१९ असार, काठमाडौं । भक्तपुरको दुधापटीस्थित भक्तपुर अस्पतालले पहिलो पटक मेरुदण्ड भाँच्चिएका व्यक्तिको सफलतापूर्वक शल्यक्रिया गरेको छ । बागमती प्रदेश सरकारको मातहतमा रहेको अस्पतालको नयाँ सेवा सुरु गरेको हो ।
अस्पतालका अर्थोपेडिक सर्जनहरू डा. मधु पाण्डे, डा. शैलेन्द्र महर्जन, डा. बिनित ढकाल तथा डा. रोशन ग्वाछाको टोलीले शुक्रबार शल्यक्रिया गरेको हो ।
शल्यक्रियाको नेतृत्व गरेका डा. पाण्डेका अनुसार सडक दुर्घटनाबाट घाइते भएका भक्तपुरका ४२ वर्षीय पुरुषको ढाडमा गम्भीर चोट लागेर अस्पतालमा भर्ना भएका थिए ।
विस्तृत चिकित्सकीय मूल्यांकन तथा आवश्यक रेडियोलोजिकल परीक्षणपछि मेरुदण्डको हड्डी फुटेको पुष्टि भएको थियो ।
यसअघि आवश्यक पूर्वाधार नभएका कारण सेवा सञ्चालन नभएको र यसै वर्षबाट आवश्यक सामग्रीको व्यवस्था भएपछि सेवा सुरु गरेको डा. पाण्डेले बताए । अब स्पाइनल सर्जरी नियमित हुने पनि उनले जानकारी दिए ।
अघिल्लो साता मात्रै अस्पतालले घुँडाको जोर्नी प्रत्यारोपणको शल्यक्रिया पनि सुरु गरेको थियो ।
प्रतिक्रिया 4