+
+
Shares

धनकुटा बजारका होटलमा छड्के अनुगमन, एक होटललाई १५ हजार वाना

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते ६:५४

२५ असार, धनकुटा । धनकुटा सदरमुकाममा सञ्चालनमा रहेका होटलहरुमा बुधबार छड्के बजार अनुगमन गरिएको छ । उपभोक्ताबाट लगातार गुणस्तरहीन खाद्यवस्तु बिक्री, सरसफाइको अभाव तथा म्याद गुज्रिएका खाद्य सामग्री प्रयोग भइरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा विभिन्न सरकारी निकाय र सरोकारवाला संस्थाको संयुक्त टोलीले अनुगमन गरेको हो ।

टोली धनकुटा नगरपालिका वडा नं. ७ हुलाक टोलमा रहेका केही होटलको अनुगमन गरेको हो । अनुगमनका क्रममा काफ्ले होटलमा भान्सा अत्यन्त अस्वच्छ रहेको, लामो समयदेखि प्रयोग गरिएको पुरानो तेल प्रयोग गरी खानेकुरा पकाइएको तथा खाद्य सुरक्षा सम्बन्धी न्यूनतम मापदण्डसमेत पालना नगरेको पाइएपछि होटललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

अनुगमन टोलीले होटलहरुमा निरीक्षण गर्दा म्याद गुज्रिएका प्याकेटबन्द खाद्य सामग्री तथा तयारी अवस्थामा राखिएका केही अखाद्य खानेकुरा समेत फेला पारेको थियो । ती सबै सामग्री तत्काल जफत गरी नष्ट गरिएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिए ।

बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयसँगै धनकुटा नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च तथा नेपाल पत्रकार महासंघ धनकुटाका प्रतिनिधिहरु सहभागी थिए ।

टोलीले होटलको भान्सा, खाद्य सामग्री भण्डारण गर्ने स्थान, सरसफाइको अवस्था, मूल्यसूची, खाद्यवस्तुको म्याद, खाद्य अनुमति तथा व्यवसाय सञ्चालनका आवश्यक मापदण्डहरुको समेत निरीक्षण गरेको थियो ।

सेवाग्राहीबाट अत्यधिक गुनासो प्राप्त भएपछि छड्के अनुगमन गरिएको हो । केही होटलमा मूल्यसूची नराखिएको, खाद्यवस्तुको म्यादसम्बन्धी विवरण बेवास्ता गरिएको तथा खान अयोग्य सामग्री बिक्रीका लागि राखिएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

धनकुटा जिल्ला अस्पताल आसपास रहेका होटलमा बिरामी र कुरुवाको चाप धेरै हुने भएकाले सो क्षेत्रमा रहेका होटलहरुले गुणस्तरीय र सुरक्षित खाद्य सेवा उपलब्ध नगराएको गुनासो आएको प्रशासनले जनाएको छ ।

अनुगमन टोलीले होटल व्यवसायीलाई सरसफाइमा विशेष ध्यान दिन, म्याद गुज्रिएका खाद्य सामग्री तत्काल हटाउन, नियमित रुपमा भान्सा सफा राख्न, मूल्यसूची अनिवार्य टाँस गर्न तथा खाद्य सुरक्षा मापदण्ड पालना गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बजार अनुगमन आगामी दिनमा पनि निरन्तर सञ्चालन हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?