+
+
Shares
आन्तरिक पर्यटन सर्वेक्षण नतिजा :

आधा घरपरिवार गर्छन् वर्षको कम्तीमा एकपटक घुमफिर, अर्थतन्त्रमा डेढ खर्ब योगदान

अच्युत पुरी अच्युत पुरी
२०८३ असार १८ गते २१:५१

१८ असार, काठमाडौं । नेपालमा रहेका कुल घर परिवारमध्ये आधा घर परिवारका सदस्य आन्तरिक घुमफिरमा निस्कने गरेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले पहिलो पटक गरेको आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२ को नतिजा सार्वजनिक गरेको छ । जनगणना २०७८ अनुसार नेपालमा कुल ६९ लाख १० हजार घर परिवार छन् ।

आन्तरिक पर्यटन सर्वेक्षणबाट एक वर्षको अवधिमा कुल ३६ लाख २१ हजार (५२.४ प्रतिशत) घरपरिवारले कम्तिमा एक पटक पर्यटकीय गतिविधिमा सहभागिता जनाएको पाइएको छ । कार्यालयका अनुसार यस सर्वेक्षणबाट यस्ता घर परिवारलाई पर्यटक घर परिवारका रुपमा वर्गीकरण गरिएको छ ।

विभागले सर्वेक्षणका लागि दुई चरणको स्तरीकृत नमुना छनोट विधि प्रयोग गरेको थियो । पहिलो चरणमा आधारको समानुपातिक सम्भाव्यता विधिबाट प्राथमिकता छनोट इकाइ चयन गरिएको थियो ।

दोस्रो चरणमा प्रत्येक गणना क्षेत्रबाट १२ घरपरिवार छनोट गरिएको थियो । यसरी देशभरिका ४४४ गणना क्षेत्रबाट कुल ५ हजार ३२८ घर परिवारलाई नमुना समेटी सर्वेक्षण सञ्चालन गरिएको थियो । एक वर्षको अवधिमा ३२ लाख ८९ हजार (४७.६ प्रतिशत) घरपरिवारले कुनै पनि प्रकारको पर्यटकीय भ्रमण नगरेको पाइएको छ ।

यसरी हेर्दा प्रति १ हजार परिवारमा ५२३ परिवार घुमफिरमा निस्किएको र ४७७ परिवार भने गैरपर्यटकीय परिवारका रुपमा रहेको सर्वेक्षणले देखाएको छ । यसले नेपालका आधाभन्दा बढी घर परिवार प्रत्यक्ष रुपमा आन्तरिक पर्यटन गतिविधिमा संलग्न रहेको संकेत गर्ने कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिए ।

जनगणना अनुसार नेपालका घरपरिवारमा औसत सदस्य संख्या ३.९४ जना रहेको छ । ग्रामीण भेगमा यो संख्या ४.०२ र शहरी क्षेत्रमा ३.८७ रहेको छ । ग्रामीण भेगका पर्यटक परिपरिवारमा परिवारको आधार समेत ठूलो रहेको सर्वेक्षणबाट देखिएको छ । कार्यालयले २०८१ असोजदेखि २०८२ असोजसम्मको एक वर्षको अवधिलाई सन्दर्भ वर्ष मानेर यो सर्वेक्षण गरेको हो ।

उपचार, किनमेल र भेटघाट मूख्य उद्देश्य

नेपालमा घर छाडेर घुमफिरमा जानेको प्रमुख उद्देश्य किनमेल रहेको देखिएको छ । जसको हिस्सा ३२.६ प्रतिशत रहेको देखिन्छ । स्वास्थ्य उपचार र साथीभाइ भेटघाट तथा आफन्त भेटघाटमा जानेको संख्या समान २०.१ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

रात बिताउने गरी घुमफिरमा जानेमध्ये पहिलो स्थानमा साथीभाइ र आफन्त भेटघाट गर्नु प्रमुख उद्देश्य रहेको छ । यसको हिस्सा ६५.५ प्रतिशत रहेको छ । यो तथ्यांकबाट नेपालमा सामाजिक तथा पारिवारिक सम्बन्ध आन्तरिक पर्यटनको प्रमुख प्रेरक शक्ति रहेको संकेत गर्ने समेत उनले जानकारी दिए ।

रात बिताउने आन्तरिक भ्रमणको औसत अवधि ५.३३ दिन रहेको छ । एक पर्यटकले वर्षभरिमा औसत ४.८१ पटक यस्ता भ्रमण गर्ने गरेको समेत सर्वेक्षणबाट देखिएको छ ।

प्रदेशगत रुपमा हेर्दा सुदूरपश्चिम र मधेश प्रदेशमा सबैभन्दा लामो औसत बसाइ ८.१८ दिन रहेको छ । भ्रमण आवृत्तिको दृष्टिले सबैभन्दा अगाडि गण्डकी प्रदेश रहेको छ । यहाँ औसत भ्रमण संख्या ६.२६ पटक रहेको छ । सुदूरपश्चिममा यो संख्या ३.३२ पटक रहेको छ ।

तालिममा निस्कनेहरु बस्छन् धेरै दिन

भ्रमणको उद्देश्य अनुसार शिक्षा र तालिमका लागि गरिने यात्रामा सबैभन्दा लामो बसाइ अवधि रहेको देखिएको छ । तथ्यांक अनुसार तालिममा निस्कनेहरू औसत ९.१६ दिन बिताउँछन् । तीर्थयात्रा तथा किनमेल सम्बन्धी भ्रमणको अवधि भने छोटो देखिएको छ ।

वार्षिक भ्रमण आवृत्तिका आधारमा व्यवसायिक भ्रमण सबैभन्दा बढी औसत ६.९ पटक हुने गरेको देखिन्छ । बिदा तथा मनोरञ्जन सम्बन्धी भ्रमणको औसत प्रवृत्ति ३.०२ पटक रहेको छ ।

प्रमुख गन्तव्य काठमाडौं–चितवन तथा कास्की

नेपालमा आन्तरिक भ्रमणको प्रमुख गन्तव्य काठमाडौं, पोखरा र चितवन रहेका छन् । मनोरञ्जन र विदा मनाउने उद्देश्यले गरिने भ्रमणमा सबैभन्दा लोकप्रिय गन्तव्य कास्की रहेको देखिएको छ । नेपालका पर्यटक घरपरिवारमा युवा उमेर समूहको बाहुल्य रहेको देखिएको छ । १३–२८ वर्षको हिस्सा २६.६ प्रतिशत रहेको छ ।

पर्यटक घरपरिवारमध्ये ३३.३ प्रतिशतले वर्षमा एक पटक, ३२.२ प्रतिशतले दुई पटक र ३४.५ प्रतिशतले तीन वा सो भन्दा बढी पटक भ्रमणमा निस्किएको पाइएको छ । सर्वेक्षणले युवा पुस्ता, विशेष गरी जेनेरेसन अल्फा र जेनेरेसन जेडले अन्य उमेर समूहको तुलनामा बढी पटक आन्तरिक भ्रमण गर्ने गरेको देखाएको छ ।

विदेश भ्रमणमा कति जान्छन् नेपाली ?

सन्दर्भ अवधिमा नेपाली बासिन्दामध्ये कुल २ लाख ९३ हजारले सोही दिन फर्कने गरी वाह्य भ्रमण गरेको देखिएको छ । ६ लाख २० हजारले भने रात बिताउने गरी वाह्य भ्रमण गरेका छन् । सोही दिन फर्कने गरी वाह्य भ्रमणमा जानेको मूख्य उद्देश्य किनमेल रहेको छ । जसको हिस्सा ६३.९ प्रतिशत छ ।

रात बिताउने गरी वाह्य घुमफिरमा जानेमध्ये ४०.३ प्रतिशत किनमेल र १९.६ प्रतिशत धार्मिक यात्रामा जाने गरेको पाइएको छ । वाह्य भ्रमणलाई मौसमी सिजन अनुसार हेर्दा कात्तिकदेखि पुससम्म सबैभन्दा धेरै भ्रमण हुने गरेको छ ।

वाह्य भ्रमणमा प्रतिभ्रमण सहभागी सदस्यको औसत संख्या १.२ जना छ । यसले अधिकांश वाह्य भ्रमण व्यक्तिगत हुने देखिएको छ । भारततर्फ गरिने सोही दिन फर्कने भ्रमणमा कुल खर्चको ७०.७ प्रतिशत किनमेलमा हुने गरेको छ । प्रदेशगत रुपमा मधेश प्रदेशबाट भारतमा एक दिनको भ्रमण धेरै हुने गरेको छ ।

आन्तरिक पर्यटकीय गतिविधिको खर्च ४ खर्ब ५९ अर्ब

सर्वेक्षणले देखाएको अर्को महत्त्वपूर्ण पाटो यसले अर्थतन्त्रमा गरेको योगदान हो । नेपाली घरपरिवारले एक वर्षमा पर्यटन सम्बन्धी गतिविधिमा कुल ४ खर्ब ५९ अर्ब ५ करोड रुपैयाँ बराबर खर्च गर्ने गरेको पाइएको छ । यसमा आन्तरिक पर्यटन अन्तर्गत रात बिताउने भ्रमणमा कुल ३ खर्ब ४ अर्ब ४४ करोड तथा सोही दिने फर्कने गरी हुने भ्रमणमा ९० अर्ब ९८ करोड रुपैयाँ बराबर खर्च हुने गरेको अनुमान छ ।

वाह्य भ्रमणमा रात बिताउने गरी हुने भ्रमणमा ४७ अर्ब ९७ करोड र सोही दिन फर्किने भ्रमणमा १५ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको देखिन्छ । उद्देश्यगत रुपमा स्वास्थ्य उपचारसम्बन्धी भ्रमणमा कुल खर्चको ३१.७८ प्रतिशत खर्च भएको छ । जुन सबैभन्दा धेरै हो ।

स्वयम् सेवा, बसाइसराइ तथा अन्य प्रयोजनका भ्रमणमा खर्चको हिस्सा ०.८ प्रतिशत मात्र छ । खर्चका शीर्षकमध्ये किनमेलमा सबैभन्दा धेरै २६ प्रतिशत हुने गरेको छ । यातायातमा हुने खर्चमध्ये सबैभन्दा धेरै सार्वजनिक सवारी साधनमा हुने गरेको छ । यसले सार्वजनिक यातायात आन्तरिक पर्यटनको मुख्य माध्यम रहेको पुष्टि गरेको छ ।

जीडीपीमा योगदान डेढ खर्ब

आन्तरिक पर्यटनले नेपालको कुल गार्हस्थ उत्पादनमा १ खर्ब ४४ अर्ब ४९ करोड रुपैयाँ बराबरको योगदान गर्ने सर्वेक्षणबाट देखिएको छ । पर्यटन स्याटालाइट लेखाको ढाँचा अनुसार गरिएको हिसावमा आन्तरिक पर्यटनबाट सिर्जित कुल पर्यटकीय उपभोग ४ खर्ब ७ अर्ब १७ करोड पुगेको अनुमान छ ।

यस उपभोगका आधारमा पर्यटन क्षेत्रबाट कुल ३ खर्ब ३१ अर्ब ८४ करोड रुपैयाँ बराबरको उत्पादन सिर्जना भएको अनुमान छ । उत्पादन प्रक्रियामा १ खर्ब ८७ अर्ब ३४ करोड बराबरको मध्यवर्ती उपभोग कटाउँदा कुल पर्यटन मूल्य अभिवृद्धि १ खर्ब ४४ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।

सर्वेक्षण नतिजा अनुसार आन्तरिक पर्यटनले आव २०२४/२५ मा नेपालको कुल गार्हस्थ उत्पादन ५४ खर्ब ५४ अर्बमा २.६५ प्रतिशत बराबर योगदान गरेको देखिएको छ । यसबाट नेपालको अर्थतन्त्रमा आन्तरिक पर्यटन महत्त्वपूर्ण आधारस्तम्भका रुपमा रहेको निष्कर्ष कार्यालयले निकालेको छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?