+
+
Shares

चिलिङ भ्याटको क्षमता ३ गुणाले बढाइयो, डाँडाखर्कका किसान उत्साहित

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा
२०८३ असार २३ गते ९:५६

२३ असार,  तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका-१ डाँडाखर्कका किसानका लागि दुग्ध उत्पादन केवल जीविकोपार्जनको माध्यम मात्र होइन, दैनिक आम्दानीको भरपर्दो स्रोत बन्दै आएको छ ।

वर्षौंदेखि पशुपालन गर्दै आएका किसानले उत्पादन गरेको दूध समयमै बजारसम्म पु‍र्‍याउन नसक्दा गुणस्तरमा कमी आउने, दूध बिग्रिने तथा उचित मूल्य नपाउने समस्या भोग्दै आएका थिए । तर, अब भने उनीहरू लामो समयदेखि भोग्दै आएको समस्याबाट राहत पाउने भएका छन् ।

लालीगुराँस दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडले एक हजार लिटर क्षमताको पुरानो चिलिङ भ्याटलाई विस्तार गर्दै ३ हजार लिटर क्षमताको आधुनिक दुग्ध चिस्यान (चिलिङ भ्याट) मेसिन सञ्चालनमा ल्याएको छ । क्षमता तीन गुणाले बढेसँगै दूध संकलन, भण्डारण तथा बजारीकरणलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

लालीगुराँस नगरपालिका, प्रदेश सरकार र सहकारी संस्थाको साझेदारीमा ९ लाख ८५ हजार रुपैयाँको लगानीमा चिलिङ भ्याट सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ । यसअघि एक हजार लिटर क्षमताको चिलिङ भ्याट हुँदा दैनिक संकलन हुने दूध भण्डारण गर्न समस्या हुने गरेको थियो । क्षमता अभावका कारण दूध क्यानमै राख्नुपर्ने, समयमै चिस्यान गर्न नसक्दा दूध फाट्ने तथा गुणस्तरमा असर पर्ने समस्या बारम्बार दोहोरिने गरेको सहकारी संस्थाका सचिव डम्बर दाहालले बताए ।

उनका अनुसार हाल संस्थामार्फत दैनिक करिब एक हजार ६ सय लिटर दूध संकलन भइरहेको छ । उत्पादन बढ्दै गएपछि भण्डारण क्षमताको अभाव महसुस भएको र सोही आवश्यकतालाई ध्यानमा राख्दै ३ हजार लिटर क्षमताको चिलिङ भ्याट विस्तार गरिएको हो । अब दूधको गुणस्तर कायम राख्न, सुरक्षित भण्डारण गर्न तथा बजार व्यवस्थापनलाई सहज बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

संस्थाले संकलित दूधमध्ये अधिकांश दूध कामधेनु डेरी, तरहरामा बिक्री गर्दै आएको छ भने दैनिक करिब २ सय ५० लिटर दूध स्थानीय बजार बसन्तपुरमा छुर्पी उत्पादनका लागि बिक्री हुँदै आएको छ । पहाडी क्षेत्रमा उत्पादन भएको दूध तत्काल बजारसम्म पुर्याउन कठिन हुने भएकाले किसानले वर्षौंदेखि भोग्दै आएको समस्या अब सहज हुने देखिएको छ । विशेषगरी गर्मी याममा दूध बिग्रिने जोखिम उच्च हुने गरेकामा अब आवश्यक तापक्रममा सुरक्षित भण्डारण गर्न सकिने भएको छ ।

लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङका अनुसार दुग्ध उत्पादन तथा बजारीकरणलाई व्यवस्थित बनाउन चिस्यान केन्द्रले महत्वपूर्ण भूमिका खेल्नेछ । स्थानीय कृषकलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्दै उत्पादन वृद्धि र आम्दानी बढाउन नगरपालिका निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको उनले बताए । कृषि र पशुपालनलाई स्थानीय आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाइएको उनको भनाइ छ ।

हाल सहकारी संस्थामा १८३ जना शेयर सदस्य आबद्ध छन्। सदस्यहरूले ३ सय ५० भन्दा बढी उन्नत जातका गाई पाल्दै आएका छन । स्थानीय किसान रामबहादुर तामाङ यसको उदाहरण हुन् ।

उनले आफ्नो फार्मबाट दैनिक करिब ७० लिटर दूध बिक्री गर्दै आएका छन्। दूध बिक्रीबाट मात्रै उनले मासिक ८० हजारदेखि ९० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन । उनीजस्ता धेरै किसानको मुख्य आम्दानीको स्रोत नै दुग्ध व्यवसाय बनेको छ ।

डाँडाखर्क र आसपासका बस्तीका किसानले पछिल्ला वर्षहरूमा व्यावसायिक रूपमा गाई तथा भैँसीपालन विस्तार गर्दै आएका छन । चिस्यान केन्द्रको क्षमता वृद्धि भएपछि थप दूध उत्पादन गर्न किसानहरू उत्साहित बनेका छन् ।

दूध सुरक्षित भण्डारण हुने र बजार व्यवस्थापन सहज हुने भएपछि पशुपालन व्यवसाय विस्तार गर्ने सोच किसानहरूले बनाएका छन । दुग्ध उत्पादनलाई थप व्यवस्थित बनाउन आवश्यक पूर्वाधार निर्माणमा पनि नगरपालिकाले लगानी गरेको छ ।

दूध संकलन तथा चिस्यान केन्द्र सञ्चालनका लागि आवश्यक एकतले भवन करिब ३५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । उक्त भवनले दूध संकलन, भण्डारण र व्यवस्थापनलाई थप व्यवस्थित बनाएको छ ।

लालीगुराँस नगरपालिकाले सञ्चालन गरिरहेको अर्गानिक कृषि कार्यक्रमलाई समेत दुग्ध व्यवसायले टेवा पुर्‍याउँदै आएको छ । पशुपालनबाट उत्पादन हुने गोबर तथा जैविक मलको प्रयोगले स्थानीय स्तरमा अर्गानिक खेती प्रवर्द्धनमा सहयोग पुगेको छ ।

पहाडी गाउँमा स्थापना भएको ३ हजार लिटर क्षमताको यो चिस्यान केन्द्र केवल एउटा मेसिनको विस्तार मात्र होइन, स्थानीय कृषकको श्रमको उचित मूल्य सुनिश्चित गर्ने, दूधको गुणस्तर जोगाउने र ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउने महत्वपूर्ण आधार बनेको छ ।

लेखक
प्रकाश पाक्साँवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?