+
+
Shares

बागमतीका मुख्यमन्त्री संकटमा, बजेटविरुद्ध उभिए आफ्नै सांसद

असन्तुष्ट पक्षले भेटे सभापति थापा, काठमाडौं पुगेर फर्किए मुख्यमन्त्री

बहादुर लामा पक्षको दाबीअनुसार आफ्नो पक्षमा रहेको भनिएका कांग्रेसका बहुमत सांसद बजेटको विपक्षमा उभिँदा मुख्यमन्त्री बानियाँलाई बजेट पास गर्न संकट पर्ने देखिन्छ । आफ्नै सांसदको साथ नपाए बानियाँ बजेट पास गर्न विपक्षी दलको सहयोगमा निर्भर हुनेछन् ।

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८३ असार १९ गते १०:२४
बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ (वायाँ) र बहादुर सिंह लामा ।

१९ असार, हेटौंडा । आफ्नै पार्टीका सांसदहरु आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटविरुद्ध उभिएपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ अप्ठेरोमा परेका छन् ।

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बागमती प्रदेश सरकारले ६६ अर्ब ९३ करोडको बजेट ल्याएको छ । प्रदेशसभामा १६ असारदेखि बजेटमाथि छलफल चलिरहेको छ । तर, बागमतीका पूर्व मुख्यमन्त्री बहादुर सिंह लामा पक्षधरका सांसद बजेटप्रति असन्तुष्टि जनाउँदै हेटौंडा आएका छैनन् । लामासहितका केही सांसदहरु भने काठमाडौंमै बसेका छन् ।

अनलाइनखबरसँगको संवादमा लामाले भने, ‘माननीयज्यूहरु बजेटको विषयलाई लिएर असन्तुष्ट हुनुहुन्छ । मुख्यमन्त्रीको व्यवहार र भूमिकाप्रति पनि साथीहरुको गुनासो छ । हामी प्रदेशसभा बैठकमा सहभागी हुँदैनौं ।’

कांग्रेसका असन्तुष्ट सांसदले भेटे गगन थापा

लामाका अनुसार असन्तुष्ट सांसदहरुले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई भेटेर बजेट र मुख्यमन्त्रीको व्यवहार र भूमिकाको विषयमा गुनासो राखेका छन् ।

उनीहरुले बजेट निर्देशिका ल्याएर त्यसको विपरीत बजेट बिनियोजन भएको, वितरणमुखी बजेट ल्याएर आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गरेको, जनअपेक्षाअनुसार बजेट नल्याएर मनलाग्दी गरेको, सन्तुलित बजेट नल्याएको, सुझाव कार्यान्वयन नगरेको, बजेटमा विचौलियाहरुको प्रभाव देखिएको विषयमा थापासँग गुनासो गरेका छन् ।

मुख्यमन्त्री बानियाँले अध्यादेश ल्याएर बजेट पास गर्ने अभिव्यक्ति दिएको, विपक्षी दलको सहयोगमा बजेट पास गर्ने भन्दै प्रदेशसभा बैठकमा अनुपस्थित भए कारबाहीको प्रक्रिया अगाडि बढाउनेलगायतका धम्की दिएको, दलका सांसदहरुसँग समन्वय नगरेको बारे सभापति थापालाई जानकारी गराएको एक सांसदले बताए ।

थापाले सांसदहरुसँगको भेटमा मुख्यमन्त्री बानियाँसँग आवश्यक छलफल गर्ने बताएको लामाले जानकारी दिए । सांसदहरुले बजेट सच्चिनुपर्ने माग गर्दै प्रदेशसभा बैठकमा सहभागी हुन नसक्ने बारे थापालाई स्पष्ट जानकारी गराइसकेको लामाले बताए ।

काठमाडौं गएर फर्किए मुख्यमन्त्री बानियाँ

मन्त्रिपरिषदका एक सदस्यका अनुसार बजेट छलफल छोडेर मुख्यमन्त्री बानियाँ बुधवार काठमाडौं गएका थिए । उनी बिहीवार साँझ मात्रै हेटौंडा फर्किएका छन् । बानियाँले असन्तुष्ट लामा पक्षसँग भेट गर्न खोजेका थिए । काठमाडौं आएपछि बानियाँले लामालाई फोन गरेर भेट्न खोजेका थिए । तर, उनीहरु बीच भेट हुन नसकेको लामा निकट एक सांसदले जानकारी दिए ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको ५१ प्रतिशत सांसद हेटौंडा बाहिर रहेको पूर्वमन्त्रीसमेत रहेका सांसद सुरजचन्द्र लामिछानेले बताए । मुख्यमन्त्रीले विकासमुखी, रोजगारमुखी, आयमुखी र गरिबमुखी बजेट ल्याउँछु भनेर त्यसविपरीत बजेट आएको उनको भनाइ छ । ‘पुरानै परम्परा दोहोरियो । मन्त्रीहरुकै क्षेत्रमा बजेट थुपार्ने काम भयो । जनसंख्या भन्दा धेरै बजेट गयो । बिचौलिया हाबी भएको छ बजेटमा भनेर माननीयहरुले कुरा उठाउनु भएको छ,’ उनले भने ।

‘कांग्रेस भनेको लास र दासको पार्टी होइन भन्ने अनि जे बजेट ल्याए पनि जस्ताजस्तै हात उठाइदिनुपर्ने ?’, उनले प्रश्न गरे, ‘क्रमागत बजेटहरु रोकिएको छ । ८० प्रतिशत निर्माण सम्पन्न भइसकेका योजना अलपत्र पार्ने गरी बजेट दिइएको छैन । नयाँ योजना नल्याउने, भएकालाई पूरा गर्ने भनेको होइन् ? जनतासँग प्रत्यक्ष जोडिएको योजनाहरुमा बजेट नदिनु गलत भएको छ ।’

बजेटमा सत्ता साझेदार एमाले सांसदको पनि विरोध

बजेटमा सत्तारुढ दल नेकपा एमालेकै सांसदहरुले पनि विरोध जनाएका छन् । बिहीवारको बैठकमा एमाले सांसद पूर्वमन्त्री प्रेमभक्त महर्जनले बजेटमा निश्चित व्यक्ति र सांसदहरु हाबी भएको आरोप लगाए ।

कांग्रेस सांसद श्रीराम लामिछानेले बजेटले कृषि क्षेत्रलाई उपेक्षा गरेको बताए ।

सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङसँग बजेट विवादबारे बुझ्न फोन सम्पर्क गर्दा फोन उठेन । मन्त्री तामाङले बुधवारको प्रदेशसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै बजेट यथार्थ, मितव्ययी र कार्यान्वयनमुखी रहेको दाबी गरेका थिए । विगतको भन्दा बढी व्यवस्थित, पारदर्शी र यथार्थपरक बजेट ल्याएको बताए ।

मुख्यमन्त्री बानियाँले आफ्नो दलभित्रको असन्तुष्टीलाई समाधान नगरी अघि बढे विवाद झन् बढ्ने र यसले राम्रो परिणाम नदिने सांसदहरु बताउँछन् ।

कांग्रेस सांसदको उपस्थिति निरन्तर घट्दै

१६ असारदेखि बागमती प्रदेशसभामा बजेटमाथि छलफल चलिरहँदा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका सांसदको उपस्थिति न्यून छ । प्रदेशसभा सचिवालय स्रोतका अनुसार १६ असारको बजेट छलफलमा कांग्रेसका १९ जना, १७ गतेको बैठकमा २१ जना र १८ गतेको छलफलमा १६ जना मात्रै उपस्थित थिए । तीन दिनको उपस्थिति संख्या हेर्दा सुरुवाती बैठकमा सहभागी भएका सांसदहरु पछिल्लो बैठकमा अनुपस्थित छन् ।

प्रदेशसभाको बिहीवारको पछिल्लो बैठकमा जम्मा सांसदको उपस्थिति संख्या ४० मात्रै छ । ‘यो बजेटको छलफलमा माननीयज्यूहरुको उपस्थिति धेरै न्युन भयो । अन्य समयमा भन्दा बजेटको छलफलमा उपस्थिति बाक्लो हुनुपर्ने थियो । तर किन यसो भयो हामीलाई पनि थाहा छैन,’ प्रदेशसभा सचिवालयका एक कर्मचारीले भने ।

बागमतीमा कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार छ । कांग्रेसका ३७ र एमालेका २७ सांसदमध्ये तीन जनाले प्रदेशसभा सदस्यबाट राजीनामा दिएकाले दुई दलसँग ६२ जना मात्रै सांसद छन् ।

१०४ सदस्यीय प्रदेशसभामा (६ जना सांसदको राजीनामापछि) बहुमतका लागि ५३ जना सांसद आवश्यक पर्छ । गत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि राजीनामा दिनेमा कांग्रेसका १ र एमालेका २ सांसद छन् ।

बजेट पास गर्न कठिन हुने संकेत

बहादुर लामा पक्षको दाबीअनुसार आफ्नो पक्षमा रहेको भनिएका कांग्रेसका बहुमत सांसद बजेटको विपक्षमा उभिँदा मुख्यमन्त्री बानियाँलाई बजेट पास गर्न संकट पर्ने देखिन्छ । आफ्नै सांसदको साथ नपाए बानियाँ बजेट पास गर्न विपक्षी दलको सहयोगमा निर्भर हुनेछन् । मुख्यमन्त्री बानियाँले आफ्नो दलभित्रको असन्तुष्टीलाई समाधान नगरी अघि बढे विवाद झन् बढ्ने र यसले राम्रो परिणाम नदिने सांसदहरु बताउँछन् ।

आज शुक्रबार पनि प्रदेशसभा बैठकमा बजेटमाथि छलफल कार्यक्रम छ । आजै बजेट पास गर्ने तयारी मुख्यमन्त्री बानियाँको थियो । तर, सांसदहरु हेटौंडा नआएपछि छलफल कार्यक्रम पछाडि धकेल्ने तयारी गरिएको मुख्यमन्त्री निकट स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

लेखक
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?