१८ असार, काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ दुवैले २०औं एसियन गेम्स (एसियाड) सहभागिता विवादरहित हुने र नेपाली खेलाडीहरुले विना दबाब खेल्ने बताएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले बिहीबार विश्व खेलकुद पत्रकार दिवसको अवसरमा आयोजना गरेको संवाद कार्यक्रम ‘नेपाल इन एसियन गेम रोड टु आइची नागोया’ संवाद कार्यक्रममा दुबैले संयुक्त रुपमा विना विवाद सहभागिताको लागि सहज पहल भइरहेको बताएका हुन् ।
सदस्य सचिव मेहताले भने, ‘केही विवादहरु छन् । तर त्यसलाई हामीले बोरामा सिलाएर राखेका छौं । अब एसियाली खेलकुदको सहभागितामा कुनै विवाद हुँदैन । उनीहरु अब चाँडै नै वैदेशिक प्रशिक्षणमा जानेछन् । पदकमा मात्र केन्द्रित हुनेछन् ।’
विगतमा राखेप र एनओसीबिच विवादले ठूला प्रतियोगिता प्रभावित हुन्थ्यो र खेलाडीहरु कमजोर मानसिकतामा ती प्रतियोगिता खेल्ने गर्दथे । यसपाली त्यस्तो वातावरण पूर्ण रुपमा हटेको दुई मुख्य निकाय प्रमुखले घोषणा गरेको एसियाड इतिहासमा यो पहिलो पटक हो ।
संवाद कार्यक्रममा सदस्य सचिव मेहता र अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदको दीर्घकालिन समाधानमा लागि राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को संशोधन आवश्यक रहेको पनि बताएका छन् । सदस्य सचिव मेहताले चाँडै नै ऐन संशोधनको प्रक्रिया अगाडि वढ्ने पनि बताए । ‘समस्या छ। त्यसको समाधानको लागि ऐन संशोधन वा नयाँ ऐन बनाउनै पर्छ । त्यसको तयारी भइरहेको छ ।’
त्यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले ऐन मात्र होइन, नियमावली पनि संशोधन आवश्यक रहेको बताए । उनले भने ‘यहाँ ब्यक्तिको स्वार्थ अनुसार नियमावली परिवर्तन हुनेगर्दछ। त्यसमा विशेष ध्यान दिनु जरुरी छ ।’
२३ खेलमा सहभागि हुने
सदस्यसचिव मेहताले एसियाली खेलकुदमा नेपालले यो वर्ष २३ खेलमा १४० जनाले सहभागिता जनाउन लागेको पनि जानकारी दिए । त्यस्तै सरकारले एसियाली खेलकुद तयारीका लागि दुई करोड ८० लाख रुपियाँ बजेट विनियोजन गरेको र सहभागिताका लागि थप ११ करोड २० लाख छुट्याएको पनि बताए ।

एसियाली खेलकुदमा स्वर्ण पदकसहित दोहरो अङ्कमा पदक जित्ने सरकारको लक्ष्य पूरा गर्न आफूहरु लागि परेको र अब आगामी महिनादेखि खेलाडीहरुलाई वैदेशिक प्रशिक्षणमा पठाउने तयारी भइरहेको बताए ।
विभिन्न संघहरुसँग सल्लाह गरिरहेको र अब छनोट भएका खेलाडीहरुले वेदेशिक प्रशिक्षक गर्ने मेहताको भनाई छ ।
नेपाली खेलकुदको इतिहासमा पहिलो पटक नागोया एसियाडको लागि झन्डै चार वर्ष अगाडि नै नागोया ओलम्पिक केन्द्रित रहेर राखेपले मिशन २०२६ योजना शुरु गरेको थियो । त्यसमा ११ खेलका ९९ खेलाडीहरुले प्रशिक्षण गरेका थिए ।
५ खेलाडीलाई स्कलरसिप
यसैगरी एनओसीका अध्यक्ष श्रेष्ठले राखेप संगको समन्वयमा खेलाडीको अन्तिम सूची पठाए अनुरुप नै एसियाडमा खेलाडि दर्ताको काम भइरहेको बताए । उनले भने ‘एनओसीले पनि आफ्नै ढङगले खेलाडीहरुको तयारीलाई साथ दिइरहेको छ । पदक जित्ने लक्ष्यमा साथ दिन एसियाडकै लागि पाँच खेलका खेलाडीलाई महिनाको ५० हजार रुपियाँसहित स्कलरसीप प्रदान गरेको छ । र अन्य आवश्यक सहयोग गरिरहेको छ ।’

त्यस्तै विगतमा जस्तो अनावश्यक ब्यक्तिहरुको भीड एसियाडमा नपठाउने, असम्वन्धित ब्यक्तिहरु एसियाडमा नदेखिने र सबैको ध्यान खेलाडीको पदकमा केन्द्रित हुने उनीहरुको भनाई थियो ।
संवाद कार्यक्रमअघि हान्झाउ एसियाडमा रजत पदक विजेता कराते खेलाडी एरिकाले गुरुङले एसियाडजस्तो ठूलो प्रतियोगिता खेल्न जाँदा बाहिरी वातावरणले सँधै निरुत्साहित बनाएको भनाई थियो ।

सन् २०२३ मा चीनको हान्झाउमा भएको १९औं एसियाडमा नेपाललाई एक मात्र रजत पदक दिलाउने एरिकाले आफ्नो अनुभव सुनाउने क्रममा भनिन्, ‘धेरैले जित्ने भनेको यस्तै हो, एसियन गेममा घुमेर आऊ भनेर प्रतियोगिता पहिले नै खेलाडीको मनोबल कम पारिसकेको हुन्छ । तर अहिलेको परिस्थिति फरक भएको छ । एसियाडमा रजत पदक जितेर आएपछि नै मिसन २०२६ कार्यक्रमअन्तर्गत राखेपछि अहिले खेलाडीहरुले ३६५ दिननै राम्रो प्रशिक्षण पाएका छन् । त्यसैले म मात्र होइन अन्य खेलाडीले आइची नागोया एसियाडमा अझ राम्रो गर्ने अपेक्षा गरेका छन् ।’
यसैगरी नेपाल खेलकुद पत्रकार मञ्चका अधयक्ष निरञ्जन अधिकारीले एक सय वर्षअघि एआइपिएसको गठन हुँदाको दिन जुलाई २ लाई नै विश्व खेलकुद पत्रकार दिवसको रुपमा मनाउँदै आएको जानकारी दिए । स्पोर्टस जनलिस्टहरुको संस्था एआइपिएसको शाखा संसारभरी फैलिएको र नेपालको एनएसजेएफ पनि नएआइपिएसको आधिकारिक संस्था रहेको उनले जानकारी दिए । एनएसजेएफका अध्यक्ष अधिकारीले स्पोर्ट्स मिडियाको उद्योगलाई अपेक्षाअनुरुप अगाडि बढ्न नसकेको भएपनि विभिन्न चुनौती चिर्दै नेपालको खेल मिडिया अगाडि बढिरहेको बताए ।
संवाद कार्यक्रमका सहजकर्ता तथा एआइपिएसका कोषाध्यक्ष निरञ्जन राजवंशीले एसियाडजस्ता प्रमुख प्रतियोगिताअघि आउने विवादलाई घरेलु खेलकुदका ठूला निकायहरुले मिलेर दीघर्कालीन रुपमै सल्टाउनुपर्ने बताए ।
तस्बीर: एनएसजेएफ
प्रतिक्रिया 4