२४ असार, इलाम । इलाम जिल्लाका ११ जना बालबालिकामा हात्तीपाइले (फाइलेरियासिस) को परजिवी पुष्टि भएको छ ।
इलाम जिल्लाभरका ६१ वटा विद्यालयका कक्षा २ र ३ मा अध्ययनरत १ हजार ३२ जना विद्यार्थीको परीक्षण गर्दा ११ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडाले स्वास्थ्य कार्यालय इलाममार्फत सो सर्वेक्षण गरेको थियो । सर्वेक्षण गरिएको संख्याको १ प्रतिशतभन्दा धेरै बालबाललिकामा हात्तीपाइलेको परजीवी देखिनु चिन्ताजनक भएको जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनीले बताए ।
सरकारको हात्तीपाइले उन्मुलनको लक्षमा इलाममा देखिएको नतिजाले असर पारेको उनले बताए । ‘सर्वेक्षणको पूर्ण प्रतिवेदन प्राप्त भएपछि योजना बनाएर हात्तीपाइलेका परजीवी देखिएको स्थानहरुमा पुन औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने देखियो’, उनले भने ।
सर्वेक्षणका क्रममा फाइलेरिएसिस टेष्ट स्ट्रिप (एफटीएस एन्टिजेन किट) प्रयोग गरी परीक्षण गरिएको स्वास्थ्य कार्यालय इलामका स्वास्थ्य कार्यालय इलामका सूचना अधिकारी गोपाल बरालले बताए । उक्त एफटीएसबाट गरिएको परीक्षण अनुसन्धान प्रयोजनका लागि मात्र प्रयोग गरिने भएकाले यसलाई प्रत्यक्ष क्लिनिकल निदानका रूपमा प्रयोग नहुने बरालले जानकारी दिए ।
स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यका अनुसार इलाममा सन् २०१९ सम्म हात्तीपाइले विरुद्धको सामूहिक औषधि वितरण कार्यक्रम सञ्चालन गरिएको थियो । औषधि प्रयोग गरिएको ७ बर्षपछि गरिएको सर्वेक्षणका क्रममा देखिएको नतिजाले इलाममा पुन औषधि वितरण गर्नुपर्ने देखिएको शाक्यले बताए । उनले भने, ‘अब आगामी आर्थिक वर्षमा पुन: औषधि वितरण गर्ने वा नगर्ने भन्ने निर्णय विश्व स्वास्थ्य संगठन को मार्गदर्शन अनुसार स्वास्थ्य सेवा विभागले गर्छ ।’
प्रतिक्रिया 4