+
+
Shares

अली खामेनीको श्रद्धाञ्जली समारोहमा किन देखिएनन् छोरा मोज्तबा ?

आज तेहरानमा शवयात्रा सम्पन्न भएपछि मंगलबार पार्थिव शरीर कोम लगिनेछ । त्यसपछि बुधबार इराकको एक महत्वपूर्ण शिया धार्मिकस्थलमा श्रद्धाञ्जली कार्यक्रम हुनेछ । अन्तत: बिहीबार उत्तरपूर्वी इरानस्थित उनको जन्मस्थान मशहदमा अन्त्येष्टि गर्ने कार्यक्रम छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते ७:४८

२२ असार, काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि अघिको श्रद्धाञ्जली समारोहमा उनका छोरा मोज्तबा खामेनी अनुपस्थित रहेपछि त्यसबारे विभिन्न अड्कलबाजी सुरु भएको छ ।

आइतबार आयोजित शोक सभामा अली खामेनीका अन्य तीन छोरा– मसुद, मोस्तफा र मेइसाम उपस्थित थिए । कार्यक्रममा राष्ट्रपति मसुद पेजेसकियान, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रमुख अहमद वहिदीलगायत उच्च सरकारी अधिकारीहरूको पनि उपस्थिति थियो ।

तर उत्तराधिकारी छोरा मोज्तबा खामेनी बुवाको श्रद्धाञ्जली समारोहमा अनुपस्थित भएपछि उनको स्वास्थ्य अवस्थाबारे विभिन्न अनुमान जारी छ । उनी मार्चको सुरुतिर सर्वोच्च नेताको जिम्मेवारीमा नियुक्त भएपछि सार्वजनिक रूपमा देखिएका छैनन् ।

उनका पिता मारिएका अमेरिकी–इजरायली हवाई आक्रमणमै उनी पनि घाइते भएको हुन सक्ने भन्ने हल्ला पनि फैलिएको छ ।

अली खामेनीले सन् १९८९ देखि फेब्रुअरी अन्तिम सातामा मृत्यु हुनुअघिसम्म इरानको सर्वोच्च नेताका रूपमा शासन गरेका थिए ।

अनुपस्थितिको कारणबारे अड्कलबाजी

मोज्तबा खामेनीको अनुपस्थितिबारे इरानले कुनै आधिकारिक स्पष्टीकरण दिएको छैन । तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सुरक्षा जोखिम र उनी आक्रमणमा घाइते भएको सम्भावनालाई प्रमुख कारणका रूपमा उल्लेख गरेका छन् ।

रोयटर्स, अल जजिरा, फाइनान्सियल टाइम्स लगायतका अनलाइनहरुले मोज्तबाको अनुपस्थितिको मुख्य कारण सुरक्षा भएको बताएका छन् । यी रिपोर्टहरूका अनुसार इजरायलले उनलाई पनि सम्भावित निशाना बनाउन सक्ने जोखिमका कारण सुरक्षा निकायले सार्वजनिक कार्यक्रममा सहभागी हुन नदिएको हुन सक्छ ।

रोयटर्सले मोज्तबा अमेरिकी–इजरायली आक्रमणमा पर्दा अनुहार तथा खुट्टामा चोट लागेको र गम्भीर घाइते भएको हुनसक्ने भनेर विभिन्न स्रोतहरूका आधारमा समाचार लेखेको छ ।

युरो न्युजले उनी सर्वोच्च नेता नियुक्त भएयता कुनै सार्वजनिक कार्यक्रममा नदेखिनुलाई केही विश्लेषकले यसलाई सुरक्षा तथा सत्ता हस्तान्तरणको संवेदनशील अवस्थासँग जोडेर हेरेको जनाएको छ ।

‘शताब्दीकै सबैभन्दा ठूलो अन्त्येष्टि’

उनको औपचारिक अन्त्येष्टि शुक्रबारदेखि सुरु भएको हो । आगामी एक सातासम्म इरान र इराकका विभिन्न स्थानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिनेछ ।

इरानी अधिकारीहरूका अनुसार १ करोड २० लाखदेखि २ करोड मानिससम्म अन्त्येष्टिमा सहभागी हुने अनुमान गरिएको छ । इरान सरकारले यसलाई ‘शताब्दीकै सबैभन्दा ठूलो अन्त्येष्टि’ भनेर वर्णन गरेको छ ।

खामेनीको पार्थिव शरीर हाल तेहरानस्थित ग्रान्ड मोसल्ला धार्मिक परिसरमा राखिएको छ । त्यहाँ ९७ वर्षीय वरिष्ठ शिया धर्मगुरु जाफर सोभानीले अन्तिम प्रार्थना सञ्चालन गरेका छन् । उनी कोम सहरका धार्मिक शिक्षालयमा अध्यापन गराउने प्रतिष्ठित विद्वान् हुन् ।

आइतबार इरानभर सार्वजनिक बिदा दिइएको थियो । सोही दिन साँझ पार्थिव शरीरलाई ग्रान्ड मोसल्लाबाट बाहिर निकालेर सोमबार तेहरानमा विशाल शवयात्रा निकाल्ने कार्यक्रम छ ।

अन्त्येष्टिका सम्पूर्ण कार्यक्रम कडा सुरक्षा व्यवस्थासहित पूर्वनिर्धारित रूपमा सञ्चालन भइरहेका छन् । मोज्तबा खामेनीको अनुपस्थिति भने इजरायलले उनीमाथि पनि आक्रमण गर्न सक्ने आशंकाबीच अर्थपूर्ण रूपमा हेरिएको छ ।

डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्ति

इरान र इजरायलबीच भएको युद्धविराम हाल कायम रहेको छ । स्थायी शान्ति सम्झौताका लागि वार्ता जारी रहे पनि दुवै पक्षले आवश्यक परे फेरि सैन्य कारबाही गर्न सक्ने चेतावनी दिएका छन् ।

समाचार वेबसाइट एक्सियोसका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अन्त्येष्टि कार्यक्रमका कारण शान्ति वार्ता एक साताका लागि स्थगित गरिएको बताएका थिए ।

उक्त समाचारअनुसार ट्रम्पले अन्त्येष्टिमा इरानका अधिकांश शीर्ष अधिकारीहरू एकै ठाउँमा उपस्थित भएकाले ‘एकै प्रहारमा सबैलाई समाप्त पार्न सकिने’ टिप्पणी गरेका थिए । तर उनले ‘त्यसो गरे वार्ता गर्न कोही बाँकी नरहने भएकाले त्यसो नगर्ने’ पनि बताएका थिए ।

ट्रम्पले इरानी नागरिकहरू खामेनीका लागि रोइरहेको देख्दा आफू अचम्ममा परेको प्रतिक्रिया पनि दिएका थिए । ‘मलाई त मानिसहरूले उनलाई घृणा गर्छन् भन्ने लागेको थियो । सायद ती नक्कली आँसु हुन्,’ ट्रम्पले भनेका छन् ।

ट्रम्प, अमेरिका र इजरायलविरुद्ध इरानी जनताको आक्रोश

ट्रम्पको उक्त अभिव्यक्तिको प्रतिक्रिया दिँदै ५० वर्षीया श्रद्धाञ्जलीदाता जाहरा सफाईले रोयटर्ससँग भनेकी छन्, ‘हामीले ४७ वर्षअघि नक्कली आँसु बगाउन क्रान्ति गरेका होइनौं । यी सबै सहिदको बलिदान पनि नक्कली शोकका लागि होइन ।’

एसोसिएटेड प्रेस (एपी) र द गार्डियनका अनुसार अन्त्येष्टिमा सहभागी केही व्यक्तिले अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध नाराबाजी गरेका थिए । कवि मोहम्मद रसुलीले प्रार्थनाअघि कविता वाचन गर्दै ‘ट्रम्पको हत्या गर्नु हाम्रो जिम्मेवारी हो,’ भनेका थिए ।

उनको सम्बोधनका क्रममा ‘अमेरिकाको मृत्यु होस्’ र ‘इजरायलको मृत्यु होस्’ भन्ने नारासमेत लगाइएको थियो ।

तेहरानमा केही प्रदर्शनकारीहरूले ‘हामी बदला लिनेछौं’ लेखिएका ब्यानर बोकेको पनि देखिएको छ ।

अन्त्येष्टि कार्यक्रममा तेहरानमा मात्र १ करोडभन्दा बढी मानिस सहभागी हुने अनुमान गरिएकाले सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । भीडका कारण दुर्घटना हुन सक्ने जोखिमबारे सरकारी सञ्चारमाध्यमलाई सचेत गराइएको छ ।

इरानको सरकारी समाचार संस्था इर्नाका अनुसार आइतबार ग्रान्ड मोसल्ला परिसर र आसपासका स्वास्थ्य केन्द्रमा ४ हजारभन्दा बढी व्यक्तिले उपचार सेवा लिएका छन् । यद्यपि कुनै मानवीय क्षति भने नभएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

अन्त्येष्टिस्थलका तस्वीरमा श्रद्धाञ्जली दिन आएका मानिसहरूलाई गर्मीबाट जोगाउन पानीको फोहोरा छर्किएको र स्वास्थ्यकर्मीहरूले एक वृद्ध महिलालाई स्ट्रेचरमा लैजाँदै गरेको पनि देखिएको छ ।

बिहीबार जन्मस्थान मशहदमा हुनेछ अन्त्येष्टि

खामेनीको शवपेटिका तेहरानमा भएको आक्रमणमा मारिएका उनका चार आफन्तका शवपेटिकासँगै राखिएको छ । तीमध्ये उनकी एक वर्षीया नातिनी जाहरा मोहम्मदी गोलपायेगानी पनि रहेकी छन् ।

आफ्नो शासनकालभर अली खामेनीले पश्चिमी मुलुकहरूसँग टकरावको नीति अवलम्बन गरेका थिए । उनले गाजास्थित हमास, लेबनानको हिजबुल्लाह र यमनका हुथी विद्रोहीजस्ता अमेरिका तथा इजरायलविरोधी सशस्त्र समूहलाई लामो समयदेखि समर्थन गर्दै आएका थिए ।

सोमबार तेहरानमा शवयात्रा सम्पन्न भएपछि मंगलबार पार्थिव शरीर कोम लगिनेछ । त्यसपछि बुधबार इराकको एक महत्वपूर्ण शिया धार्मिकस्थलमा श्रद्धाञ्जली कार्यक्रम हुनेछ । अन्तत: बिहीबार उत्तरपूर्वी इरानस्थित उनको जन्मस्थान मशहदमा अन्त्येष्टि गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?