+
+
Shares

सिप परीक्षण नरोकिए साउदीमा श्रमिक नपठाउने म्यानपावर व्यवसायीको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १२:१२

२३ असार, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी अरब जाने नेपाली श्रमिकका लागि लागु गर्न लागिएको स्किल भेरिफिकेसन प्रोग्राम (एसभीपी) तत्काल स्थगित नगरे साउदी अरबमा नेपाली श्रमिक पठाउने प्रक्रिया नै रोक्ने चेतावनी दिएको छ ।

संघले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले सरोकारवालासँग पर्याप्त छलफल नगरी श्रमिकमाथि अनिवार्य सिप परीक्षणको नाममा थप आर्थिक भार थोपर्न खोजेको आरोप लगाएको हो । संघले यस्तो व्यवस्था स्वीकार्य नभएको स्पष्ट गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

संघका अनुसार नेपाल र साउदी अरबबीच श्रमिक आपूर्ति बिजनेस टु बिजनेस (बीटुबी) मोडलमार्फत हुँदै आएको छ । यस व्यवस्थाअन्तर्गत रोजगारदाता कम्पनीले नेपाली म्यानपावर कम्पनीमार्फत आवश्यक श्रमिक छनोट गर्दै आएको अवस्थामा सीमित निजी संस्थामार्फत अनिवार्य सिप परीक्षण लागु गर्नु द्विपक्षीय श्रम सम्झौताको भावना विपरित रहेको संघको भनाइ छ ।

संघले सिप परीक्षणका नाममा अतिरिक्त शुल्क उठाउने, सीमित सेवा प्रदायकमार्फत एकाधिकार कायम गर्ने र भविष्यमा थप परीक्षणका नाममा श्रमिकमाथि आर्थिक बोझ बढाउने जोखिम रहेको दाबी गरेको छ । अहिले पनि बायोमेट्रिक, अपोइन्टमेन्ट, भिसा स्ट्याम्पिङलगायत विभिन्न शीर्षकमा श्रमिकले ठूलो रकम खर्च गर्नुपरेको र थप शुल्कले उनीहरू झन् मारमा पर्ने संघले जनाएको छ ।

विज्ञप्तिमा साउदी सरकारले साँच्चिकै दक्ष जनशक्ति आवश्यक ठाने निःशुल्क परीक्षणको व्यवस्था गर्नुपर्ने सुझाव पनि दिइएको छ । श्रमिकले अतिरिक्त शुल्क तिर्नुपर्ने अवस्था सिर्जना गर्नु न्यायोचित नहुने संघको भनाइ छ ।

संघले वर्तमान स्वरूपको एसभीपी कार्यक्रम स्पष्ट रूपमा अस्वीकार गर्ने घोषणा गर्दै सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपालस्थित साउदी दूतावास र साउदी सरकारलाई कार्यक्रम तत्काल स्थगित गरी सरोकारवालासँग व्यापक परामर्श गर्न आग्रह गरेको छ ।

संघले माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ । त्यसका साथै आवश्यक परे अनिश्चितकालका लागि साउदी अरबमा नेपाली श्रमिक पठाउने कार्य नै स्थगित गर्ने र त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने चेतावनी पनि दिएको छ ।

संघले नेपाली श्रमिकको हक, हित, संरक्षण र सुरक्षामा कुनै पनि प्रकारको सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्‍याउँदै श्रमिकमाथि अतिरिक्त आर्थिक भार थप्ने व्यवस्था तत्काल रोक्न सरकारसँग माग गरेको छ ।

साउदीले नेपालबाट जाने श्रमिकको अनिवार्य रूपमा सिप परीक्षण गरेर मात्रै लैजानेगरी प्रकृया अघि बढाएको थियो । म्यानपावरको विरोधपछि उक्त कार्यक्रम तत्कालका लागि स्थगित गरेको थियो ।

नेपालस्थित साउदी दूतावासले साउदी सरकारको नीति अनुसार नै भएकाले अनिवार्य रूपमा लागु हुने प्रष्ट पारेको थियो । तर, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले उक्त प्रक्रिया स्थगित गर्न अनुरोध गरेका थिए । साउदी राजदूतसँगको भेटमा मन्त्री यादवले दुई देशबीच भएका श्रम सम्झौता अनुसार अघि बढ्नुपर्ने बताउँदै उक्त प्रक्रिया स्थगित गर्न अनुरोध गरेका थिए । जवाफमा राजदूतले दुई देशबीचको छलफलपछि मात्रै अघि बढ्न प्रष्ट पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?