+

अफगान क्रिकेटर शपूर जाद्रानको निधन

२०८३ असार  २३ गते १५:४१ २०८३ असार २३ गते १५:४१

२३ असार, काठमाडौं । अफगानिस्तानका पूर्वक्रिकेटर शपूर जाद्रानको ३८ वर्षको उमेरमा मंगलबार निधन भएको छ । लामो समयदेखि दुर्लभ प्रतिरक्षा प्रणालीसम्बन्धी रोग (एचएलएच) बाट पीडित जद्रानले पछिल्ला केही महिनादेखि भारतको दिल्ली–एनसीआर क्षेत्रमा उपचार गराइरहेका थिए ।

अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले सामाजिक सञ्जालमार्फत उनको निधनको पुष्टि गर्दै जाद्रान अफगानिस्तान क्रिकेटको जग बसाल्ने प्रमुख व्यक्तिमध्ये एक रहेको जनाउँदै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

एसीबीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘शपूर जाद्रान अफगानिस्तान क्रिकेटको आधार निर्माण गर्ने व्यक्तित्वमध्ये एक थिए । उनको समर्पण, लगाव र अथक मेहनतले देशमा क्रिकेटको विकास र अन्तर्राष्ट्रिय यात्रामा महत्वपूर्ण भूमिका खेलेको थियो ।’

सन् २००९ देखि २०२० सम्मको अन्तर्राष्ट्रिय करियरमा जद्रानले ४४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ४३ विकेट तथा ३६ टी–२० अन्तर्राष्ट्रियमा ३७ विकेट लिएका थिए ।

उनी सन् २०१५ को एकदिवसीय क्रिकेट विश्वकपमा स्कटल्यान्डविरुद्ध अफगानिस्तानले हासिल गरेको ऐतिहासिक जितका नायकमध्ये पनि थिए । उक्त खेलमा उनले विजयी रन प्रहार गर्दै अफगानिस्तानलाई विश्वकप इतिहासकै पहिलो जित दिलाएका थिए ।

एसीबीले जाद्रान केवल उत्कृष्ट खेलाडी मात्र नभई युवा अफगान क्रिकेटरहरूका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै उनको साहस, संघर्ष र क्रिकेटप्रतिको समर्पण सधैं सम्झिरहने जनाएको छ ।

शपूर जाद्रान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय