२२ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले एकैपटक ६ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सर सम्झौता गर्दै नेपाली खेलकुदको व्यावसायिक इतिहासमै निजी क्षेत्रबाट भएको सबैभन्दा ठूलो साझेदारीमध्ये एक गरेको छ ।
एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग टाइटल स्पोन्सरका रूपमा तीन वर्षे सम्झौता गरेको हो ।
सोमबार आयोजित विशेष कार्यक्रममा सम्बन्धित ६ टोलीका प्रतिनिधि तथा एग्रो थाई फुड्स प्रालिकी बिजनेस हेड सोनिया रानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौताअनुसार आगामी तीन वर्षसम्म एक्स्ट्रिम इनर्जी ड्रिंक्स सम्बन्धित टोलीहरूको प्रमुख प्रायोजक रहनेछ । साथै टोलीहरूको प्लेइङ जर्सीको अगाडिको प्रमुख स्थानमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको लोगो रहनेछ ।
कम्पनीले यस साझेदारीमार्फत नेपालको सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एनपीएलसँग जोडिँदै आफ्नो ब्रान्डलाई थप सशक्त रूपमा स्थापित गर्नुका साथै नेपाली क्रिकेटको व्यावसायिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
एग्रो थाई फुड्स प्रालिका नेसनल सेल्स म्यानेजर कृष्ण दाहालले एनपीएलका ६ टोलीसँग टाइटल स्पोन्सरका रूपमा सहकार्य गर्न पाउनु कम्पनीका लागि गर्वको विषय भएको बताए ।
‘नेपाल प्रिमियर लिग नेपाली क्रिकेटकै सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता हो । यसका ६ टोलीसँग टाइटल स्पोन्सरका रूपमा सहकार्य गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो । यो साझेदारी केवल ब्रान्ड प्रवर्द्धनका लागि मात्र नभई नेपाली क्रिकेटको दीर्घकालीन विकासमा योगदान पुर्याउने उद्देश्यले गरिएको हो’ दाहालले भने ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले पछिल्ला केही वर्षदेखि नेपाली खेलकुदमा निरन्तर लगानी गर्दै आएको छ । कम्पनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजक हुनुका साथै क्रिकेट, फुटबल, भलिबल, म्याराथन लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितासँग पनि आबद्ध रहँदै आएको छ ।
दसैंपछि आयोजना हुने एनपीएलको तेस्रो संस्करणअघि भएको यो सम्झौताले नेपाली खेलकुदमा निजी क्षेत्रको बढ्दो लगानी र विश्वासलाई थप बलियो बनाएको छ । कम्पनीले आगामी दिनमा पनि नेपाली खेलकुद, खेलाडीको क्षमता विकास र खेल संस्कृतिको विस्तारमा निरन्तर योगदान दिने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया 4