+
+
Shares

साझाका आठ बसलाई ‘ब्लु बस’ बनाउने तयारी

ब्लु बसको सञ्चालन खर्च नेपाल सरकारले नै बेहोर्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १६:५६

१८ असार, काठमाडौं । सरकारले काठमाडौंमा ‘ब्लु बस’ सञ्चालन गर्न लागेको छ । पहिलो चरणमा साझा यातायातका आठ वटा बसलाई ब्लु बसमा परिणत गर्ने तयारी भइरहेको पूर्वाधार विकास मन्त्रालयका उपसचिव ज्ञानराज लम्सालले जानकारी दिए ।

‘महिलाहरूलाई निःशुल्क र सुरक्षित यात्राका लागि ब्लु बस चलाउने सरकारको नीति अनुसार काम अगाडि बढाएका हौं,’ लम्सालले भने । ब्लु बसको सञ्चालन खर्च नेपाल सरकारले नै बेहोर्छ ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र अर्यालले साझाका आठ वटा बसलाई ब्लु बस बनाउने सैद्धान्तिक सहमति भइसकेको र बजेट लगायतका केही काम बाँकी रहेको बताए ।

रिंगरोडमा चार, लगनखेल–बुढानीलकण्ठ रुटमा दुई र एयरपोर्ट–नागढुंगा रुटमा दुई वटा बस सञ्चालन गरिने अर्यालले जानकारी दिए । उनले सकेसम्म साउन महिनाभित्रै शुरु गर्ने गरी काम भइरहेको बताए ।

सरकारले ल्याएको शासकीय सुधार सम्बन्धी सय बुँदामा महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ब्लु बस सेवा सञ्चालन गर्ने भनिएको छ । शासकीय सुधारको ९७ औं बुँदामा भनिएको छ, ‘पहिलो चरणमा सय दिनभित्र २५ वटा बस सञ्चालनमा ल्याउने ।’

नयाँ बस खरिद गर्दा समय लाग्ने भएकाले सञ्चालन रहेकै बसलाई ब्लु बसको रुपमा चलाउन लागिएको एक सरकारी अधिकारीले बताए ।

साझा यातायातमा ९० प्रतिशतभन्दा बढी शेयर नेपाल सरकारको छ । यो सार्वजनिक यातायात कम्पनीमा नेपाल सरकार, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाले लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?