२२ असार विराटनगर । गृहमन्त्री सुधन गुरुङले अतिक्रमित संरचना खाली गर्न निर्देशन दिएको भोलिपल्ट कोशी अस्पतालले अतिक्रमित संरचना खाली गर्न सात दिने सूचना जारी गरेको छ ।
गत ५ असारमा अतिक्रमित संरचना खाली गर्न १५ दिने सूचना जारी गरेको थियो । तर, अतिक्रमित संरचना खाली भएको थिएन् । आइतबार अस्पतालको अनुगमन गरेका गृहमन्त्री गुरुङले तत्काल अतिक्रमित संरचना खाली गर्न निर्देशन दिएका थिए ।
अस्पताल प्रशासनले सोमबार जग्गा अतिक्रमण गरेका संस्थाको कार्यालयमा सात दिन भित्र संरचना खाली गर्ने सूचना टाँसेको हो । अस्पतालले माइकिङ गरेर पनि संरचना खाली गर्न सचेत गराएको छ ।
कोशी अस्पतालको विराटनगर-७ मा रहेको जग्गा वर्षौंदेखि नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले संरचना बनाएर भाडामा लगाएका छन् । ति संस्थाले ३० भन्दा बढी सटर बनाएर भाडामा लगाएका छन् ।
अस्पताल प्रशासनका अनुसार क्षयरोग निवारण संस्थाले ६ कट्ठा ८ धुर जग्गामा संरचना बनाएको छ । ती संरचनाबाट मासिक करिब २ लाख रुपैयाँ भाडा उठाउँदै आएको छ । नेपाल रेडक्रस सोसाइटीले २ कट्ठा जग्गामा बनाएको भवनमा राष्ट्रिय वाणिज्य बैंकलाई र अन्य व्यक्तिलाई भाडामा दिएको छ । जसबाट करिब १ लाख ५० हजार भाडा संकलन गर्दै आएको छ । गणेश मन्दिर र देवकोटा पुस्तकालयले पनि व्यावसायिक सटर बनाएर भाडामा लगाएका छन् ।
आइतबार साँझ गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले संयुक्त रूपमा निरीक्षण गरेका थिए । सो क्रममा मन्त्रीद्वयले सरकारी सम्पत्तिको अस्वाभाविक दोहन रोक्न र अस्पतालको गुरुयोजना कार्यान्वयनका लागि जग्गा तुरुन्त खाली गराउन भनेका थिए ।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसद रुविना आचार्यले पनि अस्पतालको अतिक्रमित संरचना खाली नभएको भन्दै आवाज उठाएकी थिइन् ।
प्रतिक्रिया 4