+

काठमाडौं म्याराथनका लागि २४ घण्टामै २५०० भन्दा बढीले गरे नाम दर्ता

२०८३ असार  १८ गते २१:०० २०८३ असार १८ गते २१:००

१८ असार, काठमाडौं । नेपालको प्रतिष्ठित सडक दौड प्रतियोगिता सिद्धार्थ बैंक १८औं काठमाडौं म्याराथन २०२६ हुन अब केवल १०० दिन बाँकी रहेको छ । एनआरएस स्पोर्ट्स फाउन्डेसनको आयोजनामा प्रतियोगिता आगामी असोज २४ गते (अक्टोबर १०) दशरथ रंगशालाबाट सुरु हुनेछ ।

आयोजकका अनुसार यस वर्ष करिब १० हजार धावक सहभागी हुने अपेक्षा गरिएको छ । दर्ता खुलाएको पहिलो २४ घण्टामै फुल म्याराथन, हाफ म्याराथन र १० किलोमिटर दौडका लागि २,५०० भन्दा बढी धावकले नाम दर्ता गरिसकेका छन् ।

यसपटक पहिलोपटक फुल म्याराथनमा २५ जना महिला धावकले पनि सहभागिता सुनिश्चित गरेका छन् । आयोजकले यसलाई नेपाली महिलाको आत्मविश्वास, साहस र खेलप्रतिको बढ्दो आकर्षणको ऐतिहासिक संकेतका रूपमा व्याख्या गरेको छ ।

प्रतियोगितामा फुल म्याराथन (४२.१९५ किमि), हाफ म्याराथन (२१ किमि), १० किलोमिटर, ५ किलोमिटर र ३ किलोमिटर दौड समावेश गरिएको छ। विभिन्न उमेर समूहका साथै खुला, मास्टर्स, कलेज र विद्यालयस्तरीय प्रतिस्पर्धा पनि हुनेछ ।

यस संस्करणको विशेष आकर्षण ३ किलोमिटर ‘फ्यामिली रन’ हुनेछ, जसमा आमा, बुबा र छोराछोरीसहित परिवारका कम्तीमा तीन सदस्यले एउटै टोली बनाएर सँगै दौडन सक्ने व्यवस्था गरिएको छ। यसले स्वस्थ जीवनशैलीसँगै पारिवारिक एकता प्रवर्द्धन गर्ने विश्वास आयोजकको छ ।

यस वर्ष भारत, नर्वे, बेलायत, पोल्यान्ड, श्रीलंका, अमेरिका, बंगलादेश, चीन, इन्डोनेसिया, जापान र फ्रान्सलगायतका देशबाट १२० भन्दा बढी अन्तर्राष्ट्रिय धावकले सहभागिता सुनिश्चित गरिसकेका छन्। अन्य देशबाट पनि दर्ता आउने क्रम जारी रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितालाई एकदिने कार्यक्रममा सीमित नराखी विद्यालय तथा कलेज अभियान, रनिङ क्लबहरूसँगको सहकार्य, सामूहिक दौड र सामाजिक सञ्जाल अभियानमार्फत शहरव्यापी खेल अभियानका रूपमा अघि बढाइएको छ ।

वडा कार्यालय, स्थानीय तह तथा विभिन्न संघसंस्थाको सकारात्मक सहयोगले यस वर्षको काठमाडौं म्याराथनलाई अझ भव्य, व्यवस्थित र उत्सवमय बनाउने लक्ष्य राखिएको छ ।

यस वर्षको काठमाडौं म्याराथनको नारा ‘बिल्ड हेल्दी लाइफस्टाइल’ रहेको छ । सीमित सिट बाँकी रहेकाले इच्छुक धावकलाई यथाशीघ्र दर्ता सुनिश्चित गर्न आयोजकले आग्रह गरेको छ ।

१८औं काठमाडौं म्याराथन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय