+
फिफा विश्वकप २०२६ :

गोल मेसिन एमबाप्पे : विश्वकपमा १८ खेलमै १८ गोल

२०८३ असार  १७ गते ६:२१ २०८३ असार १७ गते ६:२१

एमबाप्पे सन २०२२ मा ८ गोल गर्दै गोल्डेन बुट जितेका थिए । हाल उनी लगातार दोस्रो पटक गोल्डेन बुट जित्ने र विश्वकपमा सर्वाधिक गोलकर्ता बन्ने अभियानमा छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ मा फ्रान्सका कप्तान किलियन एमबाप्पेले स्वीडेन विरुद्ध दुई गोल गर्दै आफ्नो टोलीलाई अन्तिम १६ मा पुर्‍याएका छन् ।
  • एमबाप्पे र अर्जेन्टिनाका लियोनल मेसी दुवैले समान ६ गोल गरी जारी विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थान कायम राखेका छन् ।
  • विश्वकपमा १८ खेलमा १८ गोल पूरा गरेका एमबाप्पे सर्वाधिक १९ गोल गर्ने मेसीको कीर्तिमान नजिक पुगेका छन् ।

काठमाडौं । फिफा विश्वकप २०२६ मा फ्रान्सका कप्तान किलियन एमबाप्पे गोल मेसिन बनिरहेका छन् ।

२७ वर्षिय एमबाप्पेकै दुई गोल मदतमा फ्रान्सले स्वीडेनलाई ३-० ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरिसकेको छ ।

साविक उपविजेता फ्रान्स उपाधि लक्ष्यको यात्रातर्फ अघि बढ्दै गर्दा एमबाप्पे भने गोल स्कोरिङमा पनि खुबै जमेका छन् ।

उत्तर अमेरिकामा जारी विश्वकपमा ४ खेलमा ६ गोल गरिसकेका एमबाप्पे यस विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँगै सर्वाधिक ६ गोल गर्ने सूचीमा अगाडि छन् ।

एमबाप्पे र मेसीले समान ६ गोल गरेका छन् । अझ २ असिस्ट समेत गरेका एमबाप्पे अब सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा समेत उक्लेका छन् ।

मेसीले समूह चरणमा अल्जेरिया विरुद्धको खेलमा ह्याट्रिक गरेका थिए भने तीन खेलमै ६ गोल गोल पूरा गरेका थिए ।

एमबाप्पेले समूह चरणमा सेनेगल र इराक विरुद्ध २-२ गोल गर्दा नर्वे विरुद्ध गोल गर्ने सकेनन् । राउण्ड अफ ३२ मा स्वीडेन विरुद्ध पनि २ गोल नै गर्दै उनी सर्वाधिक गोलकर्तामा अगाडि आएका हुन् ।

गोल मेसिनको रुपमा देखिएका एमबाप्पे मेसीसँगै गोल्डेन बुटको रेसमा अघि छन् । यी दुईलाई पछ्याइरहेका नर्वेका एर्लिङ हालान्डले पनि ५ गोल गरिसकेका छन् । उनले पनि समूहचरणका दुई खेलमा २-२ गोल गर्दा फ्रान्स विरुद्धको खेल खेलेनन् । यस्तै राउण्ड अफ ३२ मा आइभरी कोस्ट विरुद्ध निर्णायक गोल गर्दै नर्वेलाई अन्तिम १६ मा पुर्‍याउन मदत गरे ।

हालान्डले डेब्यु विश्वकपै उत्कृष्ट प्रदर्शन गर्दै नर्वेका लागि मुख्य गोलस्कोरर बनिरहेका छन् ।

विश्वकपका गोल मेसिन एमबाप्पे

एमबाप्पेले जारी विश्वकपमा मात्र नभई विश्वकपकै गोलमेसिनको रुपमा आफूलाई प्रमाणित गरिसकेका छन् । उनले अहिलेसम्म विश्वकपमा १८ खेल खेल्दा १८ गोल गरिसकेका छन् र सर्वाधिक गोल गर्नेमा जर्मनीलाई मिरोस्लाभ क्लोजलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिसकेका छन् । विश्वकपमा एमबाप्पेको गोल औषत नै हरेक खेलमा १ गोल छ ।

उनी अब सर्वाधिक १९ गोल गरेका मेसी भन्दा १ गोलले मात्र पछि छन् ।

जारी विश्वकपअघि मेसीको नामम १३ र रएमबाप्पेको नामम १२ गोल थियो । यस विश्वकपमा दुवैले ६-६ गोल गर्दै क्लोजलाई उछिनिसकेका छन् भने अब दुवै खेलाडी विश्वकपमा सर्वकालिन गोलकर्ता बन्ने अभियानमा छन् । मेसी र एमबाप्पे कसले धेरै गोल गर्ला? कसले गोल्डेन बुट जित्ला भन्ने प्रश्नसँगै विश्वकमै सर्वाधिक गोलकर्ता को बन्ला भन्ने कौतुहलता पनि उत्तिकै छ ।

तर एमबाप्पेको पछिल्लो गोल स्कोरिङ लय हेर्दा उनि रोकिने कुनै संकेत छैन । यस पटक फ्रान्सले गज्बको प्रदर्शन गरिरहेको छ र फाइनलसम्म पुगेमा अझै ४ खेल खेल्दा बाँकी छ । यस्तै लियोनल मेसीको अर्जेन्टिनाले पनि राउण्ड अफ ३२ को खेल खेल्नै बाँकी छ ।

मेसीले विश्वकपमा सर्वाधिक खेल खेल्ने सर्वाधिक गोल गर्ने देखि सर्वाधिक ६ पटक विश्वकप खेल्ने र लगातार ७ खेलमा गोल गर्ने जस्ता दर्जनौँ कीर्तिमान बनाइरहँदा एमबाप्पे पनि आफ्नै कीर्तिमान बनाउन तयार भइसकेका छन् । विश्वकपमा सर्वाधिक गोल गर्नेमा मेसीसँग टक्कर गरिरहेका एमबाप्पे विश्वकपमा लगातार गोल्डेन बुट जित्ने खेलाडी बन्ने लक्ष्यमा समेत छन् ।

सन् २०१८ मा विश्वकपमा डेब्यु गर्दा ४ गोल मात्र गरेका उनले सन् २०२२ मा विश्वकपमा ८ गोल गर्दै गोल्डेन बुट अवार्ड जितेका थिए । यस पटक पनि गोल्डेन बुट जितेमा एमबाप्पे विश्वकपमा एक भन्दा बढी पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बन्नेछन् ।

यसैगरी एमबाप्पे विश्वकपमा नकआउट चरणमा सर्वाधिक गोल गर्ने खेलाडी समेत बनेका छन् । उनले नकआउट चरणमा १८ गोल गरिसकेका छन् । स्वीडेन विरुद्ध दुई गोल गरेपछि उनले ब्राजिलका लियोनिडास र रोनाल्डो (८) लाई पछि पारेका हुन् ।

फिफा विश्वकपक सर्वाधिक गोलकर्ता:

लियोनल मेसी : १९ गोल

किलियन एमबाप्पे : १८ गोल

मिरोस्लाभ क्लोज : १६ गोल

रोनाल्डो : १५ गोल

गर्ड मुलर : १४ गोल

जस्ट फोन्टेन : १३ गोल

पेले : १२ गोल

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय