२१ असार, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता जुनी राईसहित नेपालका तीन उसु निर्णायकले चीनमा आयोजित अन्तर्राष्ट्रिय उसु निर्णायक प्रशिक्षण तथा सर्टिफिकेसन कोर्स सफलतापूर्वक पूरा गरेका छन् ।
राईसँगै मञ्जुर महर्जन र दिलीप लामाले हाइनान प्रान्तको हाइकोउमा जुन २८ देखि जुलाई ४ सम्म सञ्चालन भएको साताव्यापी प्रशिक्षणमा सहभागिता जनाएका हुन् ।
अन्तर्राष्ट्रिय उसु महासंघ, एसियाली ओलम्पिक काउन्सिल र एसियाली उसु महासंघको संयुक्त आयोजनामा सम्पन्न प्रशिक्षणमा एसियाका ३९ देशका १६६ निर्णायक सहभागी थिए ।
प्रशिक्षणको उद्देश्य अन्तर्राष्ट्रिय उसु निर्णय प्रणालीलाई एकरूप बनाउनुका साथै निर्णायकहरूको सैद्धान्तिक ज्ञान र व्यावसायिक दक्षता अभिवृद्धि गर्नु रहेको थियो।
नेपाल प्रहरी क्लबको उसु टोलीकी प्रशिक्षकसमेत रहेकी राईले प्रशिक्षणबाट आधुनिक उसुका प्राविधिक पक्ष तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा लागू भएका नयाँ नियमबारे गहिरो ज्ञान हासिल भएको बताइन् ।
‘अन्तर्राष्ट्रिय उसुमा लागू भएका नियम परिवर्तन तथा प्रयोगमा आएका नयाँ प्रविधिबारे विस्तृत जानकारी प्राप्त गर्ने अवसर मिल्यो’ राईले भनिन् ।
उनले यो प्रशिक्षण आगामी एसियाली खेलकुदका लागि नेपालको तयारीमा समेत महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।
‘यो निकै फलदायी प्रशिक्षण रह्यो। विशेषगरी नियमहरूमा भएका महत्वपूर्ण परिवर्तनलाई बुझ्दै टोलीलाई आगामी एसियाली खेलकुदका लागि अझ प्रभावकारी रूपमा तयारी गराउन यसले ठूलो सहयोग पुर्याउनेछ’ उनले भनिन् ।
प्रतिक्रिया 4