नेपालमा जनधनको ठूलो क्षतिको एउटा प्रमुख कारण सडक दुर्घटना हो। नेपाल संसारकै सर्वाधिक दुर्घटना हुने देशमा पर्छ। सडक दुर्घटनाबाट गत एक दशकमा २४ हजारभन्दा बढीको ज्यान गयो। पछिल्लो पाँच वर्षमा २ हजार ६६१ पैदलयात्रुको मृत्यु भएको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार ५ देखि २९ वर्ष उमेर समूहका बालबालिका तथा युवाहरूको मृत्युको प्रमुख कारण सडक दुर्घटनाबाट हुने चोटपटक हो। विश्वभर सडक दुर्घटनाबाट हुने कुल मृत्युको ९२ प्रतिशत हिस्सा निम्न तथा मध्यम आय भएका देशहरूमा हुन्छ।
नेपालमा दैनिक सात जनाको ज्यान लिइरहेको दुर्घटनाको असर मानवीय क्षतिमा सीमित छैन; यसबाट सामाजिक, आर्थिक र स्वास्थ्य क्षेत्रसमेत प्रत्यक्ष रूपमै प्रभावित छन्। कतिपयले दुर्घटनाको सम्पूर्ण दोष चालकलाई दिने गर्छन्। तर यथार्थमा सुरक्षित यात्रामा सडक, सवारीसाधन र प्रयोगकर्ता (चालक, यात्री, पैदलयात्रु) जिम्मेवार हुन्छन्।
यी तीन पक्षसँग जोडिएका व्यक्तिहरूलाई सजग, सचेत र आवश्यक परे कारबाही गर्ने दायित्व राज्यको हो। सुरक्षित यात्राका लागि आवश्यक पर्ने कानुन, त्यसको प्रभावकारी कार्यान्वयन, सुरक्षित सवारी र सडक, जिम्मेवार प्रयोगकर्ता र दुर्घटनापछि प्रभावकारी उपचार तथा उपचारपछि पुनर्स्थापना अनिवार्य छ।
२४ असार, काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाकै व्यस्त सडकमा पैदल यात्रीका लागि फुटपाथ छैन । अधिकांश ठाउँमा पैदलयात्री सवारी साधन गुड्ने मुल सडकबाटै हिंड्न बाध्य छन् ।
कतै हिंड्दै जाँदा एकाएक फुटपाथ सकिन्छ । ती अधुरा फुटपाथ पैदल यात्रीका लागि पासो सरह बनेका छन् । सुरक्षित फुटपाथकै अभावमा पैदल यात्रुको ज्यान जाने जोखिम बढेको जानकारहरू बताउँछन् ।
पैदल यात्रा कति असुरक्षित छ भन्ने नेपाल प्रहरीको आंकडा हेर्दा थाहा हुन्छ । पछिल्लो ६ वर्षमा ३ हजार २१२ पैदल यात्रुको ज्यान गएको छ ।
फुटपाथ बनेका ठाउँमा पनि अधिकांश ठाउँमा ती प्रयोगयोग्य छैनन् । कतै घाँस उम्रिएर छोपिएका छन् भने कतै भत्किएको अवस्थामा भेटिन्छन् । यसले सबैभन्दा धेरै जोखिममा छन्, फरक क्षमताका पैदल यात्रीहरू ।
यस्तै फुटपाथबाट स्कुल–कलेज जाने साना विद्यार्थीदेखि सर्वसाधारणसम्म हरेक दिन खुल्ला सडकमै हिंड्न बाध्य छन् ।

जस्तो, तस्वीरमा देखिएको बल्खुमा हाल एउटा पुल निर्माणाधीन अवस्थामा छ । तर पुल बन्दै गर्दा यो बाटो हुँदै हिँड्नुपर्ने पैदल यात्रुका लागि वैकल्पिक व्यवस्था छैन । यो क्षेत्रमा विद्यार्थीको आवतजावत पनि बाक्लो हुने देखिन्छ । तर उनीहरूले पनि यही जोखिमपूर्ण बाटो नै प्रयोग गरिरहेका हुन्छन् ।

त्यस्तै, कलंकी हुँदै तीनथानातर्फको सडकमा गाडीहरू उच्च गतिमा गुड्छन् । तर, यस्तो व्यस्त र सवारीको चाप हुने सडकमा फुटपाथ छैन । अर्किड टोल जाने गल्ली छिर्ने गेटमा राखिएका पाइप र तारले फुटपाथ ढाकिएको छ । त्यहाँ बिजुलीको पोल पनि पैदल यात्रुको बाटो छेक्न आइपुग्छ ।
कलंकी मूल चोकमा पनि फुटपाथ अत्यन्त साँघुरो र पसलहरूले घेरिएको छ । फुटपाथबाटै हिड्नुपरे पसल र बिजुलीका पोलबाट चेपिएर छड्किँदै हिँड्नुपर्ने बाध्यतामा छन्, पैदल यात्रु । त्यो पनि सटरहरूबाट फालिएका पानी र अन्य असहजताका कारण सहजै हिँड्नसक्ने अवस्था छैन । यहाँ पनि उनीहरु सवारी छिचोल्दै मुल सडकमा झर्न बाध्य हुनुपर्छ ।

काठमाडौंकै मुख्य चहलपहल हुने भनिएको कोटेश्वर–सातदोबाटो सडकखण्डको अवस्था पनि उस्तै छ । त्यहाँ फुटपाथ छ, तर पुर्ण छैन । यदि पैदल यात्रु आकाशे पुलबाट मुख्य चोकतर्फ हिँड्दै फुटपाथबाट आउने हो भने बीचमै खस्ने जोखिम हुन्छ । किनकी, त्यहाँ फुटपाथमा ओछ्याइएका ‘ब्लक’ बीचबाटै टुंगिन्छन् । फुटपाथसँगै जोडिएको नालामाथि राखिएको ढकन पनि बीचमा पुगेपछि भेटिदैन । ‘सचेत’ नभएको अवस्थामा यात्रुहरु नालाभित्रै झर्ने जोखिम देखिन्छ । स्थानीयसँग बुझ्दा त्यहाँ बेलामौकामा पैदल यात्रु खस्ने गरेको घटना पनि छ ।

त्यस्तै, थापाथली नजिकैको (ललितपुरपट्टि) को फुटपाथ अझ चिन्ताजनक अवस्थामा छ । फुटपाथ छ, तर पूरै बेवारिसे अवस्थामा छ । बाढीले समेत क्षति पुर्याएको यस फुटपाथमा घाँस उम्रिएका छन् । झट्ट हेर्दा त्यहाँ फुटपाथ नै देखिँदैन । जबकी यो खण्ड यूएन पार्क हुँदै बल्खुतर्फ जाने खोलावारिको किनारमा पर्छ, जुन धेरै मानिसले दैनिक ओहोरदोहोर गर्ने बाटो हो ।
यसरी काठमाडौं उपत्यकाकै मुल सडकलाई हेर्दा कतै फुटपाथ बनेकै छैन, कतै बनेको फुटपाथ प्रयोगयोग्य छैनन् । बनाइएका फुटपाथ पनि बेवास्तामा परी जोखिमपूर्ण बनेको छ । पैदल यात्रीका लागि सुरक्षित फुटपाथ निर्माण नगरिँदा र भएका फुटपाथको पुनःनिर्माणमा ध्यान नदिएसम्म दैनिक हजारौं मानिस जोखिम झेल्न बाध्य देखिन्छन् ।

सडक सुरक्षाका जानकारहरू नेपालको सडक नै पैदल यात्रुमैत्री नभएको बताउँछन् । सडक सुरक्षाविद् भगवती सेढाईं भन्छिन्, ‘एकातिर हाम्रा सडकहरू हिंड्न होइन गाडी चलाउन सहज हुने गरी बनाइए । अर्कोतिर चालकहरू पैदल यात्रुलाई मान्छे नै होइन जस्तो गरी सवारी हाँक्छन् । जबकी पहिलो प्राथमिकता जीवन रक्षा हुनुपर्ने हो ।’
्



प्रतिक्रिया 4