१७ असार, काठमाडौं । कतार र पाकिस्तानका मध्यस्थकर्ताहरूले बुधबार दोहामा अमेरिका र इरानका वार्ताकारहरूसँग छुट्टाछुट्टै बैठकहरू सम्पन्न गरेका छन्।
यस परामर्शका क्रममा सकारात्मक प्रगति हासिल भएको कतारका विदेश मन्त्रालयका प्रवक्ता माजेद बिन मोहम्मद अल-अन्सारीले जानकारी दिएका छन्।
प्रवक्ता अल-अन्सारीले आफ्नो सामाजिक सञ्जाल एक्स मार्फत ‘लेक लुसर्न शिखर सम्मेलन’ का निष्कर्षहरूका आधारमा कतार र पाकिस्तानका मध्यस्थकर्ताहरूले बुधबार दोहामा अमेरिकी र इरानी वार्ताकारहरूसँग छुट्टाछुट्टै बैठकहरू सफलतापूर्वक सम्पन्न गरेको बताएका छन्।
उनका अनुसार ‘इस्लामावाद समझदारी पत्र’ (एमओयू) सँग सम्बन्धित विषयहरूमा केन्द्रित सो वार्तामा सकारात्मक प्रगति भएको छ। दुवै पक्ष आगामी अवधिमा पनि छलफललाई निरन्तरता दिन सहमत भएका छन्।
इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि प्रक्रिया सकिएलगत्तै सम्भव भएसम्म चाँडो अर्को बैठकको तालिका तय गरिने प्रवक्ता अल-अन्सारीले उल्लेख गरेका छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पक्षबाट अमेरिकी टोलीसँग बैठकका लागि अनुरोध आएको बताएका थिए।
यस परामर्शमा अमेरिकी पक्षको प्रतिनिधित्व राष्ट्रपतिका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरले गरिरहेका छन्। कतारका प्रवक्ता अल-अन्सारीले दोहामा अमेरिका र इरानबीच कुनै पनि प्रत्यक्ष वार्ताको योजना नबनाइएको यसअघि नै स्पष्ट पारेका थिए।
प्रतिक्रिया 4