+
+
Shares

खसीको मासुमा मनपरी मूल्य, बर्डफ्लु बहाना

उपभोक्ताबाट प्रतिकिलो १७ सय असुल्ने, किसानले पाउने ६ सय

मौकाको फाइदा उठाउँदै बिचौलिया र व्यापारीहरूले उपत्यकामा मागअनुसार खसी अयात नभएको र माग बढेको बहानामा मासुको मूल्य अचाक्ली बढाएको आम उपभोक्ताको आरोप छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८३ असार २२ गते ८:०६

२२ असार, काठमाडौं । आइतबार बिहान शंखमुलमा खसीको मासु किन्न गएकी सुजिता भण्डारी मासु नकिनेर त्यसै फर्किइन् । ‘खसीको मासु त किलोको १७ सय रुपैयाँ पर्ने रहेछ अहिले !,’ उनले सुनाइन्, ‘त्यसपछि म त रित्तै फर्किएँ ।’

उपत्यकामा बर्डफ्लु फैलिएको समाचार आइरहेकाले उनले कुखुराभन्दा पनि खसीको मासु खाने सोच बनाएकी थिइन् । तर, पसलेले भनेको त्यो मूल्य सुनेर उनी झस्किइन् । ‘केही समयअघिसम्म १२ देखि १३ सय रुपैयाँ मूल्य रहेको मासु एक्कासि यति धेरै महँगो ?’ उनले पसलेलाई प्रश्न गरिन् ।

पसलेले ‘जिउँदो खसी नै महँगो भएको र बजारमा पर्याप्त नपाएको’ जवाफ दिएको उनले सुनाइन् । सुजिता मात्रै होइन पछिल्लो समय उपभोक्ताले आधा किलो खसीको मासु समेत किन्न नसकेको गुनासो गरेका छन् ।

काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएसँगै पछिल्लो एक महिनामा खसीको मासुको मूल्य किलोमै ३ सयदेखि ४ सय रुपैयाँसम्म बढेको छ । कुखुरा मासुको विकल्पमा उपभोक्ताले खसीको मासुको प्रयोग बढाएसँगै बजारमा व्यापारीले यसको मूल्य उच्च बनाएका छन् ।

मौकाको फाइदा उठाउँदै बिचौलिया र व्यापारीहरूले उपत्यकामा मागअनुसार खसी अयात नभएको र माग बढेको बहानामा मासुको मूल्य अचाक्ली बढाएको आम उपभोक्ताको आरोप छ ।

हुन त उपत्यकाका मासु पसलमा कुखुरा मासुको खपतमा खासै कमी आएको देखिँदैन । अहिले पनि काठमाडौंका खुद्रा पसलमा कुखुराको मासु नै प्रतिकिलो ३ सय ७० देखि ३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

मासु पसलेहरू नै पहिलेको तुलनामा कुखुरा मासुको खपतमा केही कमी आए पनि बिक्री नरोकिएको बताउँछन् । तर, यही बर्डफ्लुको बहानामा अहिले उपत्यकाका केही सीमित ठाउँमा १ हजार ४ सय ५० देखि १ हजार ५ सय र अधिकांश ठाउँमा १ हजार ६ सय ५० देखि १ हजार ७ सय रुपैयाँ प्रतिकिलोसम्म खसीको मासु किनबेच भइरहेको छ।

एकातिर अचाक्ली मूल्यवृद्धिले उपभोक्ताको भान्सा महँगिएको छ भने अर्कोतिर सस्तोको खोजीमा लाग्दा उपभोक्ताले मिसावटयुक्त अस्वस्थकर मासु खानुपर्ने जोखिम पनि बढेको छ ।

विडम्बनापूर्ण कुरा त के छ भने उपभोक्ताले खसीको मासुमा यति भारी मूल्य चुकाउँदा पनि यसको वास्तविक उत्पादक किसानले भने आफ्नो उत्पादन लागतसमेत उठाउन नसकेको गुनासो गरेका छन् ।

बजारमा मासुको मूल्य अचाक्ली बढ्नुका पछाडि व्यवसायीहरूका भने आफ्नै तर्क छन् । शंखमुलस्थित आइकालु मिट सेन्टरले खसीको मासु प्रतिकिलो १ हजार ६ सय ५० रुपैयाँमा बेचिरहेको छ । आइकालुका सञ्चालक कृष्णराम खड्गीले बजारमा जिउँदो खसीकै मूल्य प्रतिकिलो ९ सयदेखि ९ सय ५० रुपैयाँसम्म पुगेको बताए ।

जिउँदो खसी महँगो पर्ने र मासु तयार पार्दा (प्रोसेसिङ) खर्च धेरै लाग्ने हुनाले शुद्ध खसीको मासु १६ सय ५० रुपैयाँभन्दा कममा बेच्नै नसकिने अवस्था रहेको उनको भनाइ छ ।

‘अहिले जिउँदो खसी नै ९ सय ५० रुपैयाँसम्म पर्न थालेको छ, प्रोसेसिङ खर्च जोड्दा १४ सय ५० मा बेच्दा त हामीलाई सिधै घाटा हुन्छ,’ व्यवसायी खड्गीले भने, ‘कस्टिङ हाई हुने बित्तिकै जति बेचे पनि घाटामै गइरहेको हुन्छ, त्यसैले मूल्य नबढाइ घाटामा बेच्न सकिँदैन ।’

यस्तो अवस्थामा पनि कसैले १४ सय वा १५ सयमा बेचिरहेको छ भने त्यहाँ ५० प्रतिशतभन्दा बढी बाहिरी मासु मिसावट रहेको र सस्तोमा शुद्ध खसीको मासु बेच्न सम्भव नै नभएको उनको दाबी छ ।

खुद्रा व्यापारीहरूले खरिद मूल्य नै महँगो भएको गुनासो गरिरहँदा थोक व्यवसायीले बजारमा खसीबोकाको अभाव भएको दाबी गरेका छन् । नेपाल चौपाया बजार तथा वधशाला व्यवस्थापन प्रालिका सचिव जीवन खतिवडा मासुको माग बढेर भन्दा पनि बजारमा खसीबोकाको आपूर्ति नै घटेकाले मूल्य आकासिएको तर्क गर्छन् ।

काठमाडौंमा दैनिक १ हजार ४ सयदेखि १ हजार ५ सयसम्म जिउँदो खसीबोकाको माग रहे पनि मुस्किलले १ हजार मात्र भित्रिने गरेको उनको भनाइ छ ।

‘बजारमा माग बढेको भन्दा पनि खसीबोका नै अभाव भएको हो, पहिला यही बजारबाट दैनिक १ हजारदेखि १२ सय खसीबोका बिक्री हुन्थ्यो, अहिले अढाई–तीन सय पनि छैनन्,’ खतिवडाले भने, ‘अहिले वर्षा र खेतीपातीको सिजन सुरु भएको छ, पहिला भारतबाट पनि आउँथ्यो, अहिले आउन छाड्यो, गाउँघरमै पनि अभाव छ, जति माग छ, त्यति नआएपछि स्वतः मूल्य बढेको हो ।’

बाख्रापालक महासंघ भन्छ– बिचौलियाको चलखेल धेरै भो

बजारमा खसीबोकाको अभाव भएको र महँगोमा खरिद गर्नुपरेको भन्ने व्यापारीहरूको दाबीलाई बाख्रापालक किसानहरूको छाता संगठनले भने सिधै अस्वीकार गरेको छ ।

नेपाल व्यावसायिक बाख्रापालक महासंघका अध्यक्ष गोविन्द सुवेदीले रोगको बहाना बनाएर बिचौलियाको चलखेल धेरै भएको आरोप लगाए । बर्डफ्लुका कारण मासुको चाप केही बढे पनि काठमाडौंमा दैनिक ४ हजारसम्म खसीबोका नियमित रूपमा भित्रिरहेको सुवेदीको दाबी छ । सामान्य दिनमा पनि काठमाडौंको माग त्यति नै रहेको उनको भनाइ छ ।

बजारमा उपभोक्ता ठगिँदा र व्यापारीले अकुत नाफा कमाउँदा पनि गाउँका किसानले भने १० वर्ष पुरानै मूल्यमा खसीबोका बेच्न बाध्य भएको उनको गुनासो छ ।

‘किसानको उत्पादन लागत अहिले १ हजार रुपैयाँभन्दा बढी पुगिसक्यो, तर गाउँमा अझै पनि ६ सयमै खसीबोका बेचिरहेका छन्,’ अध्यक्ष सुवेदीले भने, ‘मासु बेच्ने व्यापारीले काठमाडौंमा तीन–चारवटा घर ठड्याइसके, तर गाउँको किसान मूल्य नपाएर र घाटा लागेर भएको जमिन बेचेर ऋण तिर्न बाध्य छ, किसानले संगठित रूपमा बजारसम्म उत्पादन ल्याउन नसक्दा बिचौलियाले चरम फाइदा उठाएका छन् ।’

बाख्रापालक किसानहरूले निरन्तर घाटा व्यहोर्नुपरेको र सरकारले कुनै सहयोग नगरेका कारण पछिल्लो समय व्यावसायिक रूपमा बाख्रा पालन गरिरहेका किसानहरूविज पलायन हुन थालेको सुवेदीले बताए ।

यस्तै व्यवसायीहरूले राँगाको मासुको भाउ पनि बढेको बताएका छन् । एक महिनाअघि राँगाको मासु प्रतिकिलो ५ सयदेखि ५ सय ५० रुपैयाँ रहेकामा अहिले ७ सयदेखि ७ सय ५० रुपैयाँ पुगिसकेको उनीहरूको भनाइ छ ।

कुनै समय नेपाली मासु बजारको करिब ३० प्रतिशतसम्म माग भारतबाट आयात हुने जिउँदो खसीबोकाले धान्ने गरेको थियो । तर, भारतमा पशुहरूमा ‘पीपीआर’ नामक रोगको संक्रमण देखिएपछि सरकारले जिउँदो खसीबोका आयातमा पूर्णरूपमा रोक लगाएको छ ।

पशु सेवा विभागको क्वारेन्टाइन महाशाखाले अहिले कानुनी रूपमा खसीबोका भित्र्याउन दिएको छैन । विभागका महानिर्देशक डा. उमेश दाहालले यसलाई रोक लगाएको भन्दा पनि नेपाली बाख्रापालक किसानको हित र अन्तर्राष्ट्रिय स्वास्थ्य प्रमाणपत्रका लागि गरिएको बताए ।

‘हाम्रो देशलाई आवश्यक भयो भने मात्रै ल्याउन दिइने हो,’ डा. दाहालले भने, ‘अहिले त हामीलाई बाहिरबाट खसीबोका ल्याउन आवश्यक नै छैन ।’

हाल व्यावसायिक प्रयोजनका लागि कुनै पनि प्रकारको तयारी मासु तथा फ्रोजन परिकार आयात गर्न पाइँदैन । यद्यपि, ल्याउनै पर्ने अवस्था भएमा पूर्वस्वीकृति लिएर अत्यन्तै सीमित मात्रामा मासु ल्याउन छुट दिइएको छ ।

नेपाली बजारमा सबैभन्दा बढी खपत कुखुराको मासुको हुन्छ भने त्यसपछि खसी र राँगा–भैंसीको मासु धेरै बिक्छ । तर, अहिले कुखुरामा देखिएको बर्डफ्लुका कारण मासुको सन्तुलित आपूर्ति प्रणाली खलबलिएको छ ।

बर्डफ्लु नियन्त्रणको प्रयास स्वरूप सरकारले ठूलो परिमाणमा कुखुरा तथा पन्छीजन्य पदार्थ नष्ट गरिसकेको छ । विभागका अनुसार देशभरि करिब साढे ६ लाख कुखुरा नष्ट गरिसकिएको छ ।

विभागका महानिर्देशक दाहालले उपत्यकाका तीनवटै जिल्लामा संक्रमणदर कम हुँदै गएको तर छिमेकी जिल्ला काभ्रेपलाञ्चोकमा भने अझै केही दिन रहन सक्ने जानकारी दिएका छन् ।

‘काठमाडौं उपत्यकामा बर्डफ्लु सङ्क्रमण घट्ने क्रममा छ, परीक्षणका लागि आउने नमुनाहरू पनि घटिरहेका छन्,’ उनले भने, ‘तर, काभ्रेमा देखिएको संक्रमण अझै केही दिन रहन सक्ने देखिन्छ ।’

काभ्रेका करिब १२/१३ वटा ठाउँमा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । विशेषगरी पनौती र बनेपा नगरपालिका वरपर संक्रमण बढी देखिएको र धुलिखेलमा पनि फाट्टफुट्ट संक्रमण देखिएको विभागले जनाएको छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?