१९ असार, काठमाडौं । महिलाको आर्थिक सशक्तीकरण, सुरक्षित बाल हेरचाह तथा समावेशी आर्थिक विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिका–८ मा स्थापना गरिएको बाल उद्यान तथा शिशु स्याहारको शुक्रबार वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रवलजंग पाण्डेले उक्त केन्द्र महिलाको आर्थिक स्वतन्त्रता र रोजगारीमा सहभागिता बढाउने महत्त्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे ।
उनले बालबालिकाको सुरक्षित, व्यवस्थित तथा गुणस्तरीय हेरचाहको व्यवस्था भएपछि महिला उद्योग, व्यापार, सेवा, स्वरोजगार तथा अन्य आयमूलक गतिविधिमा निर्धक्क रूपमा सहभागी हुन सक्ने बताए ।
‘यो केन्द्र केवल एउटा भौतिक संरचना मात्र होइन, महिलाको आर्थिक स्वतन्त्रताको ढोका हो’ पाण्डेले भने ‘यसले महिलालाई आफ्ना बालबालिका सुरक्षित वातावरणमा राखेर रोजगारी, स्वरोजगार तथा उद्यमशीलतामा सक्रिय हुन सहज वातावरण सिर्जना गर्नेछ ।’
उनले नेपालमा महिलासँग पर्याप्त सिप, क्षमता र काम गर्ने इच्छा हुँदाहुँदै पनि बालबालिका, ज्येष्ठ नागरिक तथा घरायसी जिम्मेवारीका कारण उनीहरूको आर्थिक सहभागिता सीमित रहेको उल्लेख गरे । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अध्ययनले पनि अवैतनिक हेरचाह कार्यको असमान भार महिलाको आर्थिक सहभागिताको प्रमुख अवरोधका रूपमा औंल्याएको उनले बताए ।
महिलाको आर्थिक सहभागिता बढाउनु सामाजिक न्यायको विषय मात्र नभई दिगो आर्थिक विकासको आधार भएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले विश्व बैंकलगायतका अन्तर्राष्ट्रिय अध्ययनहरूले महिलाको श्रम सहभागिता बढ्दा उत्पादनशीलता वृद्धि हुने बताए ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले निजीक्षेत्र सधैं सरकारसँग हातेमालो गरेर हिँड्न खोजेको उल्लेख गर्दै स्थानीय सरकारसँग पहिलोपटक कार्यक्रममा साझेदारी र सहकार्यमा महिला र बालबालिकामैत्री कार्यक्रम गर्नु सकारात्मक भएको धारणा राखे ।
प्रतिक्रिया 4