२४ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको शान्ति सम्बन्धी समझदारीपत्र (एमओयू) अब समाप्त भएको आफूलाई विश्वास लागेको बताएका छन् ।
बुधबार नाटो शिखर सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘उनीहरूसँग वार्ता गर्नु समयको बर्बादी हो,’ ट्रम्पले भने ।
यसअघि इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकाले इरानमाथि गरेको आक्रमणको जवाफस्वरूप बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको थियो । त्यसलगत्तै ट्रम्पको यो प्रतिक्रिया आएको हो ।
टर्कीमा आयोजित नाटो शिखर सम्मेलनमा बोल्दै ट्रम्पले इरानमाथि स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजहरूलाई निसाना बनाएर युद्धविराम उल्लंघन गरेको आरोप लगाए । उनले इरानलाई ‘धोकेबाज खेलाडी’ भन्दै कडा आलोचनासमेत गरे ।
ट्रम्पले अमेरिका अब इरानसँग कूटनीतिक वार्तामा अल्झिनुभन्दा आफ्ना प्राथमिक काममा केन्द्रित हुन चाहेको बताए । उनले इरानलाई ‘दुष्ट र विकृत सोच भएका मानिसहरूको शासन’ भन्दै आलोचना गरे ।
‘हामीले त्यो क्यान्सर हटाउनुपर्छ । क्यान्सरलाई सुरुमै काटेर हटाउनुपर्छ, र मेरो धारणा पनि त्यही हो,’ ट्रम्पले भने ।
ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई वासिङ्टन र तेहरानबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको संकेतका रूपमा हेरिएको छ । साथै, इरानसँगको सम्भावित कूटनीतिक सहमति अब लगभग विफल भएको आकलन पनि गरिएको छ ।
उता इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले सम्झौताको उल्लंघन गरेको आरोप लगाएका छन् ।
उनले एक वक्तव्यमा अमेरिकाले गरेका हमला, इरानी तेल विक्री फेरि लगाएको प्रतिबन्ध, लेबनानमा हिजबुल्लाहसँग जारी इजरायलको तनाव जस्ता विषयले सम्झौताका आधारभूत हिस्सालाई निष्प्रभावी पारेको दाबी गरेका छन् ।
‘इरान आफ्नो क्षेत्रीय अखण्डता, राष्ट्रिय सम्प्रभुता र राष्ट्रिय सुरक्षाको रक्षाका लागि जुनसुकै कदम उठाउन हिचकिचाउने छैन,’ उनले भनेका छन् ।
यस्तै, अराघचीले अमेरिकी सैनिक अड्डा रहेका खाडी देशलाई समेत चेतावनी दिएका छन् । उनले भने, ‘यदि त्यहाँबाट इरानमाथि कुनै हमला भए हमलाको स्रोत र त्यो सुरु हुने ठाउँलाई नै निसाना बनाउनेछौं ।’
यसअघि अमेरिकी सेन्टकमले अमेरिकी सेनाले इरानका ८० भन्दा बढी ठिकानाहरूमा हमला गरेको दाबी गरेको थियो ।
त्यसको जवाफमा इरानले बहराइनमा रहेका अमेरिकी सैन्य अड्डालाई निसाना बनाउँदै केही हमला गरेको बताइएको छ ।
प्रतिक्रिया 4