News Summary
Generated by OK AI. Editorially reviewed.- उच्च अदालत जनकपुरले थमन विक हत्या प्रकरणमा तीन जनालाई जन्मकैदको सजाय सदर गर्दै अन्य छ जनालाई पाँच वर्ष कैद हुने फैसला सुनाएको छ।
- अदालतले प्रदीप साह माझी, संजय कुमार साह र मोहन ठाकुरलाई जन्मकैदको सजाय कायम राखेको छ।
- प्रदेश सांसद अभिराम शर्मासहित छ जनालाई पाँच वर्ष कैद सजाय तोक्दै जिल्ला अदालतको यसअघिको केही फैसला उच्च अदालतले उल्ट्याएको छ।
१७ असार, काठमाडौं । उच्च अदालत जनकपुरले थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतको फैसला आंशिक रूपमा सदर तथा आंशिक रूपमा उल्ट्याएको छ । त्यस क्रममा जिल्ला अदालत महोत्तरीको फैसला सदर गर्दै तीन प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको छ । अन्य ६ जनालाई पाँच वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
कामु मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सो फैसला सुनाएको हो ।
प्रतिवादी प्रदीप साह माझी, संजय कुमार साह र मोहन ठाकुरलाई तत्कालीन मुलुकी ऐनको ज्यान सम्बन्धी महलको १ नम्बरको कसुरमा १३(३) नम्बर बमोजिम जनही जन्मकैद गर्ने फैसला सुनाएको हो ।
महोत्तरी जिल्ला अदालतको २०८० मंसिर २८ गतेको फैसला मिलेको ठहर गर्दै उनीहरुको हकमा फैसला सदर गरेको अदालतका सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए ।
फैसलामा अदालतले मृतक थमन विकको मृत्यु कर्तव्यबाट भएको, तीनै प्रतिवादीविरुद्ध किटानी जाहेरी परेको, अनुसन्धानका क्रममा उनीहरूले आरोप स्वीकार गरेको तथा उपचारका लागि लैजाँदै गर्दा एम्बुलेन्स चालक सुशील मिश्र र सँगै रहेका पप्पु कुमार साह, सियाराम पासवान र राजकुमार झाले अनुसन्धान अधिकारीसमक्ष उनीहरूको संलग्नता पुष्टि गर्ने कागज गरेको उल्लेख गरेको छ ।
घटनास्थलका तस्बिरबाट पनि प्रतिवादी संजय कुमार साहले थमन विकमाथि प्रहार गरेको देखिएको अदालतको ठहर छ ।
यस्तै, निलम्बित लोसपाका प्रदेश सांसद अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे, लक्ष्मी महतो र पवन कापरको हकमा भने उनीहरूले थमन विकमाथि प्रत्यक्ष प्रहार गरेको वस्तुनिष्ठ प्रमाण नभेटिएको अदालतले जनाएको छ ।
तर जन्मकैद सजाय पाएका प्रतिवादीहरूको पोलयुक्त बयानका आधारमा उनीहरू ज्यान मार्ने संयोग पार्ने कार्यमा संलग्न रहेको देखिएकाले मुलुकी ऐनको ज्यान सम्बन्धी १७(२) नम्बरको कसुर गरेको ठहर गरिएको छ ।
यससँगै उच्च अदालतले शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डेलाई जन्मकैद सजाय सुनाएको तथा नेकपा एकालेका पूर्व सांसद लक्ष्मी महतो र पवन कापरलाई सफाइ दिएको महोत्तरी जिल्ला अदालतको फैसला सो हदसम्म उल्ट्याएको छ । अदालतले सबै ६ जनालाई मुलुकी ऐन ज्यान सम्बन्धी १७ (२) बमोजिम जनही पाँच वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
२०८० मंसिर २८ गते जिल्ला अदालत महोत्तरीका न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलाशले सुनाएको फैसला विरुद्ध शर्माका बुवा महेन्द्र शर्माले २०८१ बैशाख ९ गते, मिश्रको हकमा उनको श्रीमती संगीता कुमारी शर्मा, पाण्डेको हकमा उनको छोरी प्रियंका पाण्डे र धमेन्द्र रायको हकमा उनको दाजु अरविवन्द कुमार रायले उच्च अदालतमा निवेदन दिएका थिए ।
अढाई वर्षको अवधिमा ५० औं पेशीमा आज फैसलाबाट फैसला सुनाइएको हो । ४९ वटा पेशी स्थगित भएको थियो ।
मधेश आन्दोलनको क्रममा २०७२ भदौ २५ गते हेटौंडाबाट संयुक्त राष्ट्रसंघीय मिसनका लागि परीक्षा दिएर ड्युटीको लागि महोत्तरी आएका असई थमन बिकमाथि महोत्तरीमा आन्दोलनकारीले आक्रमण गरेका थिए ।
घाइते बिकलाई जलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि एम्बुलेन्समा जनकपुर ल्याउँदै गर्दा महोत्तरीको साविक अनैठा गाविसमा आन्दोलनकारीले निकालेर कुटपिट गर्दा उनको ज्यान गएको थियो ।
प्रतिक्रिया 4