+
+
Shares

डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

जगदुल्ला हाइड्रोपावर कम्पनीले डोल्पामा १०६ मेगावाटको जगदुल्ला र १२४.३५ मेगावाटको जगदुल्ला-ए गरी कुल २३०.३५ मेगावाट क्षमताका दुई अर्धजलाशययुक्त आयोजना विकास गरिरहेको जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते २१:३२

१८ असार, काठमाडौं । डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको शुभारम्भ गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्व तथा लगानीमा अघि बढिरहेको आयोजना डोल्पा र समग्र कर्णाली प्रदेशको ऊर्जा तथा आर्थिक विकासका लागि महत्वपूर्ण हुने बताए । उनलेे आयोजना निर्धारित समयमै सम्पन्न गर्न तीनै तहका सरकार, स्थानीय समुदाय र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

ऊर्जा मन्त्रालयका सचिव सरिता कुमारी दवाडीले स्थानीय समुदायको सहयोगले आयोजना सहज रूपमा अघि बढिरहेको बताउँदै निर्माण कार्य समयमै सम्पन्न गर्न सबै निकायबाट आवश्यक सहजीकरण हुनुपर्नेमा जोड दिइन् ।

जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाका अनुसार आयोजना ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको नमूना परियोजनामध्ये एक हो।

कम्पनीले डोल्पामा १०६ मेगावाटको जगदुल्ला र १२४.३५ मेगावाटको जगदुल्ला-ए गरी कुल २३०.३५ मेगावाट क्षमताका दुई अर्धजलाशययुक्त आयोजना विकास गरिरहेको जनाएको छ। मुख्य आयोजनाको विस्तृत अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए), वित्तीय व्यवस्थापन तथा आवश्यक अनुमतिपत्रको प्रक्रिया पूरा भइसकेको कम्पनीले जनाएको छ।

आयोजनाले विद्युत् उत्पादनसँगै डोल्पाको पूर्वाधार विकासमा पनि योगदान पुर्‍याएको दाबी गरिएको छ। कम्पनीले भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल, पहुँच मार्ग तथा १० वटा बेली पुल निर्माण गरिसकेको जनाएको छ। सडक पहुँच विस्तारसँगै डोल्पाको यातायातमा सुधार आएको र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

आयोजना सञ्चालनमा आएपछि संघीय सरकारले वार्षिक करिब १९ करोड ५० लाख रुपैयाँ तथा कर्णाली प्रदेश सरकार र सम्बन्धित स्थानीय तहले करिब ९ करोड ५० लाख रुपैयाँका दरले रोयल्टी प्राप्त गर्ने अनुमान गरिएको छ।

सरकारी निकायको बहुमत स्वामित्व रहने यस परियोजनामा ५१ प्रतिशत शेयर सरकारी निकाय, कर्णाली प्रदेश सरकार र स्थानीय तहको तथा ४९ प्रतिशत सर्वसाधारणको रहनेछ। स्थानीय बासिन्दाका लागि १० प्रतिशत र प्रसारण लाइनको राइट अफ वेभित्र पर्ने जग्गाधनीका लागि थप ३ प्रतिशत शेयर छुट्याइएको कम्पनीले जनाएको छ।

परियोजनाको करिब १६ अर्ब ६६ करोड रुपैयाँ ऋण लगानी नबिल बैंक, कर्मचारी सञ्चय कोष, एचआईडीसीएल, लक्ष्मी सनराइज बैंक, एभरेस्ट बैंक र एनआईसी एशिया बैंकको सहलगानीमा जुटाइएको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?