पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. सुजनबाबु मरहट्टाले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन शाहको २०८३ असार १९ गतेको निर्णयानुसार उपकुलपति पदमा नियुक्त भएका प्रा.डा. मरहट्टाले सोमबार पदभार ग्रहण गरेका हुन् ।
पूर्वाञ्चल विश्वविद्यालयको नेतृत्वमा आउनुअघि पब्लिक हेल्थका प्राध्यापक मरहट्ठा चिकित्सा शिक्षा आयोगको निर्देशकको रूपमा कार्यरत थिए । पूर्वाञ्चल विश्वविद्यालयको नेतृत्व सम्हालेका प्रा.डा. मरहट्टासँग अनलाइनखबरकर्मी हरि अधिकारीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
पूर्वाञ्चल विश्वविद्यालय (पीयू) को नेतृत्व सम्हाल्नुभयो । अब विश्वविद्यालयलाई कसरी अगाडि बढाउने योजना बनाउनु भएको छ ?
विश्वविद्यालय सुधारका लागि मैले एउटा स्पष्ट मार्गचित्र (भिजन-मिसन) बनाएको छु । मुख्यतया म तीन वटा पक्ष पठनपाठन, अनुसन्धान र सेवालाई व्यवस्थित गरेर अगाडि बढ्ने छु ।
एकेडेमिकतर्फ हामी २१औँ शताब्दीको विश्वव्यापी बजारको आवश्यकतालाई ध्यानमा राखेर पाठ्यक्रमको ‘रि-मोडलिङ’ गर्नेछौँ । अबको शिक्षा ‘कम्पिटेन्सी बेस’ अर्थात् सक्षमतामा आधारित हुनेछ, ताकि विद्यार्थीले बजारमा जाँदा आवश्यक सिपसहित काम गर्न सकोस् । यसका लागि आधुनिक प्रविधिमैत्री शिक्षण पद्धति र मूल्याङ्कन प्रणालीमा व्यापक सुधार गर्ने योजना छ ।
अनुसन्धानलाई उत्पादन र नवप्रवर्तनसँग जोड्ने योजना छ । अनुसन्धान केवल कागजमा सीमित नभई त्यसले समाजमा ठोस प्रभाव पारोस् भन्ने हाम्रो चाहना हो । सेवा क्षेत्रअन्तर्गत हाम्रा आंगिक कलेज, अस्पताल र कृषि फार्महरूलाई व्यवस्थित गर्दै समुदायलाई प्रत्यक्ष लाभ दिने गरी परिचालन गरिने छ ।
विश्वविद्यालय परीक्षा प्रणाली र शैक्षिक क्यालेन्डरअनुसार सञ्चालन गर्ने योजना छ । परीक्षा प्रणालीलाई पूर्णतः प्रविधिमैत्री र डिजिटल बनाउनु मेरो मुख्य लक्ष्य छ । यसले नतिजा प्रकाशनमा हुने ढिलाइलाई अन्त्य गर्नेछ ।
शैक्षिक क्यालेन्डरलाई व्यवस्थित बनाउन विश्वविद्यालय अनुदान आयोगले तोकेको मापदण्डअनुसार हामी हाम्रो क्यालेन्डरलाई ‘सिन्क्रोनाइज’ गरेर कडाइका साथ लागु गर्नेछौँ ।
विश्वविद्यालयलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन विद्यार्थीको शुल्क र सरकारी अनुदानमा मात्र भर पर्नु हुँदैन । हामीले अक्षय कोषको अवधारणा अघि सारेका छौँ । हाम्रा डायस्पोरामा रहेका नेपालीहरू र भूतपूर्व विद्यार्थीहरूलाई समेटेर एउटा कोष खडा गर्नेछौँ, जसले विश्वविद्यालयको दीर्घकालीन विकास र विस्तारमा ठूलो टेवा पुऱ्याउने छ ।
विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप र बन्द-हड्ताल ठूलो चुनौतीका रूपमा छ । यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
हेर्नुस्, राजनीति आफैँमा नराम्रो होइन । तर विश्वविद्यालयभित्र हुने ‘स्वार्थपरक राजनीति’ ले संस्थालाई क्षति पुऱ्याएको छ । दलीय राजनीति, स्वार्थपरक राजनीतिलाई चाहिँ कम्प्लिट्ली कर्मचारी तहमा होस्, स्टाफ तहमा होस्, फ्याकल्टीमा होस् रोकेर नयाँ बाटोमा जाने पक्षमा छौं ।
अहिले देशमा जुन किसिमको नयाँ राजनीतिक लहर र चेतना आएको छ, त्यसलाई आत्मसात गर्दै प्राज्ञिक वातावरण निर्माण गर्छु । दलीय राजनीतिको घेराभन्दा माथि उठेर काम गर्नेछु ।
केन्द्रीय कार्यालय गोठगाउँ कि विराटनगर भन्नेमा अझै अन्योल देखिन्छ नि ? अस्ति सदनमा पनि कुरा उठेको थियो ।
यसमा अन्योल हुनुपर्ने कुनै कारण छैन । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय र पदाधिकारीहरूको कार्यक्षेत्र गोठगाउँ नै हो । विराटनगरमा हाम्रा केही सम्पर्क कार्यालय र परीक्षाका इकाइहरू मात्र छन् । यसमा कसैलाई कन्फ्युजन नहोस् ।
हिजोका दिनमा पदाधिकारी नियुक्तिमा ‘राजनीतिक भागबण्डा‘ हुने गर्थ्यो । तपाईंको नियुक्ति चाहिँ कसरी भयो ?
म जुन विधि र प्रक्रियाबाट आएँ, त्यो पूर्णतः पारदर्शी र योग्यतामा आधारित छ । मेरा ‘क्रेडेन्सियल’ र अनुभवहरू सार्वजनिक डोमेनमै छन् । म जुन विधि-प्रक्रियाबाट आएँ, मैले त्यही विधि-प्रक्रियालाई नै ट्रान्सलेसन गर्ने हो ।
म जुन ‘मेरिटोक्रेसी’ को बाटोबाट आएको छु, विश्वविद्यालयभित्र पनि त्यही विधि स्थापित गर्ने मेरो प्रतिवद्धता छ । म को हुँ, मैले के गरेँ, मेरो समग्र इम्प्याक्ट के छ प्रोफेसनल भन्ने जुन दिशाबाट अथवा जुन वेबाट आएँ नि, मैले त्यही पाथवेलाई नै अवलम्बन गर्दै जाने हो ।
प्रतिक्रिया 4