+
+
Shares
यात्रा :

लप्ची हुँदै चीन जाने ५६ नम्बर सीमास्तम्भ पुग्दा

स्थानीयका अनुसार दुर्गम भूगोल, न्यून जनघनत्व तथा सीमित आवतजावतका कारण यस क्षेत्रमा हालसम्म कुनै सीमा विवाद देखिएको छैन।

तेजकिरण वली तेजकिरण वली
२०८३ असार २२ गते ११:१०

बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्र रहेको लप्ची धार्मिक तथा साहसिक पदयात्राका लागि परिचित गन्तव्य हो । नेपाल–चीन सीमा क्षेत्रको ५६ नम्बर सीमास्तम्भ नजिक रहेको लप्ची दोलखा जिल्लाको बिगु गाउँपालिका–१ अन्तर्गत पर्ने गौरीशङ्कर संरक्षण क्षेत्रमा अवस्थित छ।

काठमाडौँबाट करिब एक दिनको सवारी यात्रापछि लामा बगरमा बास बसियो। त्यसपछि अर्को दिन बिहान बोलेरो रिजर्भ गरेर करिब तीन घण्टाको यात्रा गर्दै थान्द्रुक पुगियो । तामाकोशी जलविद्युत् आयोजनाका सुरुङ मार्ग, अग्ला पहाड, विशाल चट्टान, मुटु नै काँप्ने भीर र पहराहरू छिचोल्दै गरिएको यो यात्रा आफैंमा निकै रोमाञ्चक बन्यो ।

थान्द्रुक पुगेपछि बोलेरो यात्रा समाप्त भयो । त्यहाँबाट तामाकोसी करिडोर हुँदै पैदल यात्रा सुरु भयो । बाटोभरि निर्माणाधीन जलविद्युत् आयोजनाहरू र चट्टान छिचोलेर बनाइएका संरचनाहरूले यस क्षेत्रको तीव्र विकासको झल्को दिन्छन्।

पदयात्राका क्रममा मनमोहक झरनाहरू, सुसाइरहेको तामाकोशी नदीको आवाज तथा विभिन्न वन्यजन्तु र चराचुरुङ्गीको दृश्यले यात्रालाई अझ रोमाञ्चक बनाइरहेको थियो । बाटोभरि थकित मुद्रामा भारी बिसाइरहेका भरियाहरू भेटिए । उनीहरूले गुम्बाका लागि आवश्यक खाद्यान्नदेखि निर्माण सामग्रीसम्म बोकेका थिए ।  ५० देखि १०० केजीसम्मको भारी बोकेर उकालो–ओरालो गरिरहेका थिए ।

उनीहरूमध्ये धेरैजसो रामेछाप, दैलेख, जाजरकोट र सल्यान जिल्लाका रहेछन् ।  भारी बोकेर परिवारको जीविकोपार्जन गरिरहेका ती भरियाहरूको संघर्ष देख्दा केही भावुक बनियो ।  कठिन पहाडी भूगोलसँग संघर्ष गर्दै जीवन धानिरहेका थिए । हामी उनीहरूसँगै पदयात्रा गर्दै यस क्षेत्रको पर्यटन सम्भावना, प्राकृतिक सौन्दर्य र भौगोलिक अवस्थाको अवलोकन गर्दै अघि बढ्यौं

यस भ्रमण टोलीमा तामाकोसी गाउँपालिकाका वडा अध्यक्ष मीनकुमार शिवाकोटी, इलाका प्रशासन कार्यालय सिंगटीका प्रमुख भरत दास, सीमा प्रशासन कार्यालयका प्रतिनिधिहरू तथा बिगु र गौरीशङ्कर गाउँपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो । आफ्नो कार्यक्षेत्रभित्र पर्ने दुर्गम भूगोललाई नजिकबाट बुझ्ने अवसर पाउँदा हामी सबै अत्यन्त उत्साहित थियौँ । यात्राभर मोबाइल क्यामराले भिडियो र तस्बिर खिच्न भ्याइनभ्याइ थियो ।

नेपाल–चीन सीमा क्षेत्रको ५६ नम्बर सीमास्तम्भ नजिक रहेको लप्ची दोलखा जिल्लाको बिगु गाउँपालिका–१ अन्तर्गत पर्ने गौरीशङ्कर संरक्षण क्षेत्रमा अवस्थित छ। यो आध्यात्मिक, प्राकृतिक सौन्दर्य र साहसिक यात्राको अनुपम गन्तव्य हो ।

विभिन्न स्थानमा विश्राम गर्दै करिब चार घण्टाको उकालो, भीर र झरना पार गरेपछि लप्ची गुम्बा पुगियो ।  लामा गुरुहरू तथा गुम्बा व्यवस्थापन टोलीले  आत्मीय स्वागत गर्नुभयो । करिब ४००० मिटरको उचाइमा अवस्थित गुम्बा, वरिपरि फैलिएका सेताम्मे हिमशृङ्खला, तामाकोसी नदीको गडगडाहट र अग्ला चट्टानहरूको दृश्यले यात्राको सम्पूर्ण थकान क्षणभरमै मेटाइदियो । चिया–खाजा खाएपछि  हामी वरपरका प्राकृतिक तथा धार्मिक स्थलहरूको अवलोकन गर्न निस्कियौँ।

कठोर भौगोलिक बनावट, दुर्गम क्षेत्र र प्रतिकूल मौसमका कारण लप्ची अझै पनि धेरै पर्यटकहरूको पहिलो रोजाइ बन्न सकेको छैन । यही कारण यहाँ स्थायी रूपमा बसोबास गर्नेहरू पनि क्रमशः घट्दै गएको स्थानीयले बताए ।

लप्ची पुगेपछि भ्रमणलाई विभिन्न खण्डमा विभाजन गरेर अवलोकन गर्न सकिन्छ । प्रमुख आकर्षणमा नेपाल–चीन सीमा क्षेत्र, लप्ची गुम्बा, मेरापिक गुम्बा, फूलचोकी डाँडा, लप्ची गाउँ, चौरीखर्क लगायतका धार्मिक, प्राकृतिक तथा सांस्कृतिक स्थलहरू पर्दछन् । यी सम्पूर्ण गन्तव्यले लप्चीलाई धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र साहसिक पदयात्राको अद्वितीय संगमका रूपमा स्थापित गरेका छन्।

नेपालचीन सीमा नाका (५६ नं. सीमास्तम्भ)

लप्ची गुम्बाबाट करिब १ घण्टा ३० मिनेटको पैदल यात्रापछि नेपाल–चीन सीमा क्षेत्रको ५६ नं. सीमास्तम्भ रहेको स्थानमा पुग्न सकिन्छ । नेपाल र चीनबीच करिब १,४३९ किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमा रहेको छ । यस सीमामा रहेका ९९ वटा सीमास्तम्भ हिमालका चुचुरा, डाँडाका धार, साँघुरा भञ्ज्याङ, नदी तथा खोल्साहरू हुँदै नेपालको ताप्लेजुङस्थित ओलाङचुङगोला देखि दार्चुलाको टिंकर, कालापानी र लिम्पियाधुरासम्म फैलिएका छन्।

५६ नं. सीमास्तम्भ रहेको क्षेत्र अत्यन्त रमणीय छ। वरिपरि देखिने सेताम्मे हिमशृङ्खलाले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई हिमालजत्तिकै दृढ र अटल बनाएको अनुभूति गराउँछ । हाल यस स्थानबाट औपचारिक रूपमा व्यापारिक गतिविधि वा सीमा आवागमन सञ्चालन नभए पनि चौँरी गोठालाहरूले नेपाल सरकारबाट जारी गरिएको पासको आधारमा नियमित रूपमा आवतजावत गर्ने गरेका छन् ।

स्थानीय बासिन्दाका अनुसार दुर्गम भूगोल, न्यून जनघनत्व तथा सीमित आवतजावतका कारण यस क्षेत्रमा हालसम्म कुनै सीमा विवाद देखिएको छैन। सीमावर्ती भूगोलको अध्ययन, दुई देशबीचको सम्बन्धलाई नजिकबाट बुझ्ने अवसर तथा छोटो दूरीको साहसिक पदयात्राका दृष्टिले यो गन्तव्य अत्यन्त महत्त्वपूर्ण मानिन्छ।

भविष्यमा उत्तर–दक्षिण राजमार्गको अवधारणाअनुसार जलेश्वर–मन्थली–तामाकोसी–सिंगटी–लप्ची हुँदै नेपाल–चीन सीमा नाका जोड्ने सडक विस्तार गर्न सकिएमा यस क्षेत्र व्यापार, पर्यटन तथा सीमापार सहकार्यका दृष्टिले महत्वपूर्ण केन्द्र बन्न सक्छ। यसबाट आर्थिक गतिविधिको विस्तार तथा समग्र क्षेत्रीय विकासमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ।

फूलबारी बस्ती (लालुङ)

सेताम्मे हिमालहरूको बीचमा रहेको सानो बेँसीमा फुलेका पहेँलपुर फूलहरूले यस क्षेत्रको सौन्दर्यलाई अझ आकर्षक बनाएका छन् । करिब ४,२०० मिटरको उचाइमा फुलेका यी फूलले यहाँ आउने पर्यटकहरूलाई फोटो तथा भिडियो खिच्न आकर्षित गरिरहेका छन्।

केही समयअघि मात्र सामाजिक सञ्जालमार्फत चर्चामा आएको लालुङ (फूलबारी बस्ती) पछिल्लो समय विशेषगरी युवा पुस्ताको रोजाइको गन्तव्य बन्दै गएको छ । वरिपरि सेताम्मे हिमाल, खुला चरन क्षेत्रमा चरिरहेका सयौँ चौँरी र याकहरूको दृश्यले यस क्षेत्रको आकर्षण अझ बढाएको छ । यस्तो दृश्य धेरैका लागि नयाँ र अविस्मरणीय अनुभव बन्ने गर्दछ।

गुम्बाहरू

शताब्दीयौँ पुरानो इतिहास बोकेको लप्ची गुम्बा आज बौद्ध धर्मावलम्बीहरूको पवित्र आस्थाको केन्द्र बनेको छ । यहाँका गुम्बाहरू, शान्त प्राकृतिक वातावरण र आध्यात्मिक ऊर्जाले भरिएको परिवेशले यहाँ आउने जो–कोहीलाई आत्मिक शान्तिको अनुभूति गराउँछ ।

तिब्बती बौद्ध परम्पराअनुसार लप्ची, कैलाश र योल्मो (हेलाम्बु) लाई अत्यन्त शक्तिशाली आध्यात्मिक केन्द्रका रूपमा मानिन्छ । नेपाल–तिब्बत सीमा नजिक रहेको लप्चीकाङ र मिलारेपा गुफा बौद्ध धर्मावलम्बीहरूका लागि अत्यन्त महत्त्वपूर्ण तीर्थस्थल हुन् । लप्ची गुम्बा जति आकर्षक छ, यसको इतिहास पनि त्यत्तिकै गौरवपूर्ण छ।

ध्यान केन्द्रका रूपमा विकास गरिएको यस क्षेत्रका एकान्त चट्टानी स्थानहरूमा रहेका साना–साना गुम्बाहरूमा विश्वका विभिन्न देशबाट मानिसहरू ध्यान, योग तथा मेडिटेसन गर्न आउने गरेका छन् । मुख्य पदमार्गबाट करिब चार घण्टाको पैदल यात्रापछि पुगिने यस शान्त र मनोरम स्थानमा विभिन्न देशका साधकहरू ध्यान गरिरहेको दृश्य निकै लोभलाग्दो देखिन्छ ।

हाल गुम्बाका लामा डोजिन नुपडुप रेमजिनको नेतृत्वमा गुम्बाको संरक्षण, विस्तार तथा निर्माणका कार्य अघि बढिरहेको छ ।

लप्ची बस्ती

लप्ची गुम्बाबाट करिब एक घण्टाको पैदल यात्रापछि नेपाल–चीन सीमाको नजिक रहेको नेपालको अन्तिम हिमाली बस्ती लप्ची गाउँ पुग्न सकिन्छ । सानो बस्ती, ढुङ्गाले बनेका परम्परागत घरहरू र वरिपरि चरिरहेका चौँरीका लस्करले यस गाउँको सौन्दर्यलाई थप आकर्षक बनाएका छन् ।

करिब ४,००० मिटरको उचाइमा रहेको यस बस्तीका चौँरी गोठालाहरू नेपाल–चीन सीमासम्म चौँरी चराउन जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको सीमा पास प्रयोग गरी आवतजावत गर्ने गर्दछन् । पछिल्लो समय ‘एक घर, एक धारा’ अभियानअन्तर्गत घर–घरमा खानेपानीको धारा जडान गर्ने कार्य पनि भइरहेको छ ।

चिसो हिमाली सिरेटो, वरिपरिका हिमालबाट बगेका स्वच्छ नदीहरूको सुसाइ र शान्त वातावरणले यस क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनाएको छ । उचित होमस्टे, बासस्थान र खानपिनको व्यवस्था गर्न सके पर्यटनबाट स्थानीयले राम्रो आम्दानी गर्न सक्ने सम्भावना देखिन्छ।

यस क्षेत्रमा पानीको स्रोत पनि प्रशस्त भएकाले जलविद्युत् विकासको राम्रो सम्भावना रहेको छ। भविष्यमा नेपाल–चीन सीमा नाकाबाट सहज आवागमन र व्यापारिक सहजीकरण हुन सके लप्ची गाउँको आर्थिक तथा पर्यटन महत्त्व अझ बढ्ने देखिन्छ।

चिसो मौसममा यहाँका बासिन्दा तल्लो क्षेत्र लुम्राकतर्फ बसाइँ सर्ने गर्दछन् । हिमाली भालुको आक्रमणले खेतीबाली नष्ट गर्ने भएकाले स्थानीयले खाद्यान्न अभावको समस्या पनि भोग्दै आएका छन् ।

लप्चीका अधिकांश बासिन्दाको मुख्य पेशा याक, चौँरी तथा घोडापालन हो । उनीहरूले याकका बाछाबाछी बिक्री, सामान ओसारपसार, दूध, घ्यू र छुर्पी उत्पादन तथा बिक्रीबाट आफ्नो जीविकोपार्जन गर्दै आएका छन्।

प्रकृतिले विशाल सम्भावना दिएको यस क्षेत्रमा चुनौतीहरू पनि कम छैनन् । यातायात, शिक्षा, स्वास्थ्य, सञ्चार तथा अन्य आधारभूत सेवाको पहुँच सीमित भएकाले स्थानीयले धेरै कठिनाइ भोग्नुपरेको छ ।  यही कारण कतिपय परिवार शहरतर्फ बसाइँ सर्न बाध्य भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?