२२ असार, चितवन । बजारको बढ्दो माग धान्न नसकेपछि चितवनको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले करिब ७ करोड रुपैयाँको लगानीमा नयाँ दुग्धजन्य उत्पादन प्लान्ट थप गर्ने भएको छ ।
संस्थाका अध्यक्ष प्रदीप तिमिल्सिनाका अनुसार दूध, दही, मही र घ्यूको माग बढेपछि हालको उत्पादन क्षमता अपुग भएको हो । संस्थाको आफ्नै १३ कठ्ठा जग्गामा नयाँ प्लान्ट स्थापना गर्ने तयारी भइरहेको उनले बताए ।
उनका अनुसार भदौबाट प्लान्ट निर्माण तथा उपकरण जडानको काम सुरु हुनेछ । हाल आवश्यक कागजी प्रक्रिया पूरा भइरहेको छ ।
भरतपुर महानगरपालिका–६, केशरबागस्थित अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले हाल दैनिक ४ हजार लिटर दूध, ४ हजार लिटर दही, २ हजार लिटर मही तथा घ्यू, नौनी, बटर, फ्रेस क्रिम र करिब १ हजार ५ सय लिटर दूधबाट पनिर पनि उत्पादन गर्दै आएको जनाएको छ ।
नयाँ प्लान्ट सञ्चालनमा आएपछि प्रतिघण्टा २ हजार लिटर दूध प्रशोधन गर्ने क्षमता पुग्ने अध्यक्ष तिमिल्सिनाले बताए ।
जिल्लाको अग्रणी दुग्ध सहकारीमध्ये एक अन्नपूर्णले हाल ५५० किसानबाट दैनिक ८ हजार लिटरभन्दा बढी दूध संकलन गर्दै आएको छ । आफ्नै किसानबाट संकलित दूधले पनि माग नधानिएपछि आवश्यक पर्दा अन्य डेरीबाट समेत दूध खरिद गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
संस्थाले करिब ३ करोड रुपैयाँको लागतमा आफ्नै कोल्ड स्टोरसमेत निर्माण गरिसकेको छ ।
यसैगरी, प्रतिघण्टा ५ हजार केजी उत्पादन क्षमता भएको पशुदाना उद्योग पनि सहकारीले सञ्चालन गर्दै आएको छ । हाल मासिक १ लाख ८० हजार केजी दाना उत्पादन हुने गरेकोमा करिब ९० हजार केजी आफ्नै सदस्य किसानले उपभोग गर्ने र बाँकी मात्रै बाहिरी बजारमा बिक्री हुने गरेको छ ।
डीडीसीभन्दा बढी मूल्यमा दूध खरिद
अन्नपूर्णले किसानबाट दुग्ध विकास संस्थान (डीडीसी) ले निर्धारण गरेको मूल्यभन्दा बढी दरमा दूध खरिद गर्दै आएको जनाएको छ । डीडीसीले प्रतिलिटर ६५ रुपैयाँ मूल्य तोकेको दूध अन्नपूर्णले प्रतिलिटर ८३ रुपैयाँमा खरिद गर्ने गरेको अध्यक्ष तिमिल्सिनाले बताए।
‘हामी किसानलाई डीडीसीले तोकेको भन्दा बढी मूल्य दिन्छौं । कुनै पनि भुक्तानी रोकिँदैन। प्रत्येक १५ दिनमा रकम सिधै किसानको बैंक खातामा पठाइन्छ । यहाँका किसानलाई दूध बिक्री नहुने वा भुक्तानी नपाउने चिन्ता छैन,’ उनले भने ।
पहिले डीडीसीलाई दूध बिक्री गर्ने अन्नपूर्णले अहिले भने आफ्नै ब्रान्डमार्फत दूध, दही, मही, घ्यू र पनिर बजारमा बिक्री गर्दै आएको छ । चितवनका साथै काठमाडौं, पोखरा, गोरखा, लमजुङ, धादिङ र तनहुँलगायत जिल्लामा यसको बजार विस्तार भएको छ ।
किसानका लागि एप, उपदान र सहुलियत ऋण
सहकारीले सदस्य किसानका लागि मोबाइल एपमार्फत दूधको फ्याट, बिक्री विवरण, भुक्तानी, बीमा तथा प्राप्त गर्नुपर्ने रकम हेर्न सकिने व्यवस्था गरेको छ ।
संस्थाका व्यवस्थापक करुण पोखरेलका अनुसार प्रत्येक पाँच वर्षमा किसानलाई उपदानसमेत उपलब्ध गराइन्छ ।
‘किसानबाट प्रतिलिटर २ रुपैयाँ बचत गराउँछौं र संस्थाले थप ३ रुपैयाँ जम्मा गरिदिन्छ । पाँच वर्षपछि त्यो रकम एकमुष्ट उपदानका रूपमा फिर्ता गर्छौं । प्रत्येक दशैंमा पनि छुट्टै प्रोत्साहन रकम उपलब्ध गराइन्छ,’ उनले भने ।
सहकारीले किसानलाई विनाधितो ५ लाख रुपैयाँसम्म सहुलियत ब्याजदरमा ऋणसमेत उपलब्ध गराउँदै आएको छ ।
महीको बढ्दो माग
चितवनमा बढ्दो गर्मीसँगै महीको माग उल्लेखनीय रूपमा बढेको छ । ठूला सभा, सम्मेलन, विवाह, सहकारीका कार्यक्रम तथा सरकारी समारोहमा समेत महीको प्रयोग बढेको सहकारीले जनाएको छ ।
केही दिनअघि चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा समेत मागअनुसार मही उपलब्ध गराउन नसकिएको अध्यक्ष तिमिल्सिनाले बताए । त्यसैगरी कृषि तथा वन विज्ञान विश्वविद्यालय को पाँचौं दीक्षान्त समारोहमा पनि ठूलो परिमाणमा मही वितरण गरिएको थियो ।

चितवनका विभिन्न डेरी तथा सहकारीले अहिले बोतलमा प्याक गरी म्यादसहित बजारमा मही बिक्री गरिरहेका छन् । अध्यक्ष तिमिल्सिनाका अनुसार चिसोमा राखे प्याक गरिएको मही सात दिनसम्म उपभोग गर्न सकिन्छ ।
उनका अनुसार मही स्वदेशी उत्पादन भएकाले विदेशबाट आयात हुने चिसो पेय पदार्थको विकल्पका रूपमा स्थापित हुँदै गएको छ । धेरै होटल तथा रेस्टुरेन्टले समेत चिसो पेय पदार्थको सट्टा मही उपलब्ध गराउन थालेका छन् ।
संस्थाका अनुसार महीबाट धेरै नाफा नहुने भए पनि यसको स्वाद र पोषण प्रवर्द्धन गर्ने उद्देश्यले उत्पादन लागतकै हाराहारीमा बिक्री गर्ने गरिएको छ ।
अध्यक्ष तिमिल्सिनाले जिल्लाका स्थानीय तहका कार्यक्रम, सहकारीका साधारणसभा, भोज तथा विभिन्न सामाजिक समारोहमा महीको प्रयोग उल्लेखनीय रूपमा बढेको बताए ।
उनका अनुसार इच्छाकामना गाउँपालिकाले पालिकामा आउने पाहुनालाई स्वागतस्वरूप मही प्रदान गर्ने अभ्याससमेत थालेको छ ।
चितवन, नवलपरासी, गोरखा र लमजुङका सहरी क्षेत्रमा प्याकेजिङ गरिएको मही नियमित रूपमा बिक्री हुने गरेको छ ।
अध्यक्ष तिमिल्सिनाले मही र दहीको बढ्दो बजारले बहुराष्ट्रिय चिसो पेय पदार्थ कम्पनीहरूको बिक्रीमा समेत प्रभाव पारेको आफूले जानकारी पाएको बताए । ‘४०–५० प्रतिशतसम्म बिक्री घटेको भन्ने सुनेको छु । मही र दहीको बजार आक्रामक रूपमा विस्तार भइरहेको छ । उपभोक्ताको साथ र विश्वास पनि बढ्दो छ,’ उनले भने ।
उनका अनुसार महीको स्वास्थ्य लाभबारे जनस्तरमा बढ्दै गएको सकारात्मक बहसले पनि यसको उपभोग विस्तार गर्न सहयोग पुगेको छ ।
प्रतिक्रिया 4