+
+
Shares

महावीर भन्छन्- धेरैलाई ४ अर्ब कहाँ खर्च होला भन्ने छ, तर यो पैसा केही होइन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १७:५७
फाइल तस्वीर

२२ असार, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयले विज्ञान प्रविधिको क्षेत्रमा हालसम्मकै ठूलो रकम छुट्याएको बताएका छन् ।

सोमबार राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रायलगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले विज्ञान तथा प्रविधिका क्षेत्रमा यसअघि कहिल्यै यति ठूलो बजेट विनियोजन नभएको बताएका हुन् ।

यसअघि १ अर्ब रुपैयाँसम्म छुट्याएको र सो रकम समेत आवश्यक कानुनी व्यवस्था नहुँदा खर्च हुन नसकेको बताए । सोही कारण हाल धेरै मान्छेलाई यो रकम कहाँ खर्च होला ? भन्ने उत्सुकता बढेको उनको भनाइ छ । तर ४ अर्ब रुपैयाँका विज्ञान तथा प्रविधि क्षेत्रमा एकदमै कम रकम भएको बताए । यद्यपि अहिलेलाई भने यो रकम पर्याप्त रहेको उनको भनाइ छ ।

उनले खर्च गर्ने कार्यक्रम निर्धारण गर्न बाँकी रहेकोले विनियोजित ४ अर्ब रुपैयाँमध्ये ३ अर्ब ४० करोड रुपैयाँ अबण्डामा राखिएको बताए ।

मन्त्री पुनकाअनुसार मन्त्रालयका अघिल्ला कार्यक्रम सञ्चालनका लागि ६० करोड रुपैयाँ छुट्याइएको छ भने बाँकी ३ अर्ब ४० करोड रुपैयाँको खर्च योजना ऐन तथा नियमावली बनेपछि मात्रै तय गरिनेछ ।

उहाँका अनुसार मन्त्रालयले अहिले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी ऐन र नियमावली तयार गर्ने काम अघि बढाएको छ । ती कानुनी आधार तयार भएपछि मात्रै अबण्डामा रहेको बजेट कार्यान्वयनमा ल्याइने उनले जानकारी दिए ।

उनले भने, ‘सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई ४ अर्ब रुपैयाँ छुट्याएको छ, यो भनेको पूँजीगत खर्चको एक प्रतिशत हो । यसमा पहिलेदेखि नै सञ्चालन भइरहेका केही कार्यक्रममा ६० करोड रुपैयाँ छुट्याइएको छ, बाँकी ३ अर्ब ४० करोड रुपैयाँ अबण्डामा राखिएको छ, यो बजेट जेठ १५ गते आँउदाखेरी के गर्ने, कसो गर्ने भन्ने थाहा नै थिएन, त्यही भएर अबण्डामा राखिएको हो ।’

उनले अगाडि भने, ‘साढे ३ अर्ब रुपैयाँ कसरी खर्च हुन्छ भन्नेकुरा धेरैलाई अचम्म लागेको छ, किनभने अहिलेसम्म यति रकम छुट्याएको नै थिएन, अहिलेसम्मको इतिहासमा २०८० मा विज्ञान, प्रविधिका लागि १ अर्ब रुपैयाँ छुट्याएको थियो, त्यो पनि खर्च गर्ने ऐन नभएर खर्च हुन सकेन, अर्थ मन्त्रालयले त्यो रकम विश्वविद्यालयहरूलाई बाँड्यो । अहिले ४ अर्ब रुपैयाँ बजेट छुट्याउँदा धेरैलाई अचम्म लागेको छ। यो बजेट कसरी, कहाँबाट खर्च होला भन्ने छ तर यो ४ अर्ब टिको लगाउने भन्छ, दशैमा टिको लगाउने हो, यसले केही हुँदैन ।’

उनले युवालाई विज्ञान तथा नवप्रर्वतनको क्षेत्रमा लाग्न मन्त्रालयले प्रोत्साहन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?