+
+
Shares
ब्लग :

विकासको अमेरिकी सिस्टम

अमेरिकाको ठूलो भूगोल भए पनि हरेक साना-साना स्थानीय इकाइसम्म सरकारको उल्लेख्य उपस्थिति, प्रशासकीय प्रभावकारिता र सरकारी कामको विकेन्द्रीकरण नीति अनुसरणयोग्य छ।

दल रावल दल रावल
२०८३ असार २२ गते १४:२१

संयुक्त राज्य अमेरिकाका १६ वटा राज्यमा पुगेर केही कुरा देख्ने, सिक्ने र अनुभव बटुल्ने अवसर मिल्यो। भ्रमण नितान्त व्यक्तिगत भए पनि प्रायःजसो राज्यमा पुग्दा नेपालबाट विभिन्न समयमा अमेरिका पुगेर आफ्नो कर्मथलो बनाइसकेका धेरै नेपालीसँग भेटघाट र साक्षात्कार गर्ने अवसर मिल्यो। अमेरिकाले गरेका भौतिक तथा आर्थिक प्रगतिका परिणामहरू नजिकबाट नियाल्ने अवसर पनि मिल्यो। नागरिक स्वतन्त्रताका बहुआयामिक पक्षहरू व्यवहारतः अनुभूत गर्ने अवसर प्राप्त भयो।

अमेरिका आफैंमा एक महादेश पनि हो। यो झन्डै-झन्डै सम्पूर्ण युरोपको क्षेत्रफल जति ठूलो छ। अमेरिकाको हालको जनसङ्ख्या करिब ३४१ मिलियन छ। जनसङ्ख्याका आधारमा अमेरिका विश्वको तेस्रो ठूलो देश हो। क्षेत्रफलका हिसाबले विश्वको चौथो ठूलो देश हो। अमेरिकाको कुल क्षेत्रफल लगभग ९८.३ लाख वर्ग कि.मी. छ।

कुल जमिनको क्षेत्रफल लगभग ९१.५ लाख वर्ग कि.मी. र पानीको क्षेत्रफल लगभग ७.६ लाख वर्ग कि.मी. रहेको मानिन्छ। चाखलाग्दो विषय के लाग्यो भने अमेरिकाको ग्रामीण क्षेत्रमा करिब ९५ प्रतिशत भूमि र शहरी क्षेत्रमा करिब ५ प्रतिशत भूमि रहेछ। तर, त्यसको विपरीत करिब ८३ प्रतिशत मानिस शहरी क्षेत्रमा र १७ प्रतिशत मानिस ग्रामीण क्षेत्रमा बसोबास गर्दा रहेछन्।

अमेरिकामा संसारभरका झन्डै १९० भन्दा बढी देशका मानिसहरू बसोबास गरिरहेका छन्। त्यसैले अमेरिकालाई ‘आप्रवासीहरूको देश’ पनि भन्ने गरिन्छ। अमेरिका धेरै जातीय, भाषिक र सांस्कृतिक विविधता भएको देश हो। जातीय बसोबासको हिसाबले हेर्दा मुख्य रूपमा श्वेत/युरोपियन मूलका अमेरिकी, हिस्पानिक वा ल्याटिनो समुदाय, अफ्रिकी मूलका अमेरिकी, एशियाली अमेरिकी, आदिवासी/नेटिभ अमेरिकी, मध्यपूर्व तथा मिश्रित जातीय समुदायहरू बस्दै आएको पाइन्छ। धर्मावलम्बीको तथ्याङ्क हेर्दा अमेरिकामा ईसाई धर्म मान्नेहरूको सङ्ख्या बढी भए पनि यहाँ यहुदी, हिन्दु, बौद्ध, मुस्लिम आदि विविध धर्मका मानिसको बसोबास छ र सबै समुदायले धार्मिक स्वतन्त्रताको उपयोग गरिरहेका छन्।

अमेरिका बहुभाषा, बहुसंस्कृति भएको देश हो। यहाँ ३५० भन्दा बढी भाषा प्रयोगमा रहेको पाइन्छ। अधिकांशले अङ्ग्रेजी भाषा बोल्दछन्। यो देश सांस्कृतिक विविधताले सजिएको छ। विश्वका मानव जातिको सुन्दर फूलबारी जस्तो देखिन्छ अमेरिका। बसाइँसराइपछि अमेरिकी नागरिक भइसकेका मानिसहरू पनि अधिकांशले आफ्नै मातृदेशको नाम उल्लेख गर्ने गरेको पाइयो।

अमेरिकी जनगणना विभाग २०२४ को प्रतिवेदनलाई आधार मान्दा यहाँको गरिबी दर करिब १०.६ प्रतिशत छ। यसको अर्थ लगभग ३ करोड ५९ लाख मानिस अर्थात् नेपालको कुल जनसङ्ख्याभन्दा बढी मानिस गरिबीको रेखामुनि जीवन बिताइरहेका छन्। थोरै सङ्ख्यामा घरबारविहीन (होमलेस) मानिसहरू पनि छन्। तर पनि हुने वर्गबाट लिएर नहुनेलाई दिने आर्थिक र सामाजिक सुरक्षा नीतिका कारण कुनै पनि गरिब–असहाय नागरिक आधारभूत सेवा–सुविधाबाट वञ्चित छैनन् र सरकारबाट आवश्यक सहयोग प्राप्त गरिरहेका छन्। कुनै पनि विषयलाई लिएर कुनै पनि नागरिकप्रति भेदभाव गर्न पाइँदैन। सबै खालका भेदभाव विरुद्ध अमेरिकी संविधानले कडाइका साथ व्यवस्था गरेको छ।

मूलतः अमेरिकी अर्थतन्त्र पूँजीवादी भए पनि कतिपय सन्दर्भमा समाजवाद र पूँजीवाद दुवै प्रकारको मिश्रित आर्थिक र सामाजिक प्रणालीको अभ्यास गरिएको पाइन्छ। हुनेहरू अर्थात् सम्पन्नहरूबाट धेरै कर लिएर नहुने वा असहायलाई दिने सामाजिक सुरक्षा नीति त्यहाँ व्यवहारतः लागू गरिएको छ। सीप र क्षमता अनुरूप काम र काम अनुरूप उचित दाम पाएका छन्। साथै अमेरिकामा रहेका ठूला-ठूला कर्पोरेट हाउसहरूलाई प्रवर्धन गर्ने आर्थिक नीति पूँजीवादको आधारभूत कार्यक्रमका रूपमा लागू हुँदै आएको छ। यसर्थ दुवै प्रकारका मान्यताहरू सँगसँगै अगाडि बढाइएका छन्।

अमेरिकी राज्यहरूको राजधानीमा मात्र सबै राज्यस्तरीय कार्यालयहरू छैनन्। राज्यभरि विभिन्न ठाउँमा कार्यालयहरूको स्थापना गरिएको छ। राज्यभित्र पनि हरेक कुरालाई समानुपातिक तरिकाले छरेर राखिएको छ, ताकि सेवा र विकासको समानुपातिक वितरण होस्।

वैयक्तिक गोपनीयता र नागरिक स्वतन्त्रतालाई विशेष ध्यान दिइन्छ। खुला समाज, संसारबाट सक्षम जनशक्तिको आयात, प्रविधिको विकास र भौगोलिक बनावट जस्ता कुराले आजको अमेरिका बन्न साथ दिएको छ। अमेरिकी समाजले समयलाई पूँजीमा रूपान्तरण गरेको छ। ज्ञान र पूँजीलाई प्राथमिकता दिंदै आएको छ। विकास जनताको अधिकार हो र जनता विकासका मालिक हुन् भन्ने मान्यतालाई स्थापित गरिएको छ।

केही वर्षयता सार्वजनिक पूर्वाधारका क्षेत्रमा अमेरिकी सरकारले त्यति धेरै लगानी नगरे पनि दशकौं पहिला निर्माण गरिएका पूर्वाधारहरू नै दूरदृष्टिका साथ बनाइएकाले आजका दिनमा पनि पर्याप्त छन्। सरकारको ढुकुटीबाट बनाइएका अत्यावश्यक योजनाहरूलाई हाम्रा नेता र पार्टीले जस लिने होडबाजी गर्छन्, त्यहाँ त्यस्तो छैन र विकासमा जनताको पूर्ण स्वामित्व स्थापित गरिन्छ। स्थानीय शहरहरूमा कुनै पनि योजना लागू गर्ने वा नगर्ने बारे स्थानीय समुदायलाई मतदान समेत गराएर विकासमा स्थानीय समुदायको अपनत्व स्थापित गरिन्छ।

सडक यातायातदेखि ट्राफिक प्रणाली अत्यन्तै व्यवस्थित छ। बस्तीहरूको व्यवस्थापन निकै वैज्ञानिक रूपबाट गरिएको छ। कुनै पनि नयाँ बस्तीहरूको स्थापना वा विस्तार गर्नुअघि सबै प्रकारका आधारभूत पूर्वाधारहरू निर्माण गरिन्छन्। सबै कुरालाई ‘सिस्टम’ ले बाँधेको छ र त्यसलाई पालना गर्न प्रत्येक मानिस बाध्य छन्। आफ्नो कामलाई धर्म र श्रमलाई संस्कृतिको रूपमा अमेरिकी समाजले आत्मसात् गरेको छ।

कागजी योग्यताभन्दा व्यक्तिको दक्षता र अनुभवलाई उचित स्थान दिइन्छ। कुनै पनि व्यक्तिको मूल्याङ्कन पहुँच र समयावधिको आधारमा होइन, उसको कार्यसम्पादन (परफर्मेन्स) का आधारमा गर्ने परिपाटी छ। कमाएको पूँजी देशभित्रै खर्च गर्ने प्रकारको अदृश्य प्रणाली लागू गरिएको छ। आम्दानीका आधारमा आवश्यक पर्ने ऋणको व्यवस्था निकै सहज छ। समग्रमा अमेरिकी शासन व्यवस्थाले आफ्ना नागरिकहरूलाई पूर्ण रूपमा स्वतन्त्र र आत्मनिर्भर बनाएको छ।

सेवा क्षेत्रको विकेन्द्रीकरण

अमेरिका धेरै ठूलो देश भएकाले यहाँ धेरै राज्य र शहर ठूला छन्। आजको अमेरिका बन्नुको पहिलो शर्त यहाँको प्रभावकारी समानुपातिक विकासको अवधारणा हो भन्दा अनौठो नहोला। देशको ठूलो भूगोल भए पनि हरेक साना-साना स्थानीय इकाइसम्म सरकारको उल्लेख्य उपस्थिति, प्रशासकीय प्रभावकारिता र सरकारी कामको विकेन्द्रीकरण नीति अनुसरणयोग्य छ।

अमेरिकाको ध्रुवीय राज्य अलास्का नेपालभन्दा झन्डै १० गुणा ठूलो छ भने टेक्सास राज्य नेपालभन्दा झन्डै ४.६ गुणा ठूलो छ। राज्यहरूको राजधानीको स्थापना, शहरहरूको विकास, बस्तीहरूको व्यवस्थापन, बजार केन्द्रहरूको व्यवस्थापन र सरकारी कार्यालयहरूको व्यवस्थापनको कुरा अत्यन्तै अनुसरणयोग्य छ।

अझै २५० वर्ष अगाडिदेखि राज्यहरूको निर्माण शुरु भए पनि योजनाबद्ध दूरदर्शिताका कारण राज्य र राजधानीहरूको व्यवस्थापन गर्दा जनसङ्ख्या मात्र होइन, भूगोललाई पनि उच्च महत्त्व दिइएको छ। राज्यका राजधानीहरू निर्धारण गर्दा बढी जनसङ्ख्या र ठूला शहरभन्दा भूगोलको केन्द्रमा पर्ने गरी साना शहरहरूमा राखिएको छ। जसबाट अधिकारको विकेन्द्रीकरण भई समानुपातिक विकासमा टेवा पुगेको स्पष्टै देखिन्छ। ठूला शहरहरूमा बढ्दो शहरीकरण र रोजगारीका अवसरहरूको केन्द्रीकरण भई विकास र अवसरहरूमा समानुपातिकता नहुने भएकाले ठूला शहरहरूमा भन्दा साना ठाउँहरूमा राजधानी स्थापना गरिएका छन्।

उदाहरणका लागि, वासिङ्टन राज्यको ठूलो शहर सियाटल भए पनि झन्डै १५० किलोमिटर टाढा ओलम्पियामा राजधानी छ। न्युयोर्क राज्यको राजधानी न्युयोर्क शहरभन्दा झन्डै ३०० किलोमिटरको दूरीमा रहेको अल्बानीमा छ। क्यालिफोर्नियाका ठूला शहर सान फ्रान्सिस्को र लस एन्जलस हुन्, तर राजधानी रहेको शहर साक्रामेण्टो ती शहरहरूबाट क्रमशः १५० र ६४० किलोमिटर टाढा छ।

अमेरिकाका धेरै विश्वविद्यालय केन्द्रीय राजधानी, राज्यको राजधानी अथवा नाम चलेका ठूला शहरमा नभएर धेरै पर, साना ठाउँमा स्थापना गरिएका छन्। ती विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, कर्मचारी र अन्य सरोकारवालाहरूको बाक्लो उपस्थितिका कारण त्यहाँ साना-साना शहरहरूको निर्माण भएका छन्, जसलाई ‘युनिभर्सिटी सिटी’ भनिन्छ।

सबै कुरा देश वा राज्यका राजधानीमा मात्र राख्दा केन्द्रीकरण हुने भएकाले कतिपय केन्द्रीय मन्त्रालय र विभागका कार्यालयहरू राज्यभरिका विभिन्न शहरमा आवश्यकता अनुसार छरिएका छन्। राहदानी जारी गर्ने केन्द्रहरू वासिङ्टन डीसी बाहिर देशभरि २७ ठाउँमा छन् भने भिसाको काम राजधानीभन्दा सयौं किलोमिटर टाढा केन्टकी र न्यु ह्याम्पसायर गरी दुई ठाउँमा हुन्छ। राज्यस्तरीय कार्यालयहरू विभिन्न ठाउँमा राखिएका छन्। केन्द्र र राज्यका संसद् भने केन्द्रीय र राज्यका राजधानी भएको ठाउँमै राखिएका छन्।

अमेरिकी राज्यहरूको राजधानीमा मात्र सबै राज्यस्तरीय कार्यालयहरू छैनन्। राज्यभरि विभिन्न ठाउँमा कार्यालयहरूको स्थापना गरिएको छ। राज्यभित्र पनि हरेक कुरालाई समानुपातिक तरिकाले छरेर राखिएको छ, ताकि सेवा र विकासको समानुपातिक वितरण होस्। कर्मचारीहरूको बसाइ, सेवाग्राहीहरूको आवागमनले त्यस ठाउँको आर्थिक प्रणालीमा असर पर्ने र सेवा–सुविधाको विकेन्द्रीकरण हुने हुनाले सकेसम्म छरेर राखिएको छ।

धेरैजसो काम त अनलाइन र हुलाकबाट हुने भएकाले सेवाप्रवाह निकै सहज छ। त्यस्तै अमेरिकाका क्यालिफोर्निया, नेब्रास्का, टेक्सास, भर्मन्ट र भर्जिनियामा नागरिकता र आप्रवासन सम्बन्धी काम गर्नका लागि सेवा केन्द्रहरू राखिएका छन्। यी कुनै पनि ठाउँमा स्वयम् व्यक्ति जानुपर्दैन, सबैमा आवश्यक कागजात अनलाइन अथवा हुलाकबाट बुझाउने गरिन्छ।

शिक्षा प्रणाली

अमेरिकाको शिक्षा विश्वमै गुणस्तरीय मानिन्छ। विशेष गरी राज्य सरकारहरूले उच्च शिक्षामा धेरै लगानी गरेका छन्। ‘स्टेट युनिभर्सिटी’ हरूमा राज्यको निश्चित लगानी हुन्छ र यिनलाई ‘पब्लिक युनिभर्सिटी’ भनिन्छ। शिक्षालाई सामान्यतया विभिन्न तहमा विभाजन गरिएको छ: ३-५ वर्षका बालबालिकालाई पूर्व-प्राथमिक तहमा राखेर विद्यालयको आधारभूत तयारी गराइन्छ।

स्वास्थ्य सेवा निकै महँगो भएकाले प्रायः बीमामा आधारित छ। अमेरिकामा अधिकांश मानिसले उपचारको क्रममा स्वास्थ्य बीमा प्रयोग गर्छन्।

ग्रेड १-५ सम्म प्राथमिक तह (एलिमेन्टरी), ग्रेड ६-८ निम्न माध्यमिक तह (मिडल) र ग्रेड ९-१२ माध्यमिक तह (हाईस्कूल) कायम गरिएको छ। बालबालिकालाई यी सबै तहको शिक्षा निःशुल्क प्रदान गरिन्छ। अमेरिकामा विश्वविद्यालय र कलेजको सङ्ख्या धेरै ठूलो छ। गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै संसारभरिका विद्यार्थीको शैक्षिक गन्तव्य हुनुका नाताले वर्षेनि अर्बौं डलर अमेरिका भित्रिएको छ। दुनियाँको सक्षम जनशक्ति अमेरिका भित्रिंदा देशलाई थप योग्य जनशक्ति आपूर्ति भइरहेको छ। विद्यार्थी र तिनका अभिभावकहरू अमेरिका आउने हुनाले वर्षेनि शैक्षिक पर्यटकहरूको सङ्ख्या पनि उल्लेख्य रूपमा बढेको छ र आर्थिक गतिविधिमा उल्लेख्य टेवा पुगेको छ।

विद्यालय तहबाटै विद्यार्थीलाई आत्मनिर्भर हुन सिकाइन्छ। करिब १८ वर्ष पूरा भएपछि युवा-युवती आत्मनिर्भरताको बाटोमा लाग्छन्। अमेरिकी कानून अनुसार पैतृक सम्पत्तिमाथि सन्तानको प्राकृतिक अधिकार नहुँदा प्रायः युवा-युवती आत्मनिर्भरताको बाटोमा लाग्ने गर्छन्।

स्वास्थ्य प्रणाली

अमेरिकाको स्वास्थ्य प्रणाली संसारकै सबैभन्दा विकसितमध्ये मानिन्छ। तर यो धेरै महँगो पनि छ। यहाँ अत्याधुनिक अस्पताल, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी र आधुनिक प्रविधि उपलब्ध छन्। स्वास्थ्य सेवा निकै महँगो भएकाले प्रायः बीमामा आधारित छ। अमेरिकामा अधिकांश मानिसले उपचारको क्रममा स्वास्थ्य बीमा प्रयोग गर्छन्।

बीमा विना उपचार धेरै महँगो हुन्छ। स्वास्थ्य बीमा धेरै प्रकारका छन्। जसमध्ये ६५ वर्षभन्दा माथिका नागरिकका लागि सरकारी कार्यक्रम ‘मेडिकेयर’, कम आय भएका मानिसका लागि सरकारी सहायता ‘मेडिकेड’ तथा सरकारले सहुलियत दिने स्वास्थ्य योजना ‘एसीए’ विशेष गरी लागू गरिएको छ। स्वास्थ्य सेवामा जनशक्तिको निकै ठूलो माग र राम्रो सेवासुविधा हुने भएकाले धेरै मानिस त्यतातिर आकर्षित हुन्छन्।

(रावल एमाले केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रदेशका पूर्वमन्त्री हुन्।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?