समूहहरूले यस्तो व्यवस्था लागु भए हरेक वर्ष गैर–नागरिक अभिभावकबाट जन्मिने लाखौँ बालबालिका प्रभावित हुने र जन्म प्रमाणपत्र मात्रका आधारमा नागरिकता प्रमाणित गर्ने अभ्यास समाप्त हुँदा ठूलो प्रशासनिक समस्या सिर्जना हुने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?