+
+
Shares

लडाइँमा ज्ञात, इतिहासमा अज्ञात

वर्ष दिनसम्म आमाको खोजीमा हिंडेको ऊ आफैं नालापानी युद्धका गोर्खाली कप्तान बलभद्र कुँवरको टोलीमा सामेल हुन पुग्छ ।

मनोज अधिकारी मनोज अधिकारी
२०८३ असार २३ गते ११:४०

‘मेरा साना दुःखले आर्ज्याको मुलुक होइन । सबैलाई चेतना भया ।’

हामीले दशकौं अघिदेखि पढ्दै, लेख्दै र सुन्दै आएको वाक्य हो यो । के यो मुलुक एक व्यक्तिको दुःखले बनेको हो ?

हालै प्रकाशित केशवराज ज्ञवालीको उपन्यास अज्ञातले यही मुल प्रश्नको उत्तर खोजेको छ । के यो मुलुक एक व्यक्तिको मात्र प्रयासले बनेको हो त ? होइन भने किन ‘हाम्रा दुःखले आर्ज्याको मुलुक‘ भनिएन ? आखिर यो मुलुक बनाएको कसले हो ?

केही साताअघि टेक्ससको डालस नजिक फोर्नीस्थित कथाकार कृष्ण कुसुमको निवासमा मध्यरात कटिसक्दा अज्ञातका लेखक ज्ञवाली यस्तै प्रश्न गरिरहेका थिए । उनका यी प्रश्न हामी अर्थात् नारायण श्रेष्ठ, सन्तोष रिमाल, दिनेश कार्की, म र कृष्ण कुसुमप्रति लक्षित थिएनन् । प्रश्न थियो, इतिहाससँग । जसले हामीलाई विद्यालयदेखि नै अपुरो अनि व्यक्तिपूजक गाथा मात्र पढाइरह्यो ।

हामीमध्ये कसैसँग यसको जवाफ थिएन, थोर–बहुत थियो भने उनै ज्ञवालीसँग मात्र । हामी त महासागर अघि अँजुली थापेर उभिएका प्यासी थियौं त्यहाँ । किनभने ज्ञवाली इतिहासका अनगिन्ती दस्तावेजका हजारौं पाना खोतलेर, तिनलाई खारेर, वर्षौंको अध्ययनपछि एउटा सग्लो कृति सिर्जना गरी भर्खरै फर्किएका थिए । उनकै मुखबाट इतिहासको गर्भमा लुकाइएका तथ्य सुन्न हामी रात माया मारेर होटलको कोठा छोडी कृष्ण कुसुमको घरमा बस्न पुगेका थियौं । ज्ञवालीले हस्ताक्षर गरेको उनको नवीनतम् कृति अज्ञात हामै्र हातमा थियो तर पढ्न बाँकी ।

ज्ञवाली बोल्दै गए, हामी सुनिरह्यौं, समय रोकिएन । छापाखानाबाट भर्खरै निस्किएको कागज र मसीको मिठो गन्धसहितको पुस्तक लिएर ओछ्यानमा पुग्दा बिहानीपख भइसकेको हुँदो हो ।

बोस्टन फर्केर अज्ञात पढ्न थाल्दा विश्वकपको रौनकले छोप्यो । दैनिक खेलहरू हेर्नु अनि अज्ञातलाई पल्टाउँदै जानु सँगसँगै भो । उता विश्वकप नकआउट चरणमा प्रवेश गर्‍यो, यता अज्ञातले अर्कै लोकमा पुर्‍याएर छोड्यो ।

म पुस्तक अलि ढिलो पढ्छु । कतै कतै दोहोर्‍याउँछु । कतै धर्को लगाउँछु । कतै प्रश्न उठाउँछु । कतै टक्क अडिएर सोचमग्न हुन्छु । त्यसैले मेरो पठनको गति तीव्र हुँदैन ।

यद्यपि दैनिकीलाई केवल तीन जिम्मेवारीमा सीमित गरेर ‘खाने, पढ्ने र सुत्ने‘ मात्र तालिकामा राखी दुई वा तीन दिनमा सिंगो पुस्तक पढ्ने गरेको छु बेला–बेलामा । यसरी पढ्दा आफूलाई पूरै पुस्तकको संसारमा समाहित गरेको अनुभूति हुन्छ । घटना, पात्र र परिवेशमा स्वयं पुगेझैं लाग्छ ।

‘मन्या तिमीले फिरङ्गी फौजको जनरल रोलो जिलेस्पीलाई ढाल्यौ,’ कप्तान बलभद्र मन्याप्रति गर्व गर्दै विजयभाव व्यक्त गर्छन् । अरुले पनि भन्छन्, ‘क्याबात क्याबात मन्या ।’

यसपालि त्यस्तो तालिका बनाउन सकिएन । तर पनि अज्ञातभित्रका ज्ञात पात्रहरूले मलाई साथ छोडेनन् । मुख्यगरी मन्यासँगै बहकिएर म उही परिवेशमा पुगिरहें । गोविन्दे खवास, हिरा र भुदाससँग पनि । कथाको परिवेशमा पुगेपछि फर्किहाल्न सजिलो हुँदैन । त्यसैले कहिले नालापानी, कहिले भण्डारखाल, कहिले निदेनी दहमा पुगेँ र त्यहीं अडिएँ ।

अज्ञात इतिहासमा आधारित उपन्यास हो, इतिहासको दस्तावेज होइन । यो उपन्यासकारको कल्पनाको उपज हो । यद्यपी उपन्यासको पृष्ठभूमि र पात्रहरू चर्चित नाम हुन् । तर पढ्दै जाँदा कोरा कल्पना होइन, इतिहासकै पुर्नलेखन जस्तो भान पर्छ, जुन लेखकको खुबी हो भन्ने लाग्छ ।

अज्ञातले राष्ट्र निमार्णको गर्भमा पसेर उत्तर खोज्ने प्रयास गरेको छ । र यसमा ज्ञवालीले अदम्य साहस गरेका छन् । कथा लेख्नकै लागि जोकोहीले यस्तो साहस गर्दैनन् ।

लेखकलाई इतिहासले चिनाएका ज्ञात अनुहारभन्दा बढी अज्ञात पात्रहरूले तानेपछि जन्मिएको यो कृति नेपाली साहित्य भण्डारको उच्च स्थानमा रहनेमा शंका गरिरहनु पर्दैन ।

नेपालको निर्माता को हो ? वा को-को हो ? कुनै एक राजाको ठूलो राज्य भोग गर्ने लोभले मात्र यो राज्य जन्मिएको हो त ?

लेखक यस्तै प्रश्नहरूमा कैयौं वर्ष घोत्लिए । यसमा संलग्न हजारौंहजार मान्छेको लस्कर उनको कल्पनामा आयो । प्रश्न झन् थपियो । तर इतिहासका पुस्तकले आजसम्म राजाको नाम मात्र पढायो । अनि पढायो, केही भारदार र सेनानायकका वीरगाथा । प्रश्न अझै बाँकी रह्यो । लेखक थामिएनन् । उनलाई लाग्यो, राज्य निर्माणमा संलग्न हजारौं अनाम पात्रबारे इतिहासले कहिल्यै पढाएन । सायद् ती गन्तीमै परेनन् ती ।

यिनै गन्तीमा नपरेका पात्र खोज्न लेखक इतिहासतिर मोडिए । उनी अमेरिकाबाट नेपाल फर्किए । त्यसपछि इतिहासको सतहमा ओर्लिए । खलङ्गा अर्थात् नालापानी किल्लासम्मै पुगे । इतिहासले राजा, महाराजा र भारदारलाई चिन्छ । मैदानमा ज्यान हत्केलामा राखी तिनै राजा–महाराजाका लागि पहरा दिने सामान्य सिपाहीलाई चिन्दैन ।

लेखकलाई खोज्नु थियो, इतिहासमा अलिखित नामहरूमध्ये कुनै एक पात्रको कथा ।

उपन्यास सुरु हुन्छ गोविन्दे खवासको छोरो मन्या कमारो भएको कथाबाट । तर उसकी आमा आफ्नो छोराले कमारो बन्नु नपर्ने सर्तमा बेचिएकी थिइन्।

१२ वर्षअघि आफू नजन्मिंदै हराएका बाबु हरिद्धारमा छन् भन्ने सुनेर खोज्न हिंडेको मन्यालाई जोगीले फेला पारेपछि कथाले लय समात्छ । उसको बाबु गोविन्दे खवास कमारो थिएन । ऊ तिलङ्गा अर्थात् सामान्य सिपाही थियो । तर परिबन्धले ऊ भाग्नु पर्ने अवस्था आयो । परिबन्धले मन्याकी आमा बेचिनु परेको थियो । परिबन्धले मन्या कमारो बन्न पुगेको थियो । त्यही कमारो मन्या कसरी बाबु खोज्न हरिद्धार पुग्छ । कसरी आमालाई खोज्दै भौंतारिएर चारतिर कुद्छ अनि कसरी गोर्खाली लडाइँको एक सशक्त योद्धा बनेर उभिन्छ भन्ने विशाल क्यानभास यो कृतिले उतारेको छ ।

उपन्यास पढ्दा घरीघरी ध्यान त्यस कालखण्डमा पुग्छ, अनि आफ्ना पुर्खा कुन लडाइँमा र के भूमिकामा थिए भन्ने सोचमग्न गराउँछ । ओहो ! त्यो त्रासद्, निर्मम, भयावह समयमा आफ्ना पूर्खा तिलङ्गा थिए कि ? झराली पो भएर युद्धमा श्रमदान गर्थे ? जागिर खोसिएका तर आवश्यक पर्दा लडाइँमा खटिनुपर्ने ढाक्रे भए कि ? पजनीमा परे कि ? कागते हुलाकी भई सरकारी चिठ्ठीपत्र ओसार्थे कि ? वा थाप्ले हुलाकी थिए ? हामी आज कसका सन्तति हौं भन्ने प्रश्न टाउको भित्र घनफनी घुम्न थाल्छ ।

पुस्तकमा कतै पनि बिझाउने बिम्बहरू थोपरिएको छैन । पाठकलाई बोझिला दर्शनको भार बोकाइएको छैन । बिना अर्थ र प्रसंगमा खोक्रो आदर्श छाँटिएको छैन । लेखन शैली असाध्यै सरल छ । पाठकलाई पढ्दा बोझिलो लाग्ने वाक्य संरचना प्रयोग भएका छैनन् ।

बरू पाठकले सहजै आफू इतिहासको त्यही कालखण्डमा पुगेजस्तो अनुभूति गर्न सक्छन् । पढ्दै जाँदा पाठक घरी–घरी मन्यासँगै हिंडिरहेका हुन्छन् । मन्याकी आमासँग कहाँ, कुन बेला साक्षात्कार होला भन्ने आशमा पाठक घरी मन्याभन्दा अघिअघि हिंड्न खोज्छन् । यो लेखकीय कौशल हो ।

यति हुँदाहुँदै पात्रहरूको संवादमा भने कताकता यथार्थनजिक पुग्न नसकेकको भान हुन्छ । त्यसबेला कसरी बोलिन्थ्यो ? संवादको शैली र भाषागत लवज कस्तो हुन्थ्यो भन्ने अनुभूति पठन क्रममा भइदिए सुनमा सुगन्ध हुन्थ्यो ।

लेखकले पुस्तकको शीर्षक अज्ञात किन राखे होलान् ? धैर्य गर्नुस्, पठनक्रममा यो आफैं बोध हुन्छ ।

युद्धले छिन्न–भिन्न परिवारको अबोध छोरो मन्याको बल्लतल्ल हरिद्धारमा बाबुसँग भेट हुन्छ, तर जीवनको अन्तिम घडीमा । त्यसपछि मन्या आमाको खोजीमा भौंतारिन्छ । वर्ष दिनसम्म सुराग पछ्याउँदै आमाको खोजीमा हिंडेको ऊ आफैं नालापानी युद्धका गोर्खाली कप्तान बलभद्र कुँवरको टोलीमा सामेल हुन पुग्छ । भेल्लोरको कर्नेल रोलोसँग नालापानी युद्धमा मन्याको भिडन्त पर्छ । र मन्याकै प्रहारले रोलो गोर्खाली भूमिमा ढल्छ ।

‘मन्या तिमीले फिरङ्गी फौजको जनरल रोलो जिलेस्पीलाई ढाल्यौ,’ कप्तान बलभद्र मन्याप्रति गर्व गर्दै विजयभाव व्यक्त गर्छन् । अरूले पनि भन्छन्, ‘क्याबात क्याबात मन्या ।’

आमा खोज्दै हिंडेको मन्या यसरी गोर्खाली फौजको एक होनाहार सिपाही कहलिन्छ । तर इतिहासले कहीं मन्याको नाम लेख्दैन । बरु अज्ञात राखिदिन्छ ।

मन्या आफूले नदेखेको हजुरबा, जीवनको अन्तिम क्षणमा भेटेको बाबु अनि ऊ आफैं गरी तीनपुस्ता गोर्खाली लडाइँमा सामेल हुन्छन् । तर ऊ आफूले जितेको लडाइँमा संसार हारेका मान्छे देखेर खुसी हुँदैन, बरु चिन्तित देखिन्छ । उसलाई लाग्छ–किल्ला त थामियो, तर जितेको लडाइँमा प्राण चढकाएकाको संसार भत्कियो । खासमा मन्या त्यहाँ लडाइँ लड्न गएकै थिएन । आमा भेट्ने लोभले पुगेको थियो ।

उसको मनमा प्रश्न उठ्छ, ‘यो जितको मूल्य कुन-कुन घरले, कति ओटा आमाको कोखले, कति ओटा केटाकेटीका शिरमा फेरि कहिल्यै नर्बिर्सिने आशिषले तिर्नुपर्ला ?‘

त्यसपछि मन्याले के गर्ला ? लडाइँमा आफ्नो कौशल जारी राख्ला ? यति गर्दा पनि मन्याले आमालाई भेट्न पाउँछ कि पाउँदैन ?

लेखक ज्ञवालीले भनेका छन्, ‘अज्ञात इतिहासमा हराएका वा लुकाइएका पात्रहरूको एक बीउ कथा हो ।‘ उनले दिवंगत आमालाई सम्झेर थप भनेका छन्, ‘अज्ञात बाँझो जमिनमा खसेका अनेकौं बीउमध्ये टुसा हालेको एउटा बीउको कथा हो ।’

अमेरिकाको व्यस्त जीवनशैलीमा इन्जिनियरिङ् पेशामा सक्रिय रहँदारहँदै ज्ञवालीले केही वर्षअघि कथासङ्ग्रह अर्को भोर लेखेका थिए, जुन कृतिले २०७८ को पद्यमश्री साहित्य पुरस्कार पाएको थियो ।

अज्ञात उनको दोस्रो कृति हो । लेखकीय कौशल, शिल्प र कथानक बनोट हेर्दा उनी दर्जनौं कृतिका स्रष्टाभन्दा कम्ती लाग्दैनन् ।

अहिलेलाई भन्नै पर्छ, ‘अज्ञात‘ पढ्नु पर्ने पुस्तकमध्ये एक हो । जुन सिफारिसयोग्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?