+
फिफा विश्वकप २०२६ :

साविक विजेता अर्जेन्टिनाविरुद्ध नवप्रवेशी केप भर्डेले गर्ला चमत्कार ?

२०८३ असार  १९ गते १६:४३ २०८३ असार १९ गते १६:४३

अर्जेन्टिना र केप भर्डेबीच अन्तर्राष्ट्रिय फुटबल इतिहासमा यो पहिलो भेट हो ।

१९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको खेलमा शनिबार बिहान साविक विजेता अर्जेन्टिना र नवप्रवेशी केप भर्डे खेल्दैछन् । अमेरिकाको मियामी स्टेडियममा हुने उक्त खेल बिहान पौन ४ बजेबाट सुरु हुनेछ ।

केप भर्डेका लागि यो पहिलो फिफा विश्वकप सहभागिता हो । कुनै समय विश्वकप टिभीमा हेरेर ब्राजिल र अर्जेन्टिनाका स्टारहरूको खेलमा रमाउने यो सानो टापु राष्ट्रका नागरिकहरू आज आफ्नै देशले विश्वकपको नकआउट चरण खेलेको हेर्दै इतिहासको साक्षी बनिरहेका छन् ।

करिब ५ लाख मात्र जनसंख्या भएको केप भर्डे विश्वकपको नकआउट चरणमा पुग्ने इतिहासकै सबैभन्दा सानो देश बनेको छ । यस विश्वकपमा सहभागिता जनाएका चार नवप्रवेशी टोलीहरूमध्ये केप भर्डे मात्र अन्तिम ३२ मा पुग्न सफल भएको हो ।

अर्जेन्टिना र केप भर्डे दुवै टोली हालसम्म यस प्रतियोगितामा अपराजित छन् । अर्जेन्टिनाले समूह ‘जे’ मा आफ्ना तीनै खेलमा अल्जेरियालाई ३–०, अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले हराएर शतप्रतिशत रेकर्डका साथ नकआउटमा स्थान बनाएको हो । केप भर्डे दुई पूर्व विश्वकप विजेता स्पेन र उरुग्वे सम्मिलित समूह ‘एच’ बाट लगातार तीन खेल बराबरी खेल्दै उपविजेताका रूपमा नयाँ इतिहास रचेको हो ।

अर्जेन्टिनाका ३९ वर्षीय कप्तान लियोनल मेसी यस विश्वकपमा आफ्नो करिअरकै उत्कृष्ट लयमा देखिएका छन् । समूह चरणका ३ खेलमा ६ गोल गरिसकेका मेसी गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा छन् । मेसीको यो लय र उनलाई जुलियन अल्भारेज, रोड्रिगो डे पल र एलेक्सिस म्याक एलिस्टार जस्ता विश्वस्तरीय खेलाडीहरूको साथ केप भर्डका लागि सबैभन्दा ठूलो चुनौती हुनेछ ।

केप भर्डेको मुख्य बलियो पक्ष उसको रक्षापंक्ति हो । समूह चरणमा स्पेन र साउदी अरेबियालाई ०–० को बराबरीमा रोक्दै टोलीले दुई वटा ‘क्लिन सिट’ राखेको थियो । केप भर्डेका ४० वर्षीय भेट्रान गोलकिपर भोजिन्हा विश्वकपमा एकभन्दा बढी क्लिन सिट राख्ने इतिहासकै तेस्रो पाका गोलकिपर बनेका छन् । अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले पनि केप भर्डेलाई सहज प्रतिद्वन्द्वी मान्न अस्वीकार गर्दै उनीहरू भाग्यले नभई आफ्नै क्षमताले यहाँसम्म आइपुगेको भन्दै सम्मानका साथ मैदान उत्रने बताएका छन् ।

‘केप भर्ड सहज प्रतिद्वन्द्वी होइन । उनीहरू यहाँ भाग्यले आइपुगेका होइनन्, उनीहरू एक राम्रो टोली हुन् । हामीले उनीहरूको सम्मान गर्नुपर्छ र हामी पूर्ण सम्मानका साथ मैदान उत्रनेछौं,’ उनले भने ।

केप भर्डेका मुख्य प्रशिक्षक बुबिस्ताले आफ्नो स्वभाविक र निडर खेललाई अर्जेन्टिनाविरुद्ध पनि निरन्तरता दिने योजना रहेको सुनाए । ‘हामीले सुरुदेखि नै आफ्नो काम र क्षमतामा विश्वास राख्दै आएका छौं । अरूले हाम्रो सम्मान गरे गरेनन्, त्यो उनीहरूको समस्या हो । हामी आफ्नो स्वभाविक र निडर खेललाई अर्जेन्टिनाविरुद्ध पनि निरन्तरता दिनेछौं,’ उनले भने ।

केप भर्डे आफ्नो डेब्यु विश्वकपको नकआउटमै विश्व विजेतासँग भिड्ने इतिहासकै तेस्रो टोली बनेको छ । यसअघि १९३८ मा नर्वेले इटालीसँग र २००६ मा घानाले ब्राजिलसँग खेलेको थियो । अर्जेन्टिना र केप भर्डेबीच अन्तर्राष्ट्रिय फुटबल इतिहासमा यो पहिलो भेट हो । यो खेलको विजेताले क्वार्टरफाइनल प्रवेशका लागि अष्टेलिया र इजिप्टबिचको विजेतासँग खेल्नेछ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय